कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बेड भरिए, भुइँमै उपचार

३५ बेडको अस्पतालमा ४२ संक्रमित

दाङ, रुपन्देही — अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ ।

बेड भरिए, भुइँमै उपचार

दिनमा १७ देखि २० जना संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार अस्पतालमा दिनमा ५५ सिलिन्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालको अति आवश्यक खर्च महिनामा १ करोड ७ लाख ९० हजार ५ सय भइरहेको वलीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको पहलमा अस्पताल खुले पनि असोजयता खर्च नपठाएको उनले बताए । ‘हामी ऋणमा काम गरिरहेका छौं । अब उधारोमा सामान पाउन गाह्रो हुन थाल्यो । अहिले अक्सिजनको अभाव हुन थालेको छ,’ उनले भने, ‘समयमै आवश्यक सामान किन्न सकिएन भने बिरामीको उपचार नपाएर ज्यान जान सक्छ ।’ बेड नभएका कारण बिरामी फर्काउनुपरेको र गम्भीर अवस्थाकालाई भुइँमै सुताएर उपचार गरिरहेको उनले बताए ।

‘छिट्टै बेड नबढाए र आवश्यक सामान किन्न नसके अवस्था साह्रै भयावह हुन सक्छ । अक्सिजन र उपचार नपाएरै बिरामीको ज्यान जान सक्छ ।’ अस्पतालमा चार मेडिकल अधिकृत र १२ नर्स कार्यरत छन् । एक नर्सले एक बिरामीको स्याहार गर्नुपर्ने अवस्थामा यति थोरै जनशक्तिले सेवा दिन पनि कठिन भइरहेको उनले बताए ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकमा अस्पतालको अवस्थाबारे जानकारी गराउँदा पनि कुनै प्रभावकारी निर्णय हुन सकेन । अस्पतालमा आवश्यक सामान किन्न सबै स्थानीय तहले रकम उठाउनेबारे छलफल भए पनि कोही उठाउन तयार भएनन् । देउखुरी उपत्यकाका लमही नगरपालिकाका साथै राजपुर, गढवा र राप्ती गाउँपालिका देउखुरीमा छुट्टै अस्पताल चलाउनुपर्ने भएकाले बेलझुन्डीमा सहयोग गर्न नसकिने भन्दै निस्किए । ‘हामीले लमहीमा छुट्टै कोरोना अस्पतालको तयारी गरिरहेका छौं । बेलझुन्डीका लागि सहयोग गर्न सकिँदैन,’ लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले भने, ‘बेलझुन्डीका लागि प्रदेश सरकार र बाँकी स्थानीय तहले सहयोग गर्नुपर्छ ।’ बेलझुन्डीलाई प्रदेशस्तरको अस्पताल मानेर दाङलगायत छिमेकी जिल्लाका बिरामी राख्ने योजना भए पनि अहिले दाङकै बिरामी अटाउन सकेका छैनन् । स्थानीय तह सहयोग गर्न तयार छैनन् । बजेट नभएकाले तत्काल रकम उपलब्ध गराउन कठिन भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बेलझुन्डी कोरोना विशेष अस्पतालको क्षमता विस्तार गर्ने र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोभिड बिरामीको उपचार सेवा विस्तार गर्ने निर्णय गरेको थियो ।

अहिलेसम्म प्रदेश तथा जिल्ला तहबाट अस्पताल व्यवस्थापनका लागि कुनै पनि काम भएको छैन । अस्पतालको सेवा विस्तारका लागि मुख्यमन्त्री कार्यालयबाट लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाएको जिम्मेवारी तत्काल अगाडि बढाउन अनुरोध गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण ५३ जनाको ज्यान गइसकेको र दिनहुँ तीव्र गतिमा बिरामी बढिरहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

बेड र अक्सिजन चुनौती

रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा बिहीबार भर्ना भएका एक संक्रमितले बेड पाएनन् । उनलाई भुइँमै अक्सिजन दिएर चिकित्सकले उपचार सुरु गरे । शुक्रबार बेड व्यवस्थापन भएपछि उनलाई सारियो । अस्पतालमा आइसकेका बिरामीलाई उपचार नगरी अन्यत्र पठाउँदा अवस्था झन् जटिल हुने भएकाले भुइँमै राखेर भए पनि उपचार गर्ने गरिएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । तीन दिनयता अस्पतालका २५ बेड भरिएका छन् । दैनिक संक्रमित दोब्बर बढ्न थालेपछि सरोकारवालाले भैरहवास्थित भीम र बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई कोरोना विशेष बनाउनुपर्ने माग गरेका छन् ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा सञ्चालनमा रहेका १३ वटै आईसीयू बेड र चार भेन्टिलेटर बेड खाली छैनन् । अस्पतालको फिभर क्लिनिकमा रहेका सात बेडमा पनि बिरामी छन् । यस्तो अवस्थाले उपचारमा खटिएका चिकित्सकसमेत भोलिको दिनमा बिरामीलाई कसरी उपचार गर्ने भन्ने अन्योलमा रहेको अस्पतालका फोकल पर्सन फिजिसियन डा. सुदर्शन थापाले बताए । ‘बेड र अक्सिजन दुवै थप गरी तत्काल व्यवस्थापन गर्न नसके जटिल स्थिति सिर्जना हुन्छ,’ उनले भने, ‘अक्सिजन सप्लायर्सले समयमै सप्लाई गर्न नसक्दा बिरामीलाई अप्ठ्यारो पर्ने र ज्यान जाने डर बढी छ ।’ बिहीबार अस्पतालको फिभर क्लिनिकमा अक्सिजन सप्लाईमा ढिलाइ भएपछि केहीबेर तनाव सिर्जना भएको थापाले बताए ।

निजीतर्फबाट कोरोना संक्रमितलाई उपचार गरिरहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा १ सय ७० बेडमध्ये १४ वटा एचडीयू र नौ वटा आईसीयू बेड सञ्चालन भइरहेका छन् । अस्पतालले थप ३० बेडलाई एचडीयूसहित बनाउने गरी काम गरिरहेको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । सीमा नाकादेखि मानिसको ओहोरदोहोरले भारतीय भेरियन्ट प्रवेशमा सहज भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘जिल्लामा ८ सय सक्रिय संक्रमित भेटिएका छन्,’ उनले भने, ‘यो रेसियोले भोलिका दिनमा निम्त्याउने जोखिमबारे सचेत हुनैपर्छ ।’ नागरिकस्तरदेखि पनि सचेतनामा लापरबाही गर्न नहुने उनले बताए ।

जिल्लाको अहिलेको स्थिति आत्तिहाल्नुपर्ने नभएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए । ‘जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भेन्टिलेटर, एचडीयू र जनरल आइसोलेसन बेड थप गर्ने निर्णय भई तयारी थालिएको छ,’ उनले भने । हरेक पालिकाले ५ बेड एचडीयू तयारी अवस्थामा राख्नुपर्ने गरी सूचना गरिसकेको र प्रदेश तथा संघीय सरकारसँग बेडको क्षमता विकासका लागि आग्रह भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख ११, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?