सुदूरपश्चिममा अक्सिजन अभाव

वैशाख १६, २०७८

अर्जुन शाह, भवानी भट्ट

धनगढी, कञ्‍चनपुर — दिनदिनै थपिएका कोरोना संक्रमित गम्भीर बिरामीका कारण सुदूरपश्चिमका स्वास्थ्य संस्थामा अक्सिजन र स्वास्थ्य सामग्री अभाव हुन थालेको छ । यहाँका अक्सिजन प्लान्टको दैनिक उत्पादन क्षमता २ सय ३५ सिलिन्डर छ, खपत भने सरकारी अस्पतालमै त्योभन्दा बढी हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

सुदूरमा सरकारी अस्पतालका आफ्नै पाँच वटा अक्सिजन प्लान्ट छन् । त्यसबाहेक निजी क्षेत्रका आपूर्तिकर्ताले उपलब्ध गराउँछन् । संक्रमित संख्या बढेसँगै बजारमा पठाइएका सिलिन्डर ‘होल्ड’ हुन थालेको व्यवसायीले बताएका छन् । घरघरमा सिलिन्डर राख्ने क्रम सुरु भएको शंका छ । धनगढीमा दुई, डडेलधुरा अस्पताल, महाकाली अस्पताल र अछामको बयालपाटा अस्पतालमा १/१ वटा अक्सिजन प्लान्ट छन् । 

दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन क्षमताको सेती प्रादेशिक अस्पतालको प्लान्टबाट हाल दैनिक ५० सिलिन्डर मात्रै उत्पादन भइरहेको सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । ‘कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढेसँगै अक्सिजनको दैनिक खपत एक सय ५० सिलिन्डर पुगेको छ,’ उनले भने, ‘अपुग अक्सिजन बाहिरबाट आपूर्ति गरिरहेका छौं ।’ बाहिरबाट आपूर्ति सहज भएसम्म भने समस्या नहुने उनले बताए ।

संक्रमितको चाप थपिँदै जाँदा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । एउटै सिलिन्डरको भरमा धेरै बिरामीलाई अक्सिजन दिनुपर्ने बाध्यता आउन लागेको स्वास्थ्यकर्मी बताउँछन् । ‘बिरामीको चाप बढ्यो अक्सिजन पर्याप्त छैन,’ डा. गोविन्द रोकायाले भने । महाकाली अस्पतालको प्लान्टबाट दिनमा ५/६ सिलिन्डर मात्रै उत्पादन हुने गर्छ । अहिले दिनमा १०/१२ सिलिन्डर अक्सिजन खपत भइरहेको उनले बताए । महाकाली अस्पतालमा अहिले ५५ जना संक्रमितको उपचार भइरहेको छ । 

डडेलधुरा अस्पतालको प्लान्टबाट दिनमा २७ सिलिन्डर अक्सिजन उत्पादन भइरहेको डा. जगदीशचन्द्र बिष्टले बताए । ‘यहाँको उत्पादन आफ्नै अस्पताललाई ठिक्क छ,’ उनले भने । अरू ठाउँका एम्बुलेन्ससम्मलाई कहिलेकाहीं दिने गरिएको  उनले बताए । अछामको बयालपाटा अस्पतालको प्लान्टले दिनमा दुई सय लिटर हाराहारीमा उत्पादन गर्छ । उत्पादनले जेनतेन धानिरहेको अस्पतालका कर्मचारी पूर्ण खड्काले बताए । महाकाली अस्पतालको प्लान्टबाट दिनमा ४ सिलिन्डर मात्रै उत्पादन हुन्छ । मागका तुलनामा आपूर्ति सहज नभएको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमराज जोशीले बताए । 

धनगढीमा निजी क्षेत्रबाट सञ्चालित अक्सिजनको एउटा उद्योग छ । बडिमालिका अक्सिजन ग्यास उद्योगले दिनमा एक सय ५० सिलिन्डर उत्पादन गरिरहेको जनाएको छ । ‘सेती प्रादेशिक अस्पताल र धनगढीका प्राइभेट अस्पतालमा हाम्रो उत्पादन खपत हुने गरेको छ,’ सञ्चालक नरेश शाहले भने, ‘माग तेब्बर छ । उत्पादन बढाउन सकेका छैनौं ।’ घरघरमा लगिने सिलिन्डरहरू ‘होल्ड’ हुँदा पुनर्भरण गरेर पठाउन समस्या भइरहेको उनले बताए ।

व्यावसायिक डिलरहरूले नेपालगन्जबाट अक्सिजन सिलिन्डर ल्याएर बिक्री गर्ने गरेका छन् । धनगढीको अक्सिजन वितरण फर्म बी एन्ड बीका सञ्चालक पंकज पन्तले संक्रमितको संख्या बढेसँगै धनगढीमा मासिक ६ देखि ८ सय सिलिन्डर बिक्री भइरहेको बताए । ‘नयाँ सिलिन्डरको अभाव छ, सिलिन्डर साट्ने काम मात्रै गरिरहेका छौं,’ उनले भने, ‘तत्काल आवश्यक नपरेकाहरूले पनि एक घर एक सिलिन्डर स्टक राख्ने जस्तो लहर चलेकाले समस्या भएको छ ।’ नयाँ सिलिन्डरसहितको मूल्य २३ हजार र अक्सिजन मात्रको मूल्य एक हजारसम्म पर्ने बिक्रेताहरू बताउँछन् ।

सरकारीसँगै निजी क्षेत्रका अस्पतालहरूमा पनि चालु महिनादेखि अक्सिजनको खपत परिमाण बढेको छ । धनगढीस्थित निसर्ग अस्पतालका सञ्चालक कुबेर शाहीका अनुसार दिनमा २० सिलिन्डर अक्सिजन खपत भइरहेको छ । ‘पहिला यति धेरै खपत थिएन,’ उनले भने । सुदूरपश्चिमका पहाडी जिल्लाका अस्पतालहरू आवश्यक परेको अक्सिजन धनगढीबाटै आपूर्ति हुन्छ । बाजुराको टाँटे स्वास्थ्य चौकीका इन्चार्ज दीपक शाहले धनगढीमा अक्सिजन सिलिन्डर खोजेको भए पनि पाउन नसकेको बताए ।

एन्टिजेन किट पनि छैन

कञ्चनपुरमा मंगलबार १ सय १८ जनामा संक्रमण पुष्टि भएको थियो । पीसीआरबाट ५१ र एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये ३७ र एन्टिजेन पोजिटिभ देखिएका ६७ मध्ये १३ जना भीमदत्त नगरपालिकाका छन् । भारतबाट घर फर्किनेको परीक्षणका लागि एन्टिजेन किट पनि अभाव हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । बुधबार सीमित संख्यामा किट आएका कारण गड्डाचौकी नाकासँगै महाकाली अस्पताल र विभिन्न पालिकाहरूमा न्यून मात्रामा पठाइएको छ ।

गड्डाचौकी नाकामा बुधबार २ सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको छ । उक्त नाकाबाट बुधबार ८ सय ७१ जना भित्रिएका छन् । ‘भोलिका लागि एन्टिजेन किट छैन,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख नरेन्द्र रावलले भने । उनका अनुसार मंगलबार ३ सय किट आएको थियो । ती किट महाकाली अस्पताल र गड्डाचौकी हेल्थ डेस्कमा पठाइएको छ । ‘विभिन्न स्थानीय तहले पनि किट माग गरेका छन्,’ उनले भने । गड्डाचौकीमा भारतबाट फर्किनेका लागि होल्डिङ सेन्टर अझै निर्माण हुन सकेको छैन । भारतबाट घर फर्किनेलाई सामान्य जाँचका भरमा सार्वजनिक यातायातमै गन्तव्यतर्फ पठाउने गरिएको छ ।

बिहीबारदेखि निषेधाज्ञा

कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि कञ्चनपुरमा एक साता निषेधाज्ञा घोषणा गरेको छ । उक्त अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन, पसल बन्द हुने छन् । खाद्यान्नका पसल बिहान ६ देखि ९ बजेसम्म मात्रै खुला रहने प्रशासनले जनाएको छ । विवाह, व्रतबन्धलगायतका लागि प्रशासनको अनुमतिमा १५ जनालाई मात्रै उपस्थिति हुन दिइने छ । 

कोरोना भाइरस

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully