१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारतमा एकैदिन ३ लाख ४६ हजारभन्दा बढीलाई कोरोना संक्रमण, २६२४ को मृत्यु

काठमाडौँ — भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४६ हजार ७ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । यो विश्वको कुनै पनि देशमा एकै दिन संक्रमित हुनेको हालसम्मकै बढी हो ।

भारतमा एकैदिन ३ लाख ४६ हजारभन्दा बढीलाई कोरोना संक्रमण, २६२४ को मृत्यु

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ६ सय २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । विश्वमा उच्च संक्रमण भएका मुलुकमध्ये भारत अमेरिकापछि दोस्रो नम्बरमा छ । भारतमा अहिलेसम्म १ करोड ६६ लाख १० हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५ सय ४४ पुगेको छ भने १ करोड ३८ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २५ लाख ५२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतले अहिलेसम्म १३ करोड ८३ लाख ७९ हजार ८ सय ३२ डोज कोरोना खोप लगाइसकेको छ ।

पछिल्लो दुई सातायता भारतमा महामारीको फैलने क्रम तीव्र बनेको छ । विज्ञहरूले यसलाई महामारीको दोस्रो चरण दाबी गरेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै भारतको पूरै स्वास्थ्य क्षेत्र धर्मराएको छ । रेम्डेसिभिरजस्ता अत्यावश्यक औषधि मात्र नभएर अक्सिजन र बेडको चरम अभाव सुरु भएको छ ।

सामाजिक सञ्जालहरू आफन्तका लाागि अक्सिजन र बेडका लागि गुहार लगाएका सन्देशहरूले भरिएका छन् । समयमा अक्सिजन नपाएर मृत्यु हुनेको संख्या बढ्दो छ । राजधानी दिल्लीमै अक्सिजन र बेडको हाहाकार मच्चिएपछि केन्द्र सरकारले चासो देखाए पनि अवस्थामा खासै सुधार आएको छैन । बिहीबार मात्रै दिल्लीको गंगाराम अस्पतालमा पर्याप्त अक्सिजन आपूर्ति नहुँदा गएको २४ घण्टामा पच्चीस सिकिस्त बिरामीको ज्यान गएको थियो । शनिबार बिहान पनि अस्पतालमा बिरामीको अत्यधिक चाप भए पनि अक्सिजन पर्याप्त नभएको अस्पतालले जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?