नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणको दर बढेसँगै संक्रमितको मृत्यु पनि बढिरहेको छ । भेरी अस्पताल नेपालगन्जमा एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार मृतक चारै जना नेपालगन्ज निवासी हुन् । मृतक दुई महिला र दुई पुरुष रहेका छन् ।
नेपालगन्ज–१० निवासी ६१ वर्षीया महिलाको शुक्रबार राति १ बजेर २१ मिनेट जाँदा मृत्यु भएको छ । उनी वैशाख ८ गते भेरीमा भर्ना भएकी थिइन् ।
यस्तै नेपालगन्ज–८, त्रिभुवनचोकका ३५ वर्षीय पुरुषको शुक्रबार अपरान्ह मृत्यु भएको थियो । नेपालगन्ज–५ का ८४ वर्षीय पुरुषको बेलुका ७ बजे मृत्यु भएको थियो । नेपालगन्ज–२ का ७५ वर्षीया महिलाको पनि राति मृत्यु भएको हो ।
फोकलपर्सन वलीले अहिलेसम्म बाँकेका ७६ जनाको कोरोनाबाट मृत्यु भएको बताए ।
बाँकेमा शुक्रबार अबेरसम्ममा तीन वटै प्रयोगशालाको रिपोर्ट आउँदा ४ सय ७८ जना संक्रमित थपिएका छन् । ६ सय ६५ जनाको गरिएको पीसीआर परीक्षणमा एकै दिन ४ सय ७८ जना पोजिटिभ रिपोर्ट अहिलेसम्मकै उच्च हो ।
