बाँकेमा सातामै साढे ७ सय संक्रमित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा सातामै साढे ७ सय संक्रमित

रूपा गहतराज, ठाकुरसिंह थारु, सन्जु पौडेल

नेपालगन्ज/लुम्बिनी — बाँकेमा केही दिनयता कोरोना संक्रमण दर ह्वात्तै बढे पनि सतर्कता अपनाइएको छैन । बजार, पसल, होटल तथा खाजाघरलगायतमा भीड उस्तै छ । मास्क लगाउनेको संख्या न्यून छ ।


फाट्टफुट्ट सुरक्षाकर्मी मुख्य चोकहरूमा तैनाथ रहे पनि मास्कबिना हिँड्नेलाई कुनै रोकटोक छैन । प्रशासनले मास्कबिना हिँड्नेलाई कारबाही गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको देखिँदैन । ‘एक जनाले सतर्कता अपनाएर भएन,’ किनमेलका लागि बजार पुगेका नेपालगन्ज–१२ बेलासपुरका नितेश थापाले भने, ‘मास्क नलाउने र सामाजिक दूरी पालना नगर्नर्ले जोखिम बढाए ।’

अस्पतालजस्तो संवेदनशील स्थानमा पनि सामाजिक दूरीको पालना गरिएको देखिँदैन । भेरी अस्पतालमा पीसीआर जाँच गराउन आएकाहरू नै ठेलमठेल गर्दै कतिपय लाइनमा त कतिपय गुजुमुज्ज परेर बसेका देखिए । जिल्लामा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण बढ्दै गएपछि कोरोना परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको छ । यता, अस्पतालमा बहिरंग सेवा (ओपीडी) यथावत् रहेकाले अन्य बिमारीलाई पनि संक्रमणको जोखिम बढेको छ । केही स्वास्थ्यकर्मी आफैं संक्रमित भएर आइसोलेसनमा छन् ।

तीन दिनयता मात्रै भेरी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी १२ जनामा संक्रमण पुष्टि भएको छ । जसका कारण अस्पतालले ‘रुटिङ’ शल्यक्रिया तत्कालका लागि रोकेको छ । अन्य सेवा भने यथावत् छन् । अस्पतालको कोभिड आइसोलेसनमा जनशक्ति अभाव खड्किएको छ । ‘अस्पताल आफैंले थप जनशक्ति पूर्ति गर्न सक्दैन, मौजुदा जनशक्तिले संक्रमितको उपचार गर्न सम्भव छैन,’ भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले भने, ‘त्यसका लागि प्रदेश र संघीय सरकारसँग जनशक्ति व्यवस्थापनको पहल गर्न भनेका छौं ।’

आइसोलेसनमा एउटै नर्स ५–७ जना बिरामी हेर्न बाध्य छन् । एक नर्सिङ स्टाफले एक बिरामीलाई मात्रै हेर्नुपर्ने हो । ‘अन्य बिरामी भएको भए एउटै नर्सिङ स्टाफले १५–२० जनासम्म बिरामी हेर्न सक्थे,’ अस्पतालका फिजिसियन डा. संकेत रिसालले भने, ‘तर कोभिडका बिरामी संवेदनशील हुन्छन् । उनीहरूलाई अक्सिजन दिइरहनुपर्छ । सुईबाट औषधि दिनुपर्ने हुन्छ । ज्वरो मापनदेखि शरीरमा अक्सिजनको मात्रासमेत निगरानी गरिरहनुपर्छ । त्यो एउटै व्यक्तिबाट सम्भव छैन ।’ डा. रिसालका अनुसार आइसोलेसनमा हाल ९० संक्रमित छन् । तीमध्ये ४७ जनाको अवस्था गम्भीर छ । ८ जना भेन्टिलेटरमा छन् । बाँकी लक्षणसहितका संक्रमितको उपचारमा ४७ जना स्वास्थ्यकर्मी खटिएका छन् ।

भेरी अस्पतालको आइसोलेसन लुम्बिनी प्रदेश सरकार मातहत छ । यहाँ प्रदेश सरकारले अस्थायी र करार सेवामा ४७ जना स्वास्थ्यकर्मी खटाएको छ, जसमा ३९ जना नर्स, ६ जना मेडिकल अधिकृत र २ जना कन्सल्टेन्ट फिजिसियन छन् । ‘प्रदेश सरकारले करारमा खटाएका जनशक्तिलाई अन्य डिर्पाटमेन्टमा परिचालन गरियो,’ मेसु थापाले भने, ‘अस्पतालका दक्ष जनशक्तिलाई कोभिड आइसोलेसनमा खटाएका छौं । तैपनि जनशक्ति पर्याप्त छैनन् ।’ उनका अनुसार अन्य भौतिक पूर्वाधार र उपकरण भने अस्पतालमा उपलब्ध छन् । सबै शय्यामा अक्सिजन पाइप जोडिएको छ । १५ वटा भेन्टिलेटर छन् । गएको वर्ष संक्रमितको संख्या बढेपछि संक्रमितकै लागि १ सय ४२ शय्या व्यवस्था गरिएको थियो । ‘अस्पतालबाट हुने जोखिम कम गर्न सामान्य अवस्थाका सुत्केरीदेखि लक्षण नदेखिएका संक्रमितलाई स्थानीय तहमै उपचार गराउनुपर्‍यो,’ मेसु थापाले भने, ‘अनावश्यक रूपमा अस्पताललाई भार थप्ने काम गर्नुभएन ।’

जिल्लामा पछिल्लो एक सातामै साढे ७ सय संक्रमित थपिएका छन् । तर स्थानीय तहले अझै क्वारेन्टाइन र आइसोलेसन बनाउन चासो दिएका छैनन् । होम आइसोलेसनमा बसेकाको निगरानी गरिएको छैन । चैत ११ देखि आइतबारसम्म नाकामा भारतबाट आएकाको मात्रै परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा नआए बिरामीको चाप थेग्न नसकेर स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने भेरी अस्पतालले चेतावनी दिएको छ । पछिल्लो समय शंकाका आधारमा पीसीआर परीक्षण गर्दा लगभग सबैजसोमा कोरोना देखिएपछि अस्पताल प्रशासनले यस्तो चेतावनी दिएको हो । ‘यसैगरी संक्रमण बढ्ने हो भने अस्पतालले थेग्न सक्ने अवस्था रहँदैन । स्वास्थ्य प्रणाली नै फेल हुन सक्छ,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले भने ।

यस क्षेत्रको ठूलो र सुविधायुक्त मानिएको यो अस्पतालमा संक्रमितका लागि छुट्याइएका सबै शय्या भरिइसकेका छन् । नयाँ संक्रमितलाई भर्ना लिन छाडिएको छ । यहाँ दैनिक एक सयभन्दा बढी संक्रमित थपिँदै गएका छन् । मृत्युदर पनि बढ्न थालेपछि अस्पतालले सतर्कता अपनाउन आग्रह गरिरहेको छ । तर त्यसको पालनामा अधिकांशले चासो दिएको पाइँदैन ।

प्रकाशित : वैशाख ७, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन्

रूपा गहतराज

नेपालगन्ज — पहिलो चरणको कोरोना महामारीका बेला उनी गर्भवती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् । 

गर्भ आठ महिनाको भएपछि सुरक्षित प्रसूतिका लागि जागिर छाडिन् । स्वस्थ छोरीलाई जन्म दिएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क थिइन् । सुत्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती गइन् । उनै वलीको सोमबार कोरोना संक्रमणका कारण निधन भएको छ ।

‘तुल्सीपुरले घोराही पठायो । घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भने, ‘समयमै उपचार भएको भए बाँच्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै नपाएर ज्यान गुमाउनुपर्‍यो ।’ विनय सवारीचालक हुन् । आफ्नो गाडी आफैं चलाउने भएकाले विनय र अनिशाबीच छोरी ६/७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्लाह थियो । अचानक पत्नी गुमाउनुपर्दा विनय स्तब्ध छन् । नेपालगन्जमा सोमबारै पत्नीको दाहसंस्कार सकेर उनी तीन महिनाकी छोरी स्याहार्न दाङ फर्किएका छन् । उनी आफैं पनि संक्रमित छन् ।

छोरीमा अहिलेसम्म संक्रमणको लक्षण नदेखिएको उनले बताए ।

अनिशाले गत फागुनमा छोरीलाई जन्म दिएकी हुन् । माइतीमा बुबालाई कोरोना संक्रमण पुष्टि भयो । केही दिनपछि उनकी आमालाई पनि संक्रमण देखियो । आमालाई नेपालगन्जमा ल्याइयो । बिस्तारै अनिशालाई पनि रुघाखोकीले च्याप्दै गयो । आमाबुबाको स्वास्थ्यको चिन्ता गरिरहेकी उनले आफूलाई भएको बिसन्चोबारे भेउ नै पाइनन् ।

गत चैत २८ मा रुघाखोकीले निकै च्याप्दै गएपछि उनी एक निजी क्लिनिकमा चेकअपका लागि पुगेकी थिइन् । डाक्टरले पीसीआर गर्न सुझाए । आमाको स्वास्थ्य अवस्थाप्रति चिन्तित उनले आफ्ना लागि हतार गरिनन् । ‘सामान्य रुघाखोकी हो भन्दै औषधि खाइछन्, चैत ३१ गते दाइको फोन आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आइसोलेसनमा ल्याएर राख्यौं,’ आफन्त दोर्ण वलीले भने, ‘ढिलो पुगेकाले त्यो दिन पीसीआर गर्न पाइएन । फेरि राप्ती लाइफकेयर हस्पिटलमा लगेर अक्सिजन दिएर राख्यौं ।’ गत बुधबार नेपालगन्जको मेडिकल कलेजमा पीसीआर गर्दा कोरोना देखिएपछि भने उनको उपचार भेरी अस्पताल नेपालगन्जमा सुरु गरिएको थियो । ‘अवस्था क्रिटिकल नै थियो । भेन्टिलेटरमा उपचार गराइरहेका थियौं,’ भेरी अस्पतालका मेसु डा.प्रकाश थापाले भने, ‘६ दिनदेखि उपचारमा हुनुहुन्थ्यो तर बचाउन सकिएन ।’

राप्ती लाइफ केयर नर्सिङ क्याम्पसमा नर्सिङ पढेकी अनिशाले पढाइ सकेलगत्तै जागिर खाएकी थिइन् । छोरीको वियोगबीच पत्नीको भेन्टिलेटरमा उपचार गराइरहेका अनिशाका पिता सन्तोष वली पीडामै छटपटाइरहेका छन् । ‘छोरो लमहीको बेलझुन्डी अस्पतालमा उपचाररत छ । छोरीलाई कोरोनाले लग्यो,’ उनले भने, ‘दैवले पनि एउटै मान्छेलाई कति चुट्न सकेको ?’

प्रकाशित : वैशाख ७, २०७८ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×