कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अस्पतालबाटै फर्काइए संक्रमित

टाउकोमा गम्भीर चोट लागेका बिरामीलाई बझाङबाट नेपालगन्ज पुर्‍याइए पनि एन्टिजेन परीक्षण रिपोर्ट ‘पोजिटिभ’ आएपछि बिनाउपचार फर्काइयो ।
वसन्तप्रताप सिंह

बझाङ — गाडीबाट ओर्लने क्रममा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेका एक बिरामीलाई अस्पतालले भर्ना लिन नमान्दा नेपालगन्ज पुर्‍याएर पनि पुनः बझाङ नै फर्काउनुपरेको छ । उनको हाल शरीरको तल्लो भाग नचल्ने अवस्थामा पुगेको छ ।

अस्पतालबाटै फर्काइए संक्रमित

वैशाख १ मा टाउकोमा गम्भीर चोट लागेका मस्टा गाउँपालिका–१ का ५६ वर्षीय पुरुषलाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालले उपचार गर्न नसक्ने भन्दै अन्तै लैजान सुझायो । त्यसपछि उनलाई नेपालगन्ज मेडिकल कलेज पुर्‍याइयो । त्यहाँ भर्ना गर्नुपूर्व गरिएको एन्टिजेन परीक्षणमा रिपोर्ट ‘पोजिटिभ’ आयो । त्यसपछि मेडिकल कलेजले उनलाई भर्ना गर्न मानेन । ‘उहाँ कोरोना संक्रमित हुनुहुँदोरहेछ । यहाँ भर्ना गर्न मिल्दैन, अन्तै लैजानुस् भनियो । हामीले जति हारगुहार गर्दा पनि सुन्दै सुनेनन्,’ उपचारका लागि सँगै नेपालगन्ज पुगेका उनका आफन्तले भने ।

ती आफन्तका अनुसार बझाङदेखि धनगढी हुँदै नेपालगन्जसम्म पुर्‍याउँदा एम्बुलेन्स भाडालगायतमा ६० हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको थियो । उनले भने, ‘लगेको पैसामध्ये हामीसँग ३० हजारमात्रै बाँकी थियो । अन्त लैजानका लागि अपुग हुने भएकाले बझाङ नै फर्कायौं ।’ उनले अस्पतालले भर्ना नलिएपछि पुनः ३८ हजार रुपैयाँ तिरेर एम्बुलेन्समा बिरामीलाई बझाङ नै ल्याएको बताए । ‘बिरामीलाई ठाउँसम्म पुर्‍याउँदा पनि उपचार पाइएन । बेर्थैमा एक लाख रुपैयाँ ऋण लाग्यो,’ उनले भने ।

हाल उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । अस्पतालको जनशक्ति र स्रोतसाधनले भ्याएसम्म उपचार गरिरहे पनि निको हुन गाह्रो रहेको चिकित्सक मिलन खड्काले बताए । उनको शरीरको तल्लो भाग नचल्ने अवस्थामा पुगेकाले अवस्था चिन्ताजनक रहेको खड्काको भनाइ छ । ‘बिरामीलाई त्यत्तिकै मर्न दिनुभन्दा केही प्रयास गरौं भनेर भर्ना लिएका छौं । बिरामीको परिवारको आर्थिक अवस्था राम्रो नभएकाले अन्त लैजान सम्भव नभएकाले सकेको प्रयास गर्ने सोच बनाएका हौं,’ डा. खड्काले भने, ‘सुविधासम्पन्न अस्पतालले यति टाढाबाट गएका बिरामीमाथि न्यूनतम मानवीयता देखाइदिएको भए बिरामीले समयमै उपचार पाउने थिए ।’

नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनौडियाले कोरोना संक्रमण भएकै कारण बिरामीलाई नफर्काइएको दाबी गरे । केही दिनयता अस्पतालको कोरोना वार्ड भरिएकाले नयाँ बिरामी भर्ना लिन नसकिएको उनको भनाइ छ । ‘हामीले सय शय्या संक्रमितका लागि छुट्याएका छौं । जसमध्ये २५ शय्या गम्भीर बिरामीका लागि भनिए पनि हाल कुनै पनि शय्या खाली छैनन् । धेरैजसो संक्रमित गम्भीर खालका छन् । केही दिनयता मात्रै ४/५ जनाको मृत्यु पनि भइसकेको छ,’ डा. कनौडियाले भने, ‘शय्या खाली नभएकाले नै उहाँलाई अर्को अस्पताल जान भनिएको हुन सक्छ, कोरोना भएकै कारणले पक्कै होइन ।’

प्रकाशित : वैशाख ११, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?