कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन्

रूपा गहतराज

नेपालगन्ज — पहिलो चरणको कोरोना महामारीका बेला उनी गर्भवती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् । 

अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन्

गर्भ आठ महिनाको भएपछि सुरक्षित प्रसूतिका लागि जागिर छाडिन् । स्वस्थ छोरीलाई जन्म दिएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क थिइन् । सुत्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती गइन् । उनै वलीको सोमबार कोरोना संक्रमणका कारण निधन भएको छ ।

‘तुल्सीपुरले घोराही पठायो । घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भने, ‘समयमै उपचार भएको भए बाँच्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै नपाएर ज्यान गुमाउनुपर्‍यो ।’ विनय सवारीचालक हुन् । आफ्नो गाडी आफैं चलाउने भएकाले विनय र अनिशाबीच छोरी ६/७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्लाह थियो । अचानक पत्नी गुमाउनुपर्दा विनय स्तब्ध छन् । नेपालगन्जमा सोमबारै पत्नीको दाहसंस्कार सकेर उनी तीन महिनाकी छोरी स्याहार्न दाङ फर्किएका छन् । उनी आफैं पनि संक्रमित छन् ।

छोरीमा अहिलेसम्म संक्रमणको लक्षण नदेखिएको उनले बताए ।

अनिशाले गत फागुनमा छोरीलाई जन्म दिएकी हुन् । माइतीमा बुबालाई कोरोना संक्रमण पुष्टि भयो । केही दिनपछि उनकी आमालाई पनि संक्रमण देखियो । आमालाई नेपालगन्जमा ल्याइयो । बिस्तारै अनिशालाई पनि रुघाखोकीले च्याप्दै गयो । आमाबुबाको स्वास्थ्यको चिन्ता गरिरहेकी उनले आफूलाई भएको बिसन्चोबारे भेउ नै पाइनन् ।

गत चैत २८ मा रुघाखोकीले निकै च्याप्दै गएपछि उनी एक निजी क्लिनिकमा चेकअपका लागि पुगेकी थिइन् । डाक्टरले पीसीआर गर्न सुझाए । आमाको स्वास्थ्य अवस्थाप्रति चिन्तित उनले आफ्ना लागि हतार गरिनन् । ‘सामान्य रुघाखोकी हो भन्दै औषधि खाइछन्, चैत ३१ गते दाइको फोन आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आइसोलेसनमा ल्याएर राख्यौं,’ आफन्त दोर्ण वलीले भने, ‘ढिलो पुगेकाले त्यो दिन पीसीआर गर्न पाइएन । फेरि राप्ती लाइफकेयर हस्पिटलमा लगेर अक्सिजन दिएर राख्यौं ।’ गत बुधबार नेपालगन्जको मेडिकल कलेजमा पीसीआर गर्दा कोरोना देखिएपछि भने उनको उपचार भेरी अस्पताल नेपालगन्जमा सुरु गरिएको थियो । ‘अवस्था क्रिटिकल नै थियो । भेन्टिलेटरमा उपचार गराइरहेका थियौं,’ भेरी अस्पतालका मेसु डा.प्रकाश थापाले भने, ‘६ दिनदेखि उपचारमा हुनुहुन्थ्यो तर बचाउन सकिएन ।’

राप्ती लाइफ केयर नर्सिङ क्याम्पसमा नर्सिङ पढेकी अनिशाले पढाइ सकेलगत्तै जागिर खाएकी थिइन् । छोरीको वियोगबीच पत्नीको भेन्टिलेटरमा उपचार गराइरहेका अनिशाका पिता सन्तोष वली पीडामै छटपटाइरहेका छन् । ‘छोरो लमहीको बेलझुन्डी अस्पतालमा उपचाररत छ । छोरीलाई कोरोनाले लग्यो,’ उनले भने, ‘दैवले पनि एउटै मान्छेलाई कति चुट्न सकेको ?’

प्रकाशित : वैशाख ७, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?