‘अमेरिकामा खोपको पूरा मात्रा लगाएकाले एक्लै हिँड्दा र खुला ठाउँमा मास्क लगाउन नपर्ने’

नयाँ मापदण्डअनुसार भीडभाड रहेका स्थानमा भने अझै पनि सबै जनाले मास्क लगाउनुपर्ने उल्लेख गरिएको छ ।

वैशाख १६, २०७८

एजेन्सी

वासिङ्टन — सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले नयाँ मापदण्ड जारी गर्दै खोपको मात्रा पूरा गरेकाहरुले खुला स्थानमा मास्क लगाउनु नपर्ने जनाएको हो । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका व्यक्तिहरुले खुला स्थानमा मास्क लगाउन नपर्ने भएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले पूर्ण खोप लगाइसकेकाहरूले घरबाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको हो । खोप लगाइसकेको व्यक्ति एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा हुँदा सुरक्षित हुने भएकाले मास्क लगाउन नपर्ने सीडीसीको नयाँ मापदण्डमा उल्लेख गरिएको छ ।

नयाँ मापदण्डअनुसार कोठाभित्र वा भीडभाड रहेका स्थानमा भने अझै पनि सबै जनाले मास्क लगाउनुपर्ने उल्लेख गरिएको छ । अमेरिकामा बुधबार साँझसम्म करिब १० करोडले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । करिब १५ करोड अमेरिकीले खोपको कम्तीमा एक मात्रा लगाइसकेका छन् ।

सीडीसीले सार्वजनिक गरेको नयाँ मापदण्डप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले खुसी व्यक्त गरेका छन् । बाइडेनले भाइरसविरुद्धको खोपको मात्रा पूरा गरेका मानिसले खुला स्थानमा मास्क लगाउन आवश्यक नभएको घोषणा गरेका छन् । त्यसलगत्तै उनी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा केही समय मास्क खोलेर हिँडेका थिए ।

‘यदि तपाईंले खोपको मात्रा पूरा गरिसक्नुभएको छ भने साथीहरुसँग पार्कमा भेट्दा वा पिकनिक गर्दा वा बाहिर खुला स्थानमा हुनुहुन्छ भने आजदेखि मास्क लगाउनु पर्दैन,’ बाइडेनले भनेका छन् । उनले अमेरिकी वैज्ञानिकहरुलाई उद्धृत गर्दै उपलब्ध तथ्यांकका आधारमा खुला हावामा खोप लगाइसकेकाहरू भेट्दा भाइरसको संक्रमण हुने सम्भावना निकै कम रहेको समेत बताए ।

महामारीविरुद्ध लडाइमा अमेरिकाले निकै ठूलो प्रगति गरेको बाइडेनको दाबी छ । जनवरी २० मा आफूले कार्यभार सम्हालेयता कोरोनाबाट संक्रमित हुने तथा ज्यान गुमाउनेको संख्या निकै घटिरहेको बताए ।

बाइडेनले खोप नलगाएका अमेरिकीहरुलाई खोप लगाउन पनि आग्रह गरेका छन् । ‘खोप लगाएर देशभक्तिपूर्ण कार्य गर्नुहोस्,’ उनले भने । खोप लगाउनुको अर्थ आफूमात्र नभई परिवार, साथीभाइ आफन्त वा वरपरका मानिसहरुलाई पनि सुरक्षित पार्न सकिने बाइडेनको भनाइ छ ।

‘खोपले तपाईंको ज्यान जोगाउने काम गर्छ । साथै यसले तपाईंका आफन्त, साथीभाइ तथा वरपरका अन्य मानिसलाई पनि जोगाउँछ,’ बाइडनेले भने, ‘त्यसका साथै यसले हामीलाई सामान्य जीवनशैलीमा फर्कन पनि मद्दत गर्छ ।’

ह्वाइटहाउसमा नयाँ सुरक्षा मापदण्ड सार्वजनिक गर्दै सीडीसीका निर्देशक डा. रोसेल वालेन्स्कीले ठूला जमघट वा भीडभाडयुक्त स्थानमा भने अझै मास्क लगाउन तथा सतर्कता अपनाउन आग्रह गरिन् । नयाँ मापदण्डअनुसार खोपको मात्रा पूरा गरेको भन्नाले खोपको दुवै मात्रा लगाएको दुई साता कटिसकेको हुनुपर्छ ।

‘बाहिरी खुलास्थलमा हुने साना तथा मध्यमस्तरका जमघटमा खोप लगाएका मानिस मास्क नलगाए पनि सुरक्षित हुन्छन्,’ वालेन्स्कीले भनिन्, ‘तर बाहिरै भएको जमघट पनि यदि ठूलो छ भने सतर्कता अपनाउनुपर्छ ।’ त्यस्तो जमघटमा मास्क लगाउने कि नलगाउने भन्ने विषय हावाको बहाव तथा मानिसहरूबीच दूरीका आधारमा निक्र्यौल गर्नुपर्ने उनले बताइन् ।

विभिन्न अध्ययनहरुका अनुसार खुला हावामा कोरोना भाइरसको संक्रमण हुन सक्ने भए पनि त्यसको जोखिम निकै नै कम हुन्छ । त्यसका साथै पूर्ण खोप लगाइसकेका मानिसले भाइरस सार्ने सम्भावना पनि निकै कम हुने साथै प्रारम्भिक अध्ययनहरूले देखाएका छन् । निर्देशक वालेन्स्कीका अनुसार खोप लगाएका मानिसलाई मास्क लगाउन अनुरोध गर्नु भनेको खासगरी खोप नलगाएकालााई जोगाउन हो ।

कोरोना खोपकोरोना भाइरस

एजेन्सी

Link copied successfully