कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आइसोलेसन बनाउँदै स्थानीय तह

जनप्रतिनिधि भन्छन्– ‘तत्काल परीक्षण गरेर समुदायको अवस्था जानकारी लिनुपर्ने चुनौतीसँगै स्वास्थ्य सामग्रीको अभाव छ’
मेनुका ढुंगाना

अछाम — अछामका १० वटै स्थानीय तहले आइसोलेसन वार्ड बनाउन थालेका छन्  । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले प्रत्येक पालिकाले १० बेडसहितको आइसोलेसन वार्ड अनिवार्य गराउने निर्णय गरेपछि उनीहरू जुटेका हुन्  ।

आइसोलेसन बनाउँदै स्थानीय तह

सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले ४० बेड क्षमता भएको आइसोलेसन वार्ड तयार पारेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीका अनुसार कृषि ज्ञान केन्द्रको भवनलाई आइसोलेसन वार्ड बनाएको हो । सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा बसाउने र जटिल संक्रमितलाई मंगलसेनमा रहेको आइसोलेसनमा ल्याइने उनले बताए । उनले भने, ‘प्रत्येक वडामा गएर एन्टिजेन विधिबाट कोरोना परीक्षण शनिबारबाटै सुरु गरेका छौं ।’

साँफेबगर नगरपालिकाले पनि बयालपाटा अस्पतालमा आइसोलेसन वार्ड तयार पारेको छ । बयालपाटा अस्पतालमै अक्सिजन उत्पादन गर्ने प्लान्ट भएकाले सबै बेडलाई अक्सिजनसहित व्यवस्थापन गर्न थालिएको नगरप्रमुख कुलबहादुर कुँवरले बताए । उनका अनुसार नगरपालिकाले ५ वटा अक्सिजन उत्पादन गर्ने मेसिन खरिद गर्न थालेको छ । स्वास्थ्य सामग्री जताततै अभाव हुन थालेपछि सोचेअनुसार तीव्र रूपमा व्यवस्थापन गर्न नसकिएको उनले बताए । ‘अक्सिजन उत्पादन बयालपाटा अस्पतालले गर्छ । हामी मेसिन किन्दै छौं । तत्काल ५ वटा मेसिन खरिदको प्रक्रियामा छौं,’ उनले भने, ‘एउटा मेसिनको मूल्य १ लाख ४५ हजार रहेछ । हामीले अन्य स्वास्थ्य सामग्री खरिदका लागि पनि तयारी थालेका छौं ।’

कोरोना परीक्षण गरिएकोमध्ये धेरैलाई कोरोना पोजिटिभ देखिन थालेको उनको भनाइ छ । समुदायकै व्यक्तिलाई कोरोना देखिन थालेपछि अवस्था गम्भीर हुन सक्ने आकलन उनको छ । ‘जिल्लामा १५ सय थान एन्टिजेन केन्द्र सरकारले उपलब्ध गराएको थियो । सबै स्थानीय तहलाई अलिअलि भागमा पर्‍यो,’ कुँवरले भने, ‘भारतबाट आएकालाई होम क्वारेन्टाइनमा पठाउन र संक्रमितलाई घरमै बसाउन केन्द्रको निर्देशन छ । सरकारका यस्ता निर्णयले स्थानीय तहलाई समेत अप्ठ्यारो पारेको छ ।’ एन्टिजेन विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएका व्यक्तिलाई पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिन थालेपछि धेरैले पीसीआर नै परीक्षण गर्न खोजेको उनको भनाइ छ ।

कमलबजार नगरपालिकाले ३० बेडसहितको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको नगर प्रमुख ओमप्रकाश विष्टले बताए । कोरोना परीक्षणका लागि स्वास्थ्य सामग्री खरिद गर्न आफैं कैलालीमा गएको उनले जनाए । ‘आइसोलेसन वार्ड तयार भयो । पीसीआर परीक्षणका लागि भीटीएम किट र अन्य सामग्री खरिदका लागि यतिखेर म कैलालीमा छु,’ उनले भने, ‘स्वास्थ्य सामग्रीको चरम अभाव देखियो । एकातिर तत्काल कोरोना परीक्षण गरेर समुदायको अवस्था जानकारी लिनुपर्ने चुनौती छ । अर्कोतिर स्वास्थ्य सामग्री खरिद गर्न खोज्दा पनि पाइएको छैन ।’

ढकारी गाउँपालिकाले पनि १० बेडसहितको आइसोलेसन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए । उनका अनुसार समुदायमै गएर कोरोना परीक्षण गर्ने तयारी थालिएको छ । चौरपाटी गाउँपालिकाले भने विद्यालयलाई आइसोलेसन वार्ड बनाएको जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?