निषेधाज्ञामा हवाई यात्रुले के गर्नुपर्छ ?

विदेशबाट आउनेले ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने र १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने

वैशाख १५, २०७८

सुरज कुँवर

काठमाडौँ — कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले बिहीबारदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाका बेला पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुने छन् । तर जहाज चढ्न र ओर्लिनेबित्तिकै गन्तव्यमा पुग्न भने सजिलो हुने छैन । आन्तरिक उडानतर्फ जहाजमा पहिले जस्तो फेस सिल्डसहित मास्क, सेनिटाइजर अनिवार्य गरिएको छ । प्रत्येक उडानपछि जहाज तथा ब्यागेजलाई निसंक्रमित गर्नुपर्ने छ । चेक–इन बोर्डिङ, ब्यागेज क्लेम, प्रतीक्षालायमा हुने भीडभाडमा रोक लगाइएको छ ।

नेपालबाट कुनै पनि विदेशीले सजिलै तेस्रो मुलुक जान पाउने छैनन् । भारतीय वा अन्य मुलुकबाट नेपाल आएकाले अर्को (तेस्रो) मुलुक प्रस्थानको अनुमति नपाउने अध्यागमन विभागका निर्देशक झकनाथ ढकालले बताए । मन्त्रिपरिषद्ले सोमबार गरेको यो निर्णयअघि नै नेपाल आइसकेका विदेशी नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा स्थलमार्गबाट बाहिरिन चाहे सरकार र मातहतका निकायले रोक्न नपाउने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भुटानलगायत केही मुलुकका लागि ट्रान्जिट विन्दु पनि हो । विभागले ट्रान्जिटमा रोक लगाइएको सूचना जारी गरेको छ । भारतीय र चिनियाँबाहेक अन्य विदेशीलाई स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाइएको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । त्यस्तै १० दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । स्थानीय प्रशासनलाई यी दुई विषयको प्रमाण देखाएका आधारमा नेपालभित्र भारतीय नागरिकले सडकमार्गबाट प्रवेश पाउनेछन् । सडकमार्ग हुँदै आउने चिनियाँ नागरिकले पनि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र नेपाली होटलमा १० दिन बस्ने बुकिङ देखाउनुपर्नेछ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आउने अन्य विदेशी नागरिकले पनि यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्टको प्रमाण पेस गर्नुपर्नेछ भने १० दिन अनिवार्य आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । विदेशबाट फर्किने नेपालीले पनि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण पेस पर्नुपर्नेछ । विमानस्थलबाट सोझै घर जान चाहानेले स्थानीय सरकारको निगरानीमा १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्नेछ । होम क्वारेन्टाइनमा बस्न नसिकने अवस्था भए काठमाडौंमा १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।

यसैबीच, काठमाडौंस्थित आन्तरिक उडानबाट आउजाउ गर्ने यात्रुका लागि नागरिक उड्डयन प्राधिकरणले साझा बस सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको छ । यस विषयमा साझसम्म कुनै निर्णय भइनसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरण मातहतको उडान अनुमति शाखाले मंगलबार मन्त्रालयलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुलाई सघाउ पुर्‍याउन साझा यातायातका बस परिचालन गर्ने व्यवस्थाका लागि मन्त्रालयलाई लेखिपठाएको थियो ।

कोरोना भाइरस

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully