बीपी प्रतिष्ठानमा गम्भीर अवस्थाका बिरामीले मात्र उपचार पाउने

वैशाख १५, २०७८

सुनसरी — प्रदेश १ र प्रदेश २ को रिफरल सेन्टर मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक उपचार सेवा लिनुपर्ने बिरामी बाहेक सामान्य बिरामीलाई अस्पताल नआउन सार्वजनिक अपिल गरेको छ ।

प्रतिष्ठानले बुधबार अपिल जारी गर्दै चिकित्सक, नर्सहरुसमेत संक्रमित हुन थालेकाले जनशक्ति सीमित भएको जनाएको छ । भएका जनशक्ति कोभिड अस्पतालमा केन्द्रित भएकाले गम्भीर किसिमका बिरामीमात्र उपचारका लागि आउन आग्रह गरेको हो । सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेपनि ओपीडी सेवाहरु भने तत्काललाई बन्द नगरिएको सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले बताए ।

कोरोना महामारीको पहिलो लहर सुस्त भएपछि प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक बढेको थियो । कोरोनाको दोस्रो लहर चलिरहँदा पनि सर्वसधारणहरु करिब दैनिक ३ हजार जना उपचारका लागि आउने गरेपछि अस्पतालबाटै संक्रमण फैलन सक्ने भन्दै गम्भीर बिरामीलाई मात्र आउन भनिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा. गौरीशंकर साहले बताए ।

उनले कोभिडको दोस्रो लहरको असर बढ्दै गएपछि अस्पतालमा कोभिड १९ उपचार सेवा थप विस्तार गर्नुपर्ने देखिएको र आकस्मिक बाहेकका प्रतिष्ठानका अन्य सेवाहरु स्थगन गर्नुपर्ने अवस्था आउनसक्ने पनि प्रतिष्ठानले प्रष्ट्याएको छ ।

प्रतिष्ठानले केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई रुटिङ अप्रेसनबाट नाम हटाउन थालेको छ । रुटिङ अप्रेसन गर्नुपर्ने बिरामीको संख्या प्रतिष्ठानमा ६ महिनासम्मका लागि दर्ता भइसकेका थिए । पहिलो लहरको कोरोना महामारीको बेला प्रतिष्ठानले विभिन्न विभागका चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गरेर फोनमार्फत नै उपचार सेवाको परामर्श लिन सकिने बनाएको थियो ।

पछिल्लो एकसाता यता प्रतिष्ठानमा विभिन्न विभागमा कार्यरत कन्सल्ट्यान्ट, सिनियर र जुनियर चिकित्सक, नर्सहरु गरी १६ जना संक्रमित भइसकेका छन् भने कोभिड अस्पतालमा गम्भीर किसिमका ३० जना कोरोना संक्रमित भर्ना भएका छन् । पाँच जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस

Link copied successfully