अस्पतालमा मात्रै अक्सिजन प्रयोग गर्न सिफारिस

वैशाख १८, २०७८

जगदीश्वर पाण्डे

काठमाडौँ — कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तत्कालका लागि अस्पतालबाहेक अन्य कुनै पनि उद्योग वा क्षेत्रमा अक्सिजन प्रयोग गर्न नपाइने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

संक्रमितहरूका लागि अक्सिजन अभाव हुन थालेपछि शुक्रबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

‘अक्सिजन अन्य क्षेत्र र उद्योगमा प्रयोग भएको छ भने त्यसलाई रोक्ने, अस्पताललाई अक्सिजन चाहिने हिसाबमा प्रयोग गर्ने, अस्पताल वा नागरिकले आफ्नो घरमा वा अस्पतालमा सिलिन्डरहरू छन् भने तुरुन्तै रिफिलका लागि उद्योगमा पठाउने,’ सीसीएमसीका सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले बैठकका निर्णयबारे कान्तिपुरसँग भने, ‘उद्योगहरूले सिलिन्डर फिर्ता नभएकाले भर्न पाइएन भनेका छन् ।’

सीसीएमसीले निषधाज्ञालाई थप कडाइ गर्न, संक्रमण बढेका मुलुकबाट भइरहेका अन्तर्राष्ट्रिय उडान रोक्न, आन्तरिक उडानलाई पनि केही कटौती गर्न र भारततर्फका नाकामा थप कडाइ गर्न सिफारिस गरेको छ । बैठकमा भारततर्फ खुला सिमानाका कारण कोरोनाको जोखिम बढेकाले स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर १३ वटा नाका मात्रै सञ्चालन गर्ने निर्णय सीसीएमसीले गरेको सचिव बरालले बताए । उनले अहिले धेरै नाका सञ्चालन हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी भएकोबारे बैठकमा छलफल भएको जानकारी दिए ।

बैठकले अब वित्तीय संस्थाहरूमा एक चौथाइ कर्मचारीले मात्र काम गर्ने गरी निर्णय गर्न सरकारलाई भनेको छ । सीसीएमसीले अब काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागको कार्ड हुने पत्रकारलाई मात्र हिँडडुलको अनुमति दिन सिफारिस गरेको छ । अब पत्रकारले आफ्नो मिडिया हाउसको पास देखाएर हिँडडुल गर्न पाउने छैनन् ।

थप ६ जिल्लामा निषेधाज्ञा

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न थप ६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापा, डडेलधुरा, रुकुम पश्चिम र जाजरकोटमा जिल्लाभर, मोरङको विराटनगर महानगर, बूढीगंगा, जदहा गाउँपालिका, कटहरी गाउँपालिकाका केही वडा र दार्चुलाको मार्मा, व्यास र शैल्यशिखर नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

त्यसमध्ये झापा, डडेलधुरा र रुकुम पश्चिममा आइतबारबाट, जाजरकोटमा शनिबारबाट निषेधाज्ञा लागू हुनेछ । दार्चुलामा भने शुक्रबार रातिबाटै निषेधाज्ञा लागू गरिएको हो । जाजरकोटमा शनिबारदेखि २५ गतेसम्म, रुकुम पश्चिममा आइतबारदेखि ३१ गतेसम्म, डडेलधुरामा २५ गतेसम्म र झापामा २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना भाइरस

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully