काठमाडौँ — नेपालगन्जस्थित भेरी अस्पतालमा १४२ बेड कोभिड–१९का बिरामीका लागि छुट्याइएको छ । शुक्रबारसम्म यी सबै बेड भरिइसकेका छन् । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले १६३ जना हाल उपचाररत रहेको बताउँदै थप बेडको आवश्यकता रहेको बताए ।
उनले भने– ‘जटिल प्रकारका बिरामीहरु बढ्दो मात्रामा आइरहेका छन् । संक्रमणका दर उच्च भएकाले बिरामीहरु बढेका छन् । पछिल्लो समय बेड खाली नभएको अवस्था छ ।’
उनले अक्सिजन चाहिने बिरामीलाई उपचारका लागि अन्य अस्पतालसँग समन्वय गरिरहेका जानकारी दिए । भेरी अस्पतालमा रहेको ४० इन्टेसिभ केयर यूनिट (आईसीयू) बेड सबै बिरामीले भरिएका छन् । डा. थापाका अनुसार अस्पतालमा १० वटा आईसीयू बेड थप गरेर ५० पुर्याउने लक्ष्य राखिएको छ । यस्तै अस्पतालमा १५ वटा भेन्टिलेटर रहेकोमा ६ वटामा बिरामी भर्ना छन् । डा. थापा भन्छन्– ‘हामीसँग भएका ५० बेड हाई डिपेन्डेसी युनिट (एचडीयू) बेड नै रहेका छन् ।’ उनले ३६ बेडका लागि सरकारबाट सामग्री तथा बजेट प्राप्त भएको बताउँदै कोरोना संक्रमितको लागि २०० बेडसम्म पुर्याउने लक्ष्य रहेको बताए ।
‘अस्पतालबाहेकका खाली ठाउँहरुमा पनि व्यवस्थित गरेर साधारण बिरामीहरु राख्ने भनेर काम अघि बढिरहेको छ । बाँकेमा हरेक दिन ३०० देखि ४०० बिरामीहरु थपिइरहेकाले अवस्था नियन्त्रण बाहिर गइरहेको छ,’ उनले भने । भेरी अस्पतालले बिरामी थेग्न नसकेपछि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बेड थप्ने काम भइरहेको छ । भेरीमा गम्भीर प्रकृतिका बिरामी आए पनि राख्ने ठाउँ नहुने भएपछि शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले मेडिकल कलेज कोहलपुरमा दुई सय बेड सञ्चालन गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा पनि बेडको अभाव देखिन थालिसकेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत ५० शय्याको कोरोना अस्पतालमा बिहीबार ३७ जना संक्रमित उपचाररत रहेकोमा अधिकांशको अवस्था जटिल रहेको अस्पालतका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
वीरगन्जस्थित नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले ३४ वटा एचडीयू बेड सञ्चालनमा रहेको जनाए । उनले ८० क्षमताको बेड १ हप्ताको अवधिमा थप्ने गरी काम अघि बढाएको पनि जानकारी गराए । ‘१५० बेडको फुल फ्लेजको कोभिड एचडीयू र आईसीयू चलाउने प्रयास गरिराखेका छौँ,’ उनले भने, ‘बिरामीहरु एकदमै धेरै बढेका छन् । विभिन्न ठाउँबाट रिफर भएर आइरहेका छन् । ४२ बेड सञ्चालमा आइरहेको छ ३२ बेड प्याक रहेका छन् । संक्रमित अझ बढ्दै गएमा अप्ठ्यारो स्थिति आउन सक्छ । बेडका लागि झगडासम्म हुन सक्छ । म्यानपावर अनि अक्सिजनको अभाव हुन सक्छ ।’
त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले ५० वटा एचडीयू बेड थपिएका जानकारी गराए । डा. दास भन्छन्– ‘४–५ महिना अगाडि बेडका लागि प्रक्रिया सुरु भएको थियो । ५० बेडको लागि सामान आइपुगेको छैन तर छिट्टै थप्छौँ ।’ उनले हाल कोभिडका लागि छुट्याइएका ५० बेडमा २–३ वटा बेडबाहेक सबै भरिएको जानकारी गराए ।
वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले एचडीयू बेडका लागि बेड, मोनिटर, उपकरणलगायतका बजेट पाएर २५ बेड चलाइरहेको बताए । उनका अनुसार अब ६२ बाट १०० बेडमा पुर्याउन योजना रहेकाले छिट्टै १७ बेड थप्ने तयारी हुँदैछ । उनले ठाउँ नपुगेपछि ननकोभिड वार्ड खोल्दै संक्रमितहरुलाई भर्ना गरिराखिएको जानकारी दिए ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पनि बिरामी राख्ने ठाउँ न्यून रहेको अस्पतालका प्रमुख कन्सलट्यान्ट डा. अनुप बास्तोला बताउँछन् । ‘आईसीयू र भेन्टिलेटरको लागि फोन आइराख्छ । वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छन् । रिफर गर्न अरु अस्पतालमा पनि बेड छैन । हामी एकदमै डरलाग्दो अवस्थामा छौं,’ डा. बास्तोलाले चिन्ता व्यक्त गरे ।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले १० वटा एचडीयू बेडमा मात्र रहेको बताए । अस्पतालमा २१ वटा आईसीयू बेड रहेको छ । ‘सुरुमा आईसीयूका लागि उपकरणहरु आएका थिए तरपछि एचडीयू बेड बनाउनका लागि भने केही भएको छैन,’ उनले भने ।
यी त भए केही कोरोना संक्रमित उपचार गराउने केही प्रमुख अस्पतालको अवस्था । विशेषत: जटिल कोरोना संक्रमित थपिन थालेपछि बेडहरु अभाव हुँदै गएको छ । अक्सिजन चाहिने बिरामीहरु बढ्न थालेका छन् । तर अक्सिजनसहितको सेवा सुविधा हुने एचडीयू बेड पूर्ण रुपमा कतै बन्दै छन् । कुनै सामान भए पनि सञ्चालनमा आउन सकेका छैनन् ।
बेड अझै थपिएनन्
वैशाख १० गतेको तथ्यांक हेर्ने हो भने देशभर १७३ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देशभर १ हजार १८० वटा आईसीयू र ५१२ वटा भेन्टिलेटर उपलब्ध रहेको देखाउँछ । विज्ञहरुले जेठ असारसम्ममा कोरोना संक्रमण चुचुरोमा पुग्न सक्ने आकलन गरिराख्दा वैशाख दोस्रो सातामै आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ । कतिपय अस्पतालले बिरामीसमेत फर्काउनु परेको छ ।
कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा हाई डिपेन्डेसी युनिट सञ्चालन गर्न सवा ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ बजेट पठाएको जानकारी दिएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मिडिया ब्रिफिङमा प्रदेशका विभिन्न अस्पतालमा ६ हजार बेडको हाई डिपेन्डेसी युनिट सञ्चालन गर्न सो रकम विनियोजन गरी पठाएको बताएका थिए ।
काठमाडौंको त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा सय–सय बेडको हाइ डिपेन्डेसी युनिट र प्रदेशका अस्पतालमा ५० बेडका दरले बनाइने भनिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड उपचारका लागि देशभर एचडीयू बेड कति बने भन्ने विवरण आइनसकेको बताए । डा. अधिकारीले तत्काललाई ८०० बनाइसक्ने भने पनि त्यसलाई थपेर १००० सम्म पुर्याउने लक्ष्य रहेको बताए ।
‘यससम्बन्धी कति वटा बनिसकेका छन् त्यो विवरण अझै आउन बाँकी नै छ । प्रगतिको आधारमा पैसा पठाउने भनेका छौं । धेरैले काम अघि बढाइसकेका छन्,’ उनले भने । उनका अनुसार १००० मध्ये २०० बेड चाहिँ निजी क्षेत्र तथा सरकारी क्षेत्रमा पहिले भएका बेडहरुको व्यवस्थापन गरेर अपग्रेड गर्ने योजना रहेको छ । उनले एचडीयू बेड लगभग ५० प्रतिशत काठमाडौंलाई केन्द्रित गरेर बनाउने लक्ष्य रहेको बताए ।
