होल्डिङ सेन्टर बन्न अझै एक महिना

सीमाका आठ नाकामा बनाउने निर्णय गरेको दुई साता बित्दा जग्गाकै व्यवस्थापन हुन सकेको छैन 

वैशाख १९, २०७८

मातृका दाहाल

काठमाडौँ — भारतबाट अन्तर्राष्ट्रिय स्थल नाका हुँदै भित्रिएका नेपालीलाई प्रवेश बिन्दुमै होल्डिङ सेन्टरमा राखेर पीसीआर र एन्टिजेन परीक्षण गर्ने निर्णय भए पनि अझै भौतिक संरचना निर्माणको काम अघि बढेको छैन ।

मन्त्रिपरिषद्ले वैशाख ५ मा नेपाल–भारत सीमाका प्रवेश बिन्दुमा प्रत्येकमा १ हजार जना अट्ने गरी ८ नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी र प्रदेश सरकारको समन्वयमा नेपाल प्रवेश गर्ने सुरु बिन्दुनजिकै प्रिफ्याब/ट्रस्ट शैलीका होल्डिङ सेन्टर बनाउने निर्णय थियो । भारतबाट नेपाल प्रवेश गर्नेलाई होल्डिङ सेन्टरमा राखेर ‘स्क्रिनिङ’ गर्ने भनिएको थियो ।

मन्त्रिपरिषद्ले वैशाख १३ बल्ल तोकिएका ८ नाका र उपत्यका प्रवेश गर्ने थानकोटमा एक–एक हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई दियो । त्यही दिन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न वैशाख १६ देखि २२ सम्म निषेधाज्ञा गर्ने निर्णय गरे तर होल्डिङ सेन्टर निर्माण त परैको कुरा, जग्गाको पनि व्यवस्थापन भइसकेको छैन । 

सीसीएमसी सचिवालयका अनुसार ८ वटै नाकामा १ हजार क्षमताका होल्डिङ सेन्टर तयार पार्न कम्तीमा ४ साता लाग्छ । यो अनुमानित आँकडाअनुसार जेठ तेस्रो साताबाट मात्रै होल्डिङ सेन्टरमा मानिसलाई राख्न मिल्छ । सीसीएमसी सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले भारततर्फका ८ वटा सीमा नाकाबाट नजिकै ‘सेमी पर्मानेन्ट’ होल्डिङ सेन्टर बनाउन लागिएकाले निर्माणमा केही ढिला हुन सक्ने बताए । उनले पटक–पटक यस्ता संरचना बनाउन फेरि खर्च गर्नु नपरोस् भनेर लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी निर्माण गर्न लागिएको बताए ।

‘सेमी पर्मानेन्ट किसिमका होल्डिङ सेन्टर कोभिडबाहेक अन्य काममा पनि प्रयोग गर्न मिलोस् भनेर यस्तो निर्णय गरिएको हो,’ सचिव बरालले भने, ‘संरचना बनाउनुअघि जग्गा, बजेट र सामग्री व्यवस्थापन पनि गर्नैपर्‍यो । त्यसैले अहिलेलाई विद्यालयबाहेक निजी, सरकारी र सार्वजनिक जे–जे संरचना उपलब्ध हुन्छ, त्यो प्रयोग गर्दै लैजानू भन्ने स्पष्ट निर्देशन छ ।’ होल्डिङ सेन्टरका लागि चाहिने जग्गा व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको उनले बताए । त्यसअघि भारतबाट आएकालाई सोझै गन्तव्यमा पठाउनुको विकल्प देखिँदैन । केही नाकामा नजिकै उपलब्ध निजी, सरकारी र सार्वजनिक संरचना प्रयोगमा ल्याइएका छन् तर त्यस्ता संरचना भएका ठाउँ निकै कम छन् । कैलालीको अत्तरियास्थित गेटा मेडिकल कलेजको निर्माणाधीन भौतिक संरचनालाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्न भनिएको छ । भारतबाट गौरीफन्टा नाका हुँदै आएकालाई गेटामा राखेर स्वास्थ्य परीक्षण गरी गन्तव्यमा लैजान निर्देशन दिइएको छ । 

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले सेनालाई दिइएको जिम्मेवारीअनुसार होल्डिङ सेन्टरको डिजाइन तयार भई अरू आन्तरिक व्यवस्थापनका काम भइरहेको बताए । होल्डिङ सेन्टरलाई चाहिने जग्गा र पूर्वाधार निर्माणका लागि बजेट प्राप्तिको क्रममा रहेको उनको भनाइ छ । स्रोत/साधन र जनशक्ति व्यवस्थापन हुनेबित्तिकै काम रफ्तारमा अघि बढाइने उनले बताए । ‘मन्त्रिपरिषद्को निर्णयबाट नेपाली सेनालाई अन्तर्राष्ट्रिय स्थल सीमा नाकाका ८ स्थानमा होल्डिङ सेन्टर बनाउने जिम्मा दिइएको छ, आन्तरिक गृहकार्य र डिजाइन बनाउने क्रममा छौं,’ प्रवक्ता पौडेलले कान्तिपुरसँग भने, ‘बजेटका लागि पनि अर्थ मन्त्रालयसँग पत्राचार भइसकेको छ ।’

काममा किन ढिलाइ भइरहेको छ भन्ने प्रश्नमा प्रवक्ता पौडेल बोल्न चाहेनन् । ‘सबै प्रक्रियामा छ, तोकिएको जिम्मेवारीअनुसार काम अघि बढ्छ,’ उनले भने । प्रवक्ता पौडेलका अनुसार बालाजुको राधास्वामी सत्संग व्यासको भौतिक संरचना पनि कोभिड बिरामीको उपचारमा प्रयोग गर्ने निर्णय भएको छ । नेपाल–अमेरिका मेडिकल फाउन्डेसन, नेपाली सेना र सत्संग व्यासको संयुक्त पहलमा त्यहाँ ८८ जनालाई अक्सिजन सुविधासहितको उपचार गर्न सकिने केन्द्र निर्माण गर्न काम थालिएको छ । वैशाख २५ सम्म त्यस ठाउँमा अक्सिजन चाहिने कोभिडका बिरामीलाई राख्न मिल्ने गरी काम भइरहेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिए । 

कोभिड–संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले नेपाल–भारत आवागमनका लागि यसअघि खुला गरिएका ३५ नाकामध्ये २२ वटाबाट प्रवेश निषेध गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । होल्डिङ सेन्टर बनाउन तोकिएका आठबाहेक इलामको पशुपतिनगर, धनुषाको भिट्टामोड, रौतहटको गौर, बैतडीको झुलाघाट र दार्चुलाको पुलाघाटका नाका थपेर १३ ठाउँबाट मात्रै भारतबाट आउने नेपालीलाई प्रवेश दिन सीसीएमसीले प्रस्ताव गरेको छ । तर, महामारी तीव्र गतिमा फैलिइरहेको छ । भारतका जोखिमयुक्त क्षेत्रबाट आउनेमा पनि संक्रमण हुन सक्छ । दैनिक स्थल नाकाबाट हजारौं मानिस तापक्रम नापेर मात्रै नेपाल भित्रिने गरेका छन् ।

कोरोना भाइरस

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully