संक्रमितको अवस्था जटिल

सुदूरपश्चिमका कोभिड अस्पताल र आइसोलेसन भरिन थाले

वैशाख १०, २०७८

अर्जुन शाह, भवानी भट्ट

धनगढी, कञ्‍चनपुर — सुदूरपश्चिममा उपचाररत कोरोना संक्रमितहरूको अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन् । संक्रमण दर बढिरहेकाले नयाँ बिरामीले भर्ना नपाउने अवस्था सिर्जना भएको छ ।

सेती प्रादेशिक अस्पतालअन्तर्गत ५० शय्याको कोरोना अस्पतालमा बिहीबार ३७ जना संक्रमित उपचाररत छन् । अधिकांशको अवस्था जटिल रहेको सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । उनका अनुसार ३ जना भेन्टिलेटरमा र १० जना आईसीयूमा छन् । १० जनालाई अक्सिजन दिनुपरेको छ । ‘सामान्य अवस्थाका विरामीलाई भर्ना लिनै नसक्ने अवस्थामा पुगेका छौं,’ उनले भने । भर्नारत बिरामीमध्ये ६ जनामात्र ५० वर्ष उमेर पुगेका छन् भने सबै ४० वर्षमुनिका छन् । ‘बिरामीको संख्या दिनदिनै बढ्दै गएको छ,’ श्रेष्ठले भने, ‘बिरामीको संख्या बढेर कुन दिन सेवा नै अस्तव्यस्त होला भन्ने चिन्ता भइसक्यो ।’

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. नीराजनदत्त शर्मा पौडेल अहिलेको संक्रमण निकै जटिल रूपमा देखापरेको बताउँछन् । अधिकांश बिरामीमा निमोनिया देखिएको र फोक्सोको तल्लो भागमा बढी असर पुगेको उनले बताए । ‘हेल्थ सिस्टम नै कोल्याप्स हुने अवस्था आइसक्यो,’ डा. पौडेलले भने, ‘संक्रमितको उपचारमा कठिनाइ भइरहेको छ । जनशक्ति र भौतिक पूर्वाधारको निकै कमी छ ।’ यो अस्पताल सुदूरपश्चिममा रेफरल सेन्टरका रूपमा रहेको छ । चिकित्सकहरूका अनुसार सम्बधित निकायले समयमै पूर्वतयारी नगर्दा अवस्था भयावह हुन सक्ने जोखिम बढेको छ । ‘अक्सिजन प्लान्ट, आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्ति व्यवस्थापन, पर्याप्त बेडलगायतका पूर्वाधार समयमै तयारी गर्नुपर्ने थियो,’ डा. पौडेलले भने, ‘हेलचेक्र्याइँ बढी भयो, अधिकांशले मास्क लगाउनै छाडे, भ्याक्सिन लगाएपछि कोरोना हुँदैन भन्ने भ्रम भयो धेरैलाई । खुला सीमा भएकाले भारतमा दोस्रो चरणको लहर सुरु हुन लाग्दा हामीले पर्याप्त ध्यान दिनैपर्ने थियो । त्यो हुन नसक्दाको परिणाम अहिले भयावह अवस्था आउँदै छ ।’ 

बिहीबारसम्म सुदूरपश्चिममा सक्रिय संक्रमित संख्या ४ सय २० पुगेको छ । १ सय ९८ जना आइसोलेसनमा छन् । हालसम्म ५९ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा रहेका १८ वटा सरकारी स्वास्थ्य संस्थामा भेन्टिलेटर २७ र आईसीयू ३७ रहेका छन् । तीमध्ये १५ आईसीयू र १० वटा भेन्टिलेटर संख्या सेती अस्पतालमा छन् । पहाडी जिल्लाका अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति अभाव छ । संक्रमण बढेसँगै प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० शय्याको कोरोना अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । यसअघि धनगढी र महेन्द्रनगरमा ५० शय्याको अस्पताल निर्माण भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार धनगढीमा ५० शय्याको अर्को कोरोना अस्पताल निर्माण सुरु गरिएको छ । अक्सिजनको अभाव हुन सक्ने सम्भावनालाई ख्याल गर्दै नौवटै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । कार्कीका अनुसार भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर र बैतडीमा जिल्ला अस्पतालअन्तर्गत आइसोलेसन निर्माण कार्य सुरु गरिएको छ । सुदूरपश्चिममा हाल धनगढी, महेन्द्रनगर र डडेलधुरामा मात्रै अक्सिजन प्लान्ट छ । 

प्रदेशका चार जिल्लाका सीमा नाकाबाट दैनिक एक हजारभन्दा बढी भित्रिइरहेका छन् । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट सीमा नाकाबाट बिहीबार १ हजार २ सय ४२ जना भित्रिएका छन् । तीमध्ये ६ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ७६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयका तथ्यांक सहायक डीएन गिरीले बताए ।

अस्पताल र आइसोलेसन केन्द्र भरिए

संक्रमितको संख्या बढ्दै गएपछि कोभिड अस्पताल र आइसोलेसन केन्द्र भरिन थालेका छन् । महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको कोभिड अस्पताल र महेन्द्रनगरमै स्वास्थ्य कार्यालयले व्यवस्थापन गरेको आइसोलेसन केन्द्र दुवै भरिएका छन् । महाकाली अस्पतालको कोभिड अस्पतालमा ३३ र आईसीयूमा ५ गरी ३८ जना संक्रमितको उपचार भइरहेको छ । महेन्द्रनगर बजारमै रहेको अर्को आइसोलेसन केन्द्रमा ५४ जना संक्रमितलाई राखिएको छ । यहाँ ६० बेडको क्षमता हो । 

‘कोभिड अस्पताल र आइसोलेसन केन्द्र दुवै भरिइसकेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘संक्रमणको दर हेर्दा अब बिरामी राख्ने ठाउँ छैन ।’ उनका अनुसार अहिले कञ्चनपुरमा एन्टिजेन परीक्षण गरेका सक्रिय संक्रमित २ सय ७४ र पीसीआर परीक्षण गराएका सक्रिय संक्रमितको संख्या १ सय ९ छ । ‘अधिकांश संक्रमित होम आइसोलेसनमा छन्,’ भट्टले भने, ‘लक्षण देखिएका संक्रमित बढी देखिन थालेकाले आइसोलेसन केन्द्र र कोभिड अस्पतालमा ठाउँ नहुँदा झनै समस्या हुन सक्छ ।’ गत वर्षझैं नाकाबाट सोझै क्वारेन्टाइन र एन्टिजेन पोजिटिभ देखिएकालाई सम्बन्धित स्थानीय तहको आइसोलेसनमा राख्ने व्यवस्था गर्न सके केही सहज हुने उनले बताए । 

कञ्चनपुरमा बिहीबार ५४ जनामा संक्रमण पुष्टि भएको छ । गड्डाचौकी नाकामा मात्रै २ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको छ । महाकाली अस्पतालमा पीसीआर परीक्षण गराएका २४ मध्ये १३ मा संक्रमण देखिएको छ । ‘संक्रमणको दर निकै बढी छ, तर त्यसअनुसारको व्यवस्थापन हुन सकेन,’ भट्टले भने । महाकाली अस्पतालमा ६ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । जसमध्ये ५ जना आईसीयूमै उपचाररतमा संक्रमण पुष्टि भएको हो । ७ जनालाई विशेष निगरानीमा राखेर उपचार भइरहेको छ ।

संक्रमितमा श्वासप्रश्वास र निमोनियालगायतका समस्या देखिएकाले जोखिम अझ बढी भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘लक्षणसहितका र स्वास्थ्य समस्या भएका बिरामी बढ्दै छन्,’ महाकाली अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘अक्सिजनको अभाव भएका बिरामी पनि धेरै छन् ।’ कोभिडका बिरामी हेर्नेमध्ये २ जनालाई पनि संक्रमण देखिएको छ । अहिले नाकामा संक्रमित भेटिने दर १० देखि १२ प्रतिशत छ । पीसीआर परीक्षणमा कुनै दिन त शतप्रतिशतमा संक्रमण देखिन थालेको छ । भारतबाट घर फर्किनेहरू सोझै घर जाने गरेका कारण पनि समुदायमा संक्रमण तीव्र गतिमा फैलिइरहेको देखिन्छ । 

कोरोना खोपकोरोना भाइरस

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully