सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै अनुमति

सुरज कुँवर

काठमाडौँ — पर्यटन विभागले विश्वकै सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्त ऋतुमा हुन लागेको आरोहणमा हालसम्मकै धेरै अनुमति जारी गरेको छ ।

सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै अनुमति

कोभिड–१९ को दोस्रो लहरले छिमेकी मुलुकलगायत विश्वभर असर पारिरहेका बेला विभागले शुक्रबारसम्म सलामी दस्तुर लिइ सगरमाथा हिमाल आरोहणका लागि ३ सय ९४ जनालाई आरोहण अनुमति पत्र जारी गरेको तथ्यांक सार्वजनिक गरेको छ । यसमा ३ सय ७५ जना विदेशी छन् भने १९ जना नेपाली छन् । जो मौसम अनुक"ल भएपछि मध्य वैशाखपछि सुरु भइ जेठ पहिलो सातासम्म हुने शिखर आरोहणका लागि प्रयास गर्ने छन् ।

‘सबैभन्दा धेरै सन् २०१९ मा ३ सय ८१ थियो,’ विभागकी निर्देशक मिरा आचार्यले कान्तिपुरसँग भनिन्, ‘शुक्रबारसम्म सगरमाथाका लागि ३ सय ९४ जनालाई आरोहण अनुमति जारी गरिएको छ ।’ उनका अनुसार यस वर्षको वसन्तकालीन हिमाल आरोहण अनुमति दिने कार्य जारी नै छ । ‘सगरमाथाका लागि यो आरोहण अनुमतिको अंक हालसम्मकै उच्च मानिएको छ,’ उनले भनिन्, ‘अनुमति दिने कार्य रोकिएको छैन । तर, सगरमाथाका लागि आरोहण दल व्यवस्थापन गर्ने कम्पनीहरुको इन्क्वाइरीमा अब कमी आउँदै गएको छ ।’

विभागले शुक्रबारसम्म नेपाली र विदेशीबाट संकलन गरिएको सलामी दस्तुर ४७ करोड ७७ लाख पुगेको जनाएको छ । विभागले वसन्त ऋतुमा हुने सगरमाथा आरोहणमा नेपाली आरोहीबाट प्रति व्यक्ति ७५ हजार रुपैयाँ र विदेशी नागरिकबाट प्रति व्यक्ति ११ हजार डलर (१३ लाख १८ हजार हाराहारी) सलामी दस्तुर संकलन गरेको हो ।

विभागले शुक्रबारसम्म सगरमाथासहित १६ वटा हिमालका लागि ७९ आरोहण दललाई अनुमति दिइसकेको छ । जसमा १ सय ५२ महिलासहित ६ सय ८९ जना छन् । यी सबैबाट विभागले ५२ करोड ५५ लाख सलामी दस्तुर संकलन गरिसकेको छ ।

सगरमाथापछि धेरै अनुमति जारी भएको दोस्रो हिमालमा खुम्बु क्षेत्रकै ल्होत्से हिमाल रहेको छ । विश्वकै चौथो अग्लो शिखरको सूचीमा पर्ने ल्होत्सेका लागि शुक्रबारसम्म १ सय ४ जनालाई अनमुति दिइएको छ । सगरमाथा सँगैको अर्को हिमाल नुब्चेका लागि २३ जनालाई अनुमति दिइएको छ । निर्देशक आचार्यका अनुसार सलामी दस्तुर तिर्ने आरोहण दलका सदस्यबाहेक उनीहरुलाई सघाउने उच्च क्षेत्रका कामदार, सरदार, गाइड गरी करिब १ हजार जना अहिले ५३ सय ८० मिटर उचाइमा पर्ने आधार शिविरमा छन् ।

यस सिजनका लागि हिमाल चुलीमा रोप (डोरी) को सहायताले दोस्रो शिविरदेखि माथि बाटो बनाउँदै गइरहेका गाइडहरु ७ हजार मिटरमाथि डोरी टाँग्दै पुगिसकेको जानकारी विभागले पाएको छ । उसले मे पहिलो हप्ता (वैशाख १८) पछि मात्रै आरोहण हुन सक्ने अनुमान गरेको छ । आधार शिविरमा कोरोना संक्रमण फैलिन नदिन हाल मास्क अनिवार्य गर्न थालिएको छ । त्यस्तै विभागले आरोहणका क्रममा भीड हुन नदिन यसपटक मौसम अनुकुल भएपछि विभागले जारी गरेका आरोहण अनुमति पत्रको नम्बरको आधारमा आरोहण गर्नुपर्ने नियम तोकेको छ । यसअघि आरोहण अनुमति पत्रका आधारमा आरोहण गर्नुपर्ने नियम थिएन । विभागले खुम्बु क्षेत्रमा रहेका एजेन्सीहरुलाई आपसी सहमती र समन्वयमा एक पटकमा १ सय ५० देखि १ सय ७० जनाको संख्या नबढ्ने गरी आरोहण योजना बनाउन भनेको छ ।

विभागले चौथो शिविरमाथि हिलारी स्टेप र चुचुरोमा भीडभाड नहोस् र कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले संख्या तोकेको जनाएको छ ।

प्रकाशित : वैशाख १०, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?