संक्रमितको पीडा : अस्पतालमा बेड छैन, घरमा बसेकाको सोधीखोजीसम्म गरिँदैन

संक्रमण भई होम आइसोलेसनमा बसिरहेकाहरु आफ्नो अवस्थाबारे स्थानीय तहको स्वास्थ्य संयन्त्रले सम्पर्कसम्म नगर्दा आत्तिएका छन् 

वैशाख १९, २०७८

मधु शाही, सन्जु पौडेल, नवीन पौडेल

रूपन्देही/बाँके/परासी — अचानक घाँटी दुखेपछि उनलाई शंका लाग्यो– कतै कोरोना संक्रमण त भएन ! बुटवल–४ की ४६ वर्षीया ती महिलाको शुक्रबार पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आयो । उनी नौ दिनदेखि संक्रमित छोरी र श्रीमान्को हेरचाह गरिरहेकी थिइन् । त्यस क्रममा आफूलाई पनि संक्रमण सरेको हुन सक्ने उनले बताइन् । ‘घरमै बाबुछोरीको स्याहार गरिरहेकी थिएँ,’ उनले भनिन्, ‘संक्रमणले समस्या हुने रहेछ भन्ने बल्ल भोगेँ ।’ 

पहिले संक्रमित श्रीमान् र छोरीलाई के खुवाउने/नखुवाउने आफन्तसँग सोधेर रेखदेख गर्दै आएकी थिइन् । आफैं संक्रमित बनेपछि भने समस्यामा परेको उनले बताइन् । आफूले मधुमेह र थाइराइडको औषधि सेवन गरिरहेकाले डर लागेको उनले बताइन् । ‘अहिले डाक्टरलाई सोधेर घरमै औषधि खाइरहेका छौं,’ उनले भनिन्, ‘अस्पतालमा जानुपर्ने अवस्था आए के गर्ने भन्ने चिन्ताले सताएको छ ।’ यहाँका अस्पतालमा बेड अभाव रहेको जानकारी पाएको उनले सुनाइन् । अहिले उनको परिवारका चार सदस्य कोरोनासँग लडिरहेका छन् । छोरीहरूको अवस्था सामान्य छ । श्रीमान् र आफूले बढी ख्याल गर्नु परिरहेको उनले बताइन् । संक्रमित भएपछि उपमहानगरपालिकाबाट कुनै चासो नदिएको उनले गुनासो गरिन् । होम आइसोलेसनमा रहेका उनीहरूको स्वास्थ्य अवस्था बुझ्न कोरोना उपचारसम्बद्ध स्थानीय तका प्रतिनिधि कसैले सम्पर्क गरेका छैनन् ।

तिलोत्तमा–६ का ३४ वर्षीय एक युवकलाई संक्रमणको सुरुवातमै धेरै गाह्रो भयो । चिकित्सक नचिनेकाले कता सम्पर्क गर्ने भन्ने भेउ नै पाएनन् । सामाजिक सञ्जालमा होम आइसोलेसनमा बसेका संक्रमितले के गर्ने भन्ने सुझावसहितका विभिन्न पोस्ट हेरेर दैनिकी सुरु गरे । बिहान उठ्ने, श्वासप्रश्वासको योग गर्ने, गुर्जो मिसाएको पानी पिउने गरे । ‘फोन उठाउन र सामाजिक सञ्जाल हेर्न छाडेंँ,’ उनले भने, ‘ठोसभन्दा झोल खाना खाएँ ।’ होम आइसोलेसनमा आफैंले स्वास्थ्यलाई ध्यान दिइरहेको उनले बताए । ‘कहिलेकाहीँ डाक्टर देख्न पाए हुन्थ्योजस्तो लाग्छ,’ उनले भने, ‘आफ्ना अगाडि डाक्टर देख्दा ढाडस मिल्थ्यो कि ।’

गत बुधबारदेखि घरमै आइसोलेसनमा बसेका उनले कामको सिलसिलामा संक्रमण भएको हुन सक्ने बताए । ‘परिवार अरू कसैलाई पनि समस्या देखिएन, म बाहिर काम गर्ने भएकाले संक्रमित भएँ कि भन्ने लागेको छ,’ उनले भने, ‘लगातार ज्यान दुख्ने, ज्वरो आउने गरे पनि अहिले सहज महसुस भएको छ ।’ सुरुमा साथीभाइलाई संक्रमित भएको जानकारी नगराएका उनले चिकित्सकको फोन नम्बर खोजेर आफ्नो अवस्था र आवश्यक सल्लाह लिएको बताए । तिलोत्तमा–५ की १८ वर्षीया युवती दुई रातदेखि निदाउन सकेकी छैनन् । दिनभरि आँखा दुखेर हैरान हुने, साँझ परेपछि घाँटी समाउने र ज्यान बेस्सरी दुख्ने गरेको उनले बताइन् ।

‘खाना नखाएको धेरै दिन भइसक्यो,’ उनले भनिन्, ‘अस्पतालमा बेड छैन, घरमा रेखदेख छैन ।’ उनका अनुसार न वडा कार्यालयले सोध्छ न त नगरपालिकाको स्वास्थ्य शाखाले कुनै चासो दिएको छ । संक्रमितका समस्याबारे परिवारबाहेकलाई चासो नरहेको उनले दुःखेसो गरिन् । ‘के गर्ने, कसो गर्ने अन्योल छ,’ उनले भनिन्, ‘स्वास्थ्य बिग्रिहाल्यो भने कहाँ जाने चिन्ता छ ।’ बिहान उठ्न मन नलाग्ने, सुत्दा जीउ दुख्ने, घाँटी धेरै दुख्ने र केही अड्किएजस्तो भइरहेकाले कुल्ला गर्ने, दिनभरि कहिले निको होला भन्ने मात्र सोच्ने गरेको उनले बताइन् ।

रूपन्देहीमा शनिबारसम्म पत्ता लागेका २ हजार ९ सय ३० जना सक्रीय संक्रमितमध्ये २ हजार ८ सय ५६ जना होम आइसोलेसनमा छन् । यहाँका स्थानीय तहले स्वास्थ्य कार्यालयबाट प्राप्त सूचना अनुसार नजिकका केही व्यक्तिको स्वास्थ्य अवस्था बुझेपछि धेरै संक्रमित ओझेलमा छन् । तिलोत्तमा नगरपालिकाले हरेक वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरेर प्रत्येक संक्रमितको अवस्था बुझेर घरघरमा स्वास्थ्य सामग्री पुर्‍याउन सुरुवात गरेको कोभिड फोकल पर्सन केशव भट्टराईले दाबी गरे । सरकारी नीतिअनुसार प्रत्येक संक्रमित चिकित्सक वा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपर्ने भए पनि कुनै स्थानीय तहले उक्त व्यवस्था लागू नगरेको जनरल फिजिसियन डा. सुदर्शन थापाले बताए । ‘होम आइसोलेसनमा बसेका बिरामीले पनि स्वास्थ्यकर्मीको रेखदेख अनिवार्य पाउनुपर्ने हो,’ उनले भने, ‘न जनशक्तिले पुग्ने न त सरकारले पहल नै गरिरहेको छ ।’

महामारीमा घरमा बसेर निको हुने कोसिस गर्ने ९० प्रतिशत बिरामीको स्वास्थ्य केही दिन सामान्य रहने र पछि गम्भीर बन्दै गएपछि अस्पतालमा बेड नपाउने, श्वास प्रश्वासमा समस्या हुने, निमोनियाले फोक्सोमा क्षति गरिसक्ने उनले बताए । फोनको माध्यमबाट भए पनि बिरामीको हालखबर बुझ्ने र उपचार एवं सल्लाह दिनुपर्ने चिकित्सक थापाको भनाइ छ ।

वास्तै छैन’

चार दिनअघि भेरी अस्पतालमा स्वाब परीक्षण गराउँदा बाँकेको नेपालगन्ज–२ का ४७ वर्षीय पुरुषको परिवारका तीन सदस्यमा कोरोना संक्रमण पत्ता लाग्यो । सँगै परीक्षण गराएकी कान्छी छोरीको रिपोर्ट शनिबारसम्म आएको छैन । छोरीको अवस्था नखुल्दा चिन्ता छ । अहिले उनीहरू होम आइसोलेसनमा छन् । अस्पताल पुगेर रिपोर्टबारे सोधपुछ गर्ने अवस्था छैन । छोरीमा पनि कोरोनाका लक्षण देखिएकाले स्वास्थ्यको ख्याल गरिरहेका छन् । ‘हामीलाई केही भइहाल्यो भने पनि कसैले थाहा पाउँदैनन्,’ उनले भने, ‘हामी अहिले भगवान् भरोसामा छौं ।’ भेरी अस्पतालको भित्तामा औषधिको नाम टाँसिएको देखेका थिए । त्यही नामका औषधि खरिद गरेर घरमै सेवन गरिरहेको उनले बताए । ‘आफैं बिरामी आफैं डाक्टर भएका छौं,’ उनले भने, ‘न डाक्टरले सोधेका छन्, न जनप्रतिनिधिले अनुगमन नै गरेका छन् ।’ परिवार संक्रमित हुँदा छिमेकीको व्यवहार सहज छैन । घरबाहिर निस्किएर हारगुहार गर्ने स्थिति छैन । शुक्रबार राति खोकी र ज्वरोले च्यापेपछि आत्तिए । चिकित्सकको सल्लाह लिन उनीसँग फोन नम्बर थिएन । ‘त्यस्तो बेला परिवारले एक अर्काको मनोबल बढायौं,’ उनले भने । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेमा शनिबारसम्म ३ हजारभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । सामान्य अवस्थाका संक्रमितलाई घरमै सुरक्षित भएर बस्ने र उपचार गर्ने सरकारले मापदण्ड बनाएको छ । तर, यसरी बसेका संक्रमित अलपत्रजस्तै छन् । 

प्रहरी सेवामा कार्यरत नेपालगन्ज–१८ की एक महिलाले ज्वरो र रुघाखोकी लागेपछि चार दिनअघि आफ्नो र श्रीमान्को स्वाब भेरी अस्पतालमा पीसीआर परीक्षण गराइन् । दुवैको रिपोर्ट पोजिटिभ आयो । संक्रमण पुष्टि भएपछि दुवै घरैमा बस्न थाले । अहिले २१ वर्षका छोरा र १६ वर्षकी छोरी पनि बिरामी परेका छन् । छोराछोरीमा पनि कोरोनाको लक्षण देखिएको ती महिलाले बताइन् । ‘छोराछोरीको त पीसीआर जाँच पनि गराएनौं, सबैको घरमै उपचार गरिरहेका छौं,’ उनले भनिन्, ‘अस्पताल गएर के गर्नु ?’ उनले पनि होम आइसोलेसनमा बसेपछि स्वास्थ्यकर्मीको फोन नआएको बताइन् । नेपालगन्ज–९ का ७२ वर्षीय वृद्ध संक्रमित भएको शनिबार १० दिन पुग्यो । स्वाबको नमुना परीक्षणका लागि दिएको अर्को दिन मोबाइलमा पोजिटिभ भएको सन्देश आयो । त्यसपछि घरमै छन् । ‘छोराले औषधि ल्याइदियो, त्यही खाएर बसेको छु,’ उनले भने, ‘कम्तीमा आफ्ना नागरिकको अवस्था के छ भनेर सरकारले सोध्नुपर्छ ।’

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले स्वास्थ्यकर्मी र वडाका सम्बन्धित फोकल पर्सनले दिनमा तीनपटक होम आइसोलेसनमा बसेका बिरामीको अवस्थाबारे बुझ्नुपर्ने बताए । ‘संक्रमित भएको लामो समयसम्म फोन नआउनु भनेको गैरजिम्मेवारी हो,’ उनले भने । 

उपचारार्थ कता जाने ?

पश्चिम नवलपरासीमा लक्षण देखिएका कोराना संक्रमित पनि होम आइसोलेसनमा छन् । उपचारका लागि कहाँ जाने र कसरी जाने पत्तो छैन । लक्षण देखिएमा र श्वासप्रश्वासमा समस्या भएमा जिल्लाबाहिर रूपन्देही वा चितवन जानुपर्ने बाध्यता छ । त्यसैले संक्रमितले घर छाडेका छैनन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्म ५३ जना संक्रमित होम आइसोलेसनमा छन् । उनीहरूको रेखदेख र आवश्यक सहयोगको जिम्मा स्थानीय तहलाई छ । गत वर्षसम्म होम आइसोलेसनमा बसेका संक्रमितलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी पुगेर भेट गर्ने र सल्लाह सुझाव दिने गर्थे । यसपालि सोधीखोजी नभएको संक्रमितहरूको गुनासो छ ।

‘होम आइसोलेसनमा बस्दा मन आत्तिने रहेछ । अचानक स्थिति गम्भीर भए के गर्ने भन्ने पिर हुँदो रहेछ,’ रामग्राम–५ का एक संक्रमितले भने, ‘जनप्रतिनिधि र स्वास्थ्यकर्मी आएर सम्झाउने र मनोबल बढाउने काम पनि भएको छैन ।’

कोरोना भाइरस

मधु

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully