ढिला अस्पताल आउँदा बचाउन गाह्रो : चिकित्सक
वीरगन्ज — रौतहट माधव नारायण नगरपालिकाको पिप्रा–रजवाडा निवासी ५० वर्षीय महिलालाई स्वाश प्रस्वासमा समस्या देखिएपछि परिवारले उनलाई बुधबार बिहान वीरगन्जको नारायणी अस्पताल ल्याए ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालमा उनको कोरोना एन्टिजेन टेस्ट गरियो । नतिजा पोजेटिभ आएपछि करिब पौने १२ बजेको समयमा ती महिलालाई आइसोलेसन कक्षमा भर्ना गरी उपचार थालियो । भर्ना भएको दुई घण्टामै उनको मृत्यु भयो । अस्पतालका कोरोना संयोजक डा.सरोज रोशन दासका अनुसार ती महिलामा कडा खालको निमोनियो समेत देखिएको थियो । उपचारको क्रममा पौने २ बजे ती महिलाको मृत्यु भएको डा.दासले जनाए ।
बुधबार नै नारायणी अस्पताल पुगेकी वीरगन्ज महानगरपालिका–२७ बगही निवासी ६० वर्षीय महिलाको भर्ना भएको केही समयभित्रै मृत्यु भयो । स्वास्थ्यमा समस्या देखिएपछि परिवारले बुधबार बिहान उनलाई नारायणी अस्पताल लिएर आएका थिए । कोरोनाको आशंकामा चिकित्सकले कोरोना एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखियो । अस्पताल भर्ना भएको केही समयपछि करिब १० बजेर ५ मिनेटमा उनको मृत्यु भएको डा.दासले जनाए । स्वास प्रस्वास, निमोनिया देखिएको ती महिला पुरानो दम र सुगरको रोगी थिइन् । बिरामी अन्तिम समयमा अस्पताल पुग्ने गरेकाले उपचारमा समस्या भएको अस्पतालका कोरोना संयोजक डा.सरोज रोशन दासले जनाए ।
नारायणी अस्पतालमा उपचार गराइरहेका सर्लाही धनगढी– ४ निवासी ४३ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान एक बजेर ४० मिनेटमा मृत्यु भयो । कडा खालको निमोनिया भएको ती पुरुष मंगलबार अस्पताल भर्ना भएका थिए । स्वास, प्रस्वास र छाति दुख्ने समस्या भएपछि आफन्तले उनलाई नारायणी अस्पताल ल्याएका थिए । कोरोना एन्टीजेन पोजेटिभ आएपछि उनलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी उपचार थालिएको थियो । गत सोमबार कोरोना पोजेटिभ पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएकी बाराको सुवर्ण नगरपालिका– ७ निवासी ३० वर्षीय महिलाको बुधबार बिहान पौने एक बजे मृत्यु भयो । डा.दासका अनुसार उनमा पनि स्वास प्रस्वास र कडा खालको निमोनिया देखिएको थियो । गत वैशाख १२ गते नारायणीको आइसोलेशनमा कक्षमा भर्ना भएका वीरगन्ज महानगरपालिका– ७ रामटोल निवासी ४५ वर्षीय पुरुषको पनि बुधबार मृत्यु भएको छ । कोरोना संयोजक डा.दासका अनुसार स्वास प्रस्वास र कडा निमोनियाबाट ग्रसित ती पुरुषको उपचारको क्रममा साढे दुई बजे मृत्यु भएको हो । कोरोनाको दोस्रो लहर उकालो लागि रहँदा मृत्यु दर समेत बढेको छ ।
नारायणीमा उपचार गराइरहेका ५ जना संक्रमितको बुधवार मृत्यु भएको डा.दासले बताए । यसअघि मंगलबार ४ जना र सोमबार ३ जना संक्रमितको मृत्यु भएको थियो । डा.दासका अनुसार गत चैत १५ यता नारायणीमा भर्ना भएका १ सय १३ संक्रमित मध्ये १९ जनाको मृत्यु भएको छ । ४१ जना निको भएर घर फर्किएका छन् । चिकित्सकका अनुसार सुरुवाती चरणमा ज्वरो आउने, टाउको दुख्ने, रुघा खोकी जस्ता लक्षण हुँदा मौसमी रोग भनेर लापरवाही गर्दा अन्तिम समयमा अस्पताल पुग्दा बचाउन गाह्रो हुने गरेको छ । ‘मान्छेले अझै पनि मलाई कोरोना हुन सक्छ भनेर स्वीकार्न सकिरहेका छैनन्,’ नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा.निरज सिंहले भने, ‘घरमै उपचार गर्ने र ढिला भएपछि मात्र अस्पताल आउनेलाई बचाउन गाह्रो हुने गरेको छ ।’
उनका अनुसार सिकिस्त भएर आउने संक्रमितलाई ‘हाई फ्लो’मा अक्सिजन दिनु पर्छ । त्यो सफल भएन भने बचाउन कठिन हुन्छ । जनशक्ति अभावले गर्दा पनि सबै संक्रमितले उचित रेखदेख पाउन सकेका छैनन् । आइसोलेशन वार्डमा जनशक्ति थप्न अस्पताल व्यवस्थापनलाई आग्रह गरिएको डा.सिंहले बताए ।
