१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नाकाहरूमा अनियन्त्रित आवागमन

 हेल्थ डेस्क छलेर लुकीछिपी प्रवेश, आइसोलेसन सुविधा नभएपछि संक्रमित सरासर घरतिर, छैन कन्ट्याक्ट ट्रेसिङ 
प्रदेश ब्युरो

काठमाडौँ — भारतमा संक्रमण चुलिएसँगै नेपाल छिर्नेको भीड बढेपछि सीमा नाकामा परीक्षण र संक्रमण देखिएकाको व्यवस्थापन सरकारको नियन्त्रणभन्दा बाहिर पुग्न थालेको छ । आइसोलेसन सेन्टरको सुविधा नभएकाले संक्रमण पुष्टि भएकाहरू सिधै घर पुग्ने गरेका छन् । मुख्य नाकामा परीक्षण गर्न खोजिए पनि हेल्थ डेस्क छलेर प्रवेश गर्नेहरू थुप्रै देखिन्छन् । खुला सीमा भएकाले जहाँसुकैबाट नेपाल छिर्नेको लर्को छ । संक्रमण पुष्टि भएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङसमेत छैन ।

नाकाहरूमा अनियन्त्रित आवागमन

मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रमा अव्यवस्थित रूपमा भारत आउजाउले संक्रमणको जोखिम झन् बढेको छ । विराटनगर जुटमिल दक्षिण, दरहैया, मटेरुवा तथा इस्लामपुरस्थित दशगजाबाट सुरक्षाकर्मीको अगाडिबाटै आउजाउ भइरहेको छ । किनमेलका लागि दिनहुँ हजारौं व्यक्ति भारतीय बजार जोगबनी र अन्य सहर आउजाउ गर्ने गरेको स्थानीय सुमन लामाले बताए । विराटनगरको बजार क्षेत्र र सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज प्रयोग गर्नेजस्ता मापदण्डसमेत अपनाएको देखिन्न । विराटनगरस्थित रानी नाकाबाट वैशाख १ देखि बिहीबारसम्म १ सय ५ जना मात्र औपचारिक रूपमा प्रवेश गरेका छन् । जसमध्ये ९ जनामा संक्रमण पुष्टि भएको रानी नाका हेल्थ डेस्कका संयोजक डा. कमलकिशोर यादवले बताए ।

दरहैयास्थित रेडक्रस मोरङको हेल्थ डेस्कमा खटिएका सञ्जय कामतका अनुसार यहाँबाट दैनिक २ सय ५० देखि ३ सय जना भारतको दक्षिणी प्रान्तबाट आउने गरेका छन् । ‘हामी एक ठाउँ बसेका छौं, तर खुला सीमाको फाइदा उठाउँदै दशगजाबाट मानिस आउने–जाने गरिरहेका छन्,’ उनले भने । संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पनि नभएकाले थप संक्रमणको जोखिम बढाएको छ । प्रदेश १ सरकारले कन्ट्याक्ट ट्रसिङ सुरु गर्न सकेको छैन । उद्योगी व्यवसायीले नै मापदण्ड नअपनाउने गरेकाले महानगरमा संक्रमणको भयावह अवस्था सिर्जना भइसकेको विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

संक्रमितको संख्या बढ्दै गएकाले बजार र सीमामा सतर्कता अपनाउनुपर्ने कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासले बताए । अहिलेकै अवस्था रहे वैशाख अन्त्यसम्म महानगरका साथै प्रदेशमा कोरोना संक्रमितको संख्या अत्यधिक बढ्ने उनको भनाइ छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले आइतबार बसेको प्रदेशस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकले इलामको पशुपतिनगर, झापाको भद्रपुर र काँकडभिट्टा, विराटनगरको रानी र सुनसरीको भन्टाबारी नाकाबाट मात्रै स्वास्थ्य परीक्षण गरेर भारतबाट प्रवेश गर्न दिने निर्णय भएको बताए ।

बंगलादेशबाट फर्किएका नेपाली विद्यार्थीहरुको लगत राख्दै पूर्वी नाकामा खटिएका सशस्त्र प्रहरी । तस्बिर : पर्वत पोर्तेल/कान्तिपुर

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सीमामा खटिएका सुरक्षाकर्मीलाई तोकिएको नाकाबाहेक अन्यत्रबाट कसैलाई पनि आवतजावत गर्न नदिन निर्देशन दिइसकेको बताए । विराटनगर महानगर प्रमुख भीम पराजुलीले शुक्रबार महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकले निर्णय गरी कडाइका साथ कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि काम अघि बढाउने बताए ।

सरकारको निर्णयअनुसार पूर्वी नाका काँकडभिट्टामा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको तयारी थालिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले होल्डिङ निर्माणका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यसँग बिहीबार छलफल गरिएको बताए । ‘होल्डिङ सेन्टर सेनाले सञ्चालन गर्छ,’ उनले भने, ‘त्यही कारण पहिलेझैं स्कुलको मैदानमै सेन्टर राखिनेछ ।’ होल्डिङ सेन्टर निर्माणका लागि प्रदेश सरकारले बजेट र स्रोत साधनको व्यवस्थापन गर्ने जनाइएको छ । यहाँ भारतबाट आएका नेपालीलाई राखेर एन्टिजेन या पीसीआर परीक्षण गरेर मात्रै घर फर्काइनेछ ।

किनमेलमा कडाइ

विभिन्न बहानामा भारतीय बजारमा किनमेलका लागि जाने स्थानीयलाई शुक्रबारदेखि पूर्ण रूपमा बन्देज गर्न प्रजिअ तिम्सिनाले बिहीबार सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मेची पुलमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक नारायण गौतमले विभिन्न बहाना गरेर भारत जाने क्रम घट्न थालेको दाबी गरे । मुख्य नाकामा रोके पनि दायाँबायाँको खुला नाकाबाट सर्वसाधारण किनमेललगायतका कामका लागि भारतीय बजार पुग्ने गरेको गौतमले जनाए ।

दिल्ली, मुम्बई, चेन्नाईलगायतका भारतीय सहरमा संक्रमणको दोस्रो चरण तीव्र बनेपछि त्यहाँ रहेका नेपाली श्रमिक, विद्यार्थीलगायत धमाधम घर फर्किन थालेका छन् । बंगलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पनि फर्किने क्रम बढेको छ । दैनिक करिब ३ हजार जना भारतबाट फर्किने र २ हजारजति उतै जाने गरेका सुरक्षा स्रोतको भनाइ छ । मेचीनगर स्वास्थ्य शाखाका अनुसार करिब तीन साताभित्र २ सय ३७ जनाको एन्टिजेन परीक्षणमा २० जनामा संक्रमण पाइएको छ । पोजिटिभ आएकालाई प्रशासनको सहयोगमा सम्बन्धित जिल्ला पठाइएको छ भने स्थानीयलाई होम क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएकालाई ७२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य गरिए पनि कतिपय रिपोर्टबिनै प्रवेश गरिरहेका छन् ।

विराटनगर महानगरमा बिहीबार ९७ जना संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या २ सय ७६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का आधा संक्रमित महानगरमै रहेकाले अवस्था भयावह बन्दै गएको हो । संघीय सरकारले सभा, सम्मेलन, भीडभाड हुने क्षेत्र, विद्यालय बन्द गर्नुका साथै अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्किन सूचना जारी गरे पनि विराटनगरस्थित सीमावर्ती दशगजा क्षेत्रमा भारतबाट खुलेयाम मानिसको आवागमन भइरहेको छ ।

आवतजावत कायमै

बिहीबार मध्याह्न प्रमुख नाका वीरगन्जको भन्सार क्षेत्र पुग्दा सीमावर्ती भारतको रक्सौलबाट नेपाल भित्रिने अधिकांश यात्रु सहायक बाटो प्रयोग गरिरहेका थिए । नाकाको शंकराचार्य गेट नजिकै हेल्थ डेस्क स्थापना गरिए पनि नेपाल भित्रिने थोरैले मात्र तापक्रम जाँच गराइरहेका थिए । सहायक बाटो प्रयोग गरी वीरगन्जतर्फ गइरहेकालाई नाकामा दुई जना सशस्त्र प्रहरीका जवान तैनाथ रहे पनि रोकटोक गरेका थिएनन् । यो दृश्य नेपाल प्रहरीका एक अधिकृतले देखेपछि तत्काल प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेलाई जानकारी गराए । एसपी पाण्डेले तत्काल सञ्चारबाट नाकामा रहेको इनर्वा प्रहरी चौकीका प्रमुखलाई खेततर्फको बाटोमा ४/५ जना प्रहरी परिचालन गर्न आदेश दिए । प्रहरी पुगेपछि भन्सारको पूर्व हुँदै खेतको बाटो प्रयोग गरी भइरहेको आवागमनलाई रोक लगाइएको थियो ।

नेपालसँग खुला सीमा भएको भारतमा कोरोनाको दोस्रो लहर उच्च दरमा वृद्धि हुँदा सीमावर्ती नेपाली सहर उच्च जोखिममा छन् । सरकारले नाकामा कडाइ गर्न र भारतबाट फर्किएकाको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिए पनि लामो खुला सीमाका कारण रोकथाम तथा नियन्त्रण प्रभावकारी हुन सकेको छैन । प्रदेश २ का आठ वटै जिल्लाको सीमा भारतसँग जोडिएको छ । पर्सामा १ सय ७ किलोमिटर खुला सीमा छ । आठवटै जिल्लाको ४ सय ६४ किलोमिटर भारतसँग खुला सिमाना जोडिएको छ । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले खुला सीमाका कारण केही कठिनाइ भए पनि खेतको बाटो हुने आवागमनमा कडाइ गरिएको बताए । ‘सीमावर्ती क्षेत्रमा वारिपारि गर्ने व्यक्ति धेरै छन्,’ उनले भने, ‘कठिनाइका बाबजुद अवैध आवतजावतमा रोक लगाएका छौं ।’

प्रहरी प्रशासनले आवागमनमा कडाइ गरेको दाबी गरिरहे पनि मुख्य र सहायक बाटोबाट आवतजावत निर्बाध छ । बाराको मटिअर्वा, कब्हीगोठ र सिम्रौनगढमा छोटी भन्सार भए पनि त्यहाँबाट आवतजावत गर्ने व्यक्तिको कुनै किसिमको परीक्षण गर्ने गरिएको छैन । रौतहटको मुख्य नाका गौरको सीमावर्ती बरगिनियास्थित भारतीय सीमा सुरक्षा बलले नाका सिल गरेकाले आवागमन ठप्प भए पनि बन्कुल र महादेवपट्टिबाट आवतजावत भइरहेको छ । हेल्थ डेस्क सञ्चालनमा आए पनि अधिकांश खेतकै बाटोबाट लुकीछिपी प्रवेश गर्छन् । सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक चन्द्रप्रकाश गौतमले आठवटै जिल्लाका कोरोना संकट व्यवस्थापन केन्द्र मातहत रहने सुरक्षा समितिको निर्णयअनुसार सशस्त्र प्रहरी परिचालन भएको बताए । ‘जाँच गरी शंकास्पद व्यक्तिलाई सम्बन्धित पालिकासँगको समन्वयमा पठाउने गरिएको छ,’ उनले भने । मुख्य नाकाबाहेक अन्य बाटोबाट हुने प्रवेशलाई रोक्न फरवार्ड अपरेटिङ बेस (एफओपी) स्थापना गरिएको छ । अवैध आवतजावत नियन्त्रण गर्न समकक्षी भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग पनि समन्वय भइरहेको डीआईजी गौतमले जनाए ।

जनशक्ति अभाव

रूपन्देहीको बेलहिया नाका हुँदै स्वदेश फिर्नेको लर्को रोकिएको छैन । सीमामा खटिएका प्रहरीले लामो दूरीको तथ्यांक मात्र राख्ने गरेका छन् । जिल्ला प्रशासनको समन्वयमा सिद्धार्थनगर नगरपालिकाले दशगजाभित्रै स्वास्थ्यकर्मी खटाएर हेल्थ डेस्क सञ्चालन गरे पनि आवश्यकताअनुसारको स्रोत साधन र जनशक्ति छैनन् । पर्यटकबाहेकका भारतीय समेत पीसीआर रिपोर्टका आधारमा नेपाल आउँछन् ।

पहिलेको तुलनामा मानिसको आवागमन पातलिँदै गएको र नाकामा केही कडाइ रहेको स्थानीय प्रशान्त थापाले बताए । ‘पहिलेजस्तो सहज तरिकाले आउन जान त पाइएको छैन,’ उनले भने, ‘पहिचान र कारण खुलाएपछि भने रोक छैन ।’ हेल्थ डेस्कमा एक जना मात्र ल्याब टेक्निसियन र एक जना ज्वरो नाप्न खटिएका अहेव छन् । प्रशासन, प्रहरीलाई बेलहियाका स्थानीय र सरोकारवाला संस्थाका प्रतिनिधिले नाकाको उचित व्यवस्थापन, स्वास्थ्य प्रोटोकलमा कडाइ गर्न पटकपटक आग्रह गरिरहेको स्थानीय देवराज न्यौपानेले बताए । मुख्य नाकाबाहेक राति मानिस आउन सक्ने चोर बाटोमा समेत निगरानी तीव्र पार्न स्थानीयको सुझाव छ । ‘केही दिनमै नाकाको व्यवस्थापन थप कडा हुने र स्वास्थ्य जाँच प्रभावकारी बनाउने आश्वासन पाएका छौं,’ उनले भने, ‘नाकादेखि ह्वारह्वार मानिस आउने काम रोकिनैपर्छ ।’

प्रशासनबाट पाएको निर्देशनका आधारमा आफूहरूले नाकामा काम गरिरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए । ‘नाका हुँदै आउने नेपालीलाई रोक्न प्रहरीले मिल्दैन,’ उनले भने, ‘मास्क नलगाउनेलाई मास्क लगाउन भन्ने, सेनिटाइजर प्रयोग गराउने आदि काममा प्रहरीले प्रशासनसँग सहकार्य गरिरहेको छ ।’ नगरपालिकाले नाकामा कोभिड चेक जाँचमा अहेव लालमोहन चौधरीलाई खटाएको छ । होल्डिङ सेन्टरमा कर्मचारी नै छैनन् । कुनै मानिस शंकास्पद भएमा नाकाको चेक जाँचलाई रोक्ने, बिरामी होल्डिङ सेन्टरसम्म पुर्‍याउने, एन्टिजेन टेस्ट गर्नुपरेको चौधरीले बताए । बेलहिया नाकाबाट वैशाख १ गतेयता बिहीबारसम्म ३ हजार २ सय १९ मानिस नेपाल प्रवेश गरेकामा १ सय १६ को मात्र एन्टिजेन परीक्षण भएको छ । जसमा ८ जना संक्रमित फेला परेका छन् ।

अस्तव्यस्त उस्तै

कपिलवस्तुको मर्यादापुर नाका सरकारी तथ्यांकमा नाका बन्द रहे पनि व्यावहारिक रूपमा खुला छ । मुख्य बाटोबाट नभएर सहायक बाटोबाट आउजाउ भइरहेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरीले नै सुरक्षा जाँच गरेर पठाउने गरेका छन् । पश्चिम क्षेत्रमा बजार लाग्ने दशगजाबाट आउजाउ गर्नेको घुइँचो देखिन्छ । स्वास्थ्य सतर्कता छैन भने हेल्थ डेस्कसमेत राखिएको छैन । ‘खुला आवतजावतले निकै जोखिम बढेको छ,’ स्थानीय हरिहर यादवले भने, ‘गाउँपालिका, प्रहरी र सशस्त्र सबैले बेवास्ता गरेका छन् । उनीहरूबीच समन्वय नै देखिँदैन ।’

यहाँको कृष्णनगर नाकामा पनि चेक जाँच प्रभावकारी छैन । यो नाकाबाट रोजगारीका लागि भारत गएका नेपाली धमाधम घर फर्किरहेका छन् । कृष्णनगर नाका हुँदै दैनिक ३ सयभन्दा बढी स्वदेश फर्किरहेका छन् । नाकामा कृष्णनगर नगरपालिकाले हेल्थ डेस्क राखे पनि राम्रो व्यवस्थापन नहुँदा जोखिम र चुनौती बढेको छ । शंकास्पद बिरामी जाँच गर्न पीपीई र सुरक्षात्मक सामग्री नहुँदा गाह्रो भइरहेको सुरक्षाकर्मीले गुनासो गरे । चैत १७ देखि नाकामा हेल्थ डेस्क राखेर काम गर्न थालिएको हो । एक सातामा नेपाल प्रवेश गरेका ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो । उनीहरूलाई होम आइसोलेसन पठाइएको कृष्णनगर नगरपालिकाले जनाएको छ । तर, बाहिरी जिल्लाका संक्रमित यहाँ पहिचान भएपछि उनीहरूलाई घर पठाउन कठिन भएको इप्रका कृष्णनगरका निरीक्षक सुकदेव पौडेलले बताए । एन्टिजेन परीक्षणमा संक्रमित भेटिएका प्यूठान र रूपन्देहीका दुई जना आफ्नै तरिकाले घर गएका छन् । ‘उनीहरू कोकोसँग हेलमेल भए, कसले हेर्ने ?’ एक स्वास्थ्यकर्मीले भने, ‘नगरपालिकाले हेल्थ डेस्कमा स्वास्थ्यकर्मी पनि कम खटाएको छ । दुई जनाले तीन सिफ्टमा काम गर्दा कसरी भ्याउनु ?’

दार्चुला खलंगास्थित पुलघाट नाकाको झोलुंगे पुलमा भारतबाट घर फर्किरहेका नेपालीहरु । तस्बिर: मनोज बडू/कान्तिपुर

उता, सुदूरपश्चिममा मुख्य चार नाकाबाट दैनिक एक हजारभन्दा बढी भित्रिइरहेका छन् । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट नाकाबाट बिहीबार मात्रै १ हजार २ सय ४२ जना भित्रिए । तीमध्ये ६ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ७६ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक सहायक डीएन गिरीले बताए । संक्रमण दर बढेसँगै सीमामा कडाइ गराइएको निर्देशनालयले दाबी गरेको छ ।

सशस्त्र प्रहरी गण धनगढीका गणपति दीपेन्द्र कुँवरका अनुसार सीमामा अत्यावश्यकबाहेक आवतजावत रोक लगाउन सुरु गरिएको छ । सीमामा हेल्थ डेस्क सुदृढ गरेर सबैलाई स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग अनिवार्य गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । उनका अनुसार भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर र बैतडी जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत आइसोलेसन सेन्टर निर्माण पनि सुरु गरिएको छ ।

भीड नियन्त्रण गर्नै कठिन

बाँकेको जमुनाह नाकाबाट एकै दिन पाँच हजार जनासम्म भित्रिन थाले पनि सीमामा व्यवस्थापन सुस्त र फितलो छ । परीक्षणका क्रममा संक्रमित देखिएकाहरू आइसोलेसनमा नबसी सिधै घर पुग्ने गरेका छन् । प्रशासन र स्थानीय तहको समन्वय अभावले कोरोनाको जोखिम तीव्र बन्दै गएको छ । ‘भारतबाट बल्लबल्ल घर फर्कर्को छौं,’ सुर्खेतको चिंगाड गाउँपालिकाको–२ रानीबागका धर्मेश खत्रीले भने, ‘नाकाको व्यवस्थापन देख्दा नेपालमा झन् दुःखलाग्दो अवस्था छ ।’ नाकामा रोक्ने मात्र काम भएको र नेपालगन्ज उपमहानगरपालिकाको आइसोलेसन सेन्टरमा बस्न सक्ने अवस्था नरहेको उनले बताए । आइसोलेसन सेन्टरमै सुविधा नभएपछि संक्रमित देखिएका पनि सरासर घर पुग्ने गरेका हुन् ।

जमुनाहस्थित नाकामा नाकामा चैत ११ देखि एन्टिजेन गराउने व्यवस्था भए पनि उनीहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने योजना नहुँदा जटिलता बढ्दो छ । दैनिक पाँच हजारको परीक्षणका लागि नाकामा दुई स्वास्थ्यकर्मी मात्र छन् । जमुनाहस्थित नाकाका इन्चार्ज तथा प्रहरी नायब निरीक्षक विष्णु गिरीले दुई दिनमा १० हजार जना नेपाल प्रवेश गरेको बताए । ‘भित्रनेको संख्या दोब्बरले बढे पनि औषधि उपचारका लागि भन्दै भारत जानेको संख्या उत्तिकै छ,’ उनले भने, ‘आउने र जाने संख्या बराबर हुँदा भीड नियन्त्रण र व्यवस्थापनमा कठिनाइ छ ।’ भारतबाट फर्किनेमा कर्णाली प्रदेशका बढी रहेको उनले बताए । नाकामा होल्डिङ सेन्टर पनि छैन । १० जना प्रहरीले भीड मात्र व्यवस्थापन गरेका छन् ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) ले सीमा नाकामा आउने यात्रुको अभिलेख राख्ने, स्वास्थ्य जाँच गर्ने, लक्षण देखिए १० दिन होम क्वारेन्टाइनमा राख्ने, गम्भीर भए भेरी अस्पतालमा उपचारका लागि पठाउने निर्णय गरेको छ । नाकामा बिहीबार गरिएको २ सय ६९ जनाको परीक्षणमा ३४ जनामा संक्रमण देखिएको छ । पोजिटिभ देखिएकालाई नेपालगन्ज उपमहानगरले व्यवस्थापन गरेको ह्वाइट हाउसमा राखिएको छ । १ सय २० जना बस्न सक्ने आइसोलेसनमा अहिले ११ जना छन् । नेपालगन्ज नाकाबाट भित्रिनेलाई राख्ने योजनाका साथ आइसोलेसन बनाएको नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले बताइन् ।

-देवनारायण साह (मोरङ), पर्वत पोर्तेल (काँकडभिट्टा), भूषण यादव (वीरगन्ज), रूपा गहतराज (नेपालगन्ज), सन्जु पौडेल (लुम्बिनी), मनोज पौडेल (कपिलवस्तु) र अर्जुन शाह (धनगढी)

प्रकाशित : वैशाख १०, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?