अस्पताल चहार्दाचहार्दै गयो ज्यान

सोमबार थपिए १२८१ संक्रमित   
रुपन्देहीमा २४ घण्टामै कोरोनाले ६ को मृत्यु
डिल्लीराम खतिवडा

उदयपुर — अस्पतालले भर्ना लिन नमानेपछि उपचार नपाई कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका–६ देउरालीकी महिलाको कोसी अस्पतालमा मृत्यु भएको हो । एउटा अस्पतालले अर्को र अर्कोले अर्कोमा गर्दागर्दै एम्बुलेन्समा अक्सिजन सकिएको थियो, पाँचौं अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको हो ।

अस्पताल चहार्दाचहार्दै गयो ज्यान

उपचार सुरु गर्नुपूर्व एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको आफन्तले बताए । आइतबार श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य प्रारम्भिक उपचार गरेर थप उपचारका लागि उनलाई विराटनगर लगिएको थियो । सुरुमा एम्बुलेन्समै अक्सिजन दिएर विराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याइएको एम्बुलेन्स चालक मोहम्दा राजाले बताए ।

‘गोल्डेनमा भर्ना गर्नुपहिले एन्टिजेन परीक्षण गरियो,’ उनले भने, ‘रिपोर्टमा पोजिटिभ आयो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले विराटनगर मेडिकल कलेज लैजानुस् भने ।’ विराट मेडिकल कलेज पुर्‍याउँदा त्यहाँ आरडीटी परीक्षण गर्दा पोजिटिभ नै देखिएपछि चिकित्सकले भर्ना नगरी फर्काइदिएको महिलाका आफन्तको भनाइ छ ।

अस्पताल चहार्दा चहार्दै एम्बुलेन्समा अक्सिजन सकिएपछि समस्या आएको चालक राजाले बताए । उनका अनुसार त्यसपछि अर्को एम्बुलेन्समार्फत म्याक्स अस्पताल, विराट नर्सिङ होम, नोबेल अस्पताल हुँदै कोसी अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा महिलाको मृत्यु भएको हो । कोसी अस्पतालको आइसोलेसनमा भर्ना गरिए पनि चिकित्सकले उपचारमा आनाकानी गरेपछि उपचार नपाई बिरामीको मृत्यु भएको आफन्तले बताए ।

कोसी अस्पताल प्रमुख डा. चुमनलाल दासले बिरामीको अवस्था अस्पताल आउँदा नै नाजुक भएकाले बचाउन नसकिएको उनको भनाइ छ । महिलाको मृत्युको विषयमा आधिकारिक जानकारी प्राप्त भइनसकेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । ‘तर एन्टिजेन पोजिटिभ भएकी महिलाको मृत्यु भएपछि अस्पतालले लापरबाही गर्नु नहुने हो,’ उनले भने, ‘पीसीआर परीक्षण गरेरमात्रै शव व्यवस्थापन गर्नुपर्नेमा त्यसो नगरिएको जानकारीसम्म पाएको छु ।’

यसैबीच, रूपन्देही संवाददाताका अनुसार जिल्ला २४ घण्टाभित्र ६ संक्रमितले ज्यान गुमाएका छन् । ४ पुरुषको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र २ महिलाको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार आइतबार साँझ साढे ६ बजे कपिलवस्तुको महाराजगन्ज–९ का ५२ वर्षीय पुरुष, राति ९ बजेर १९ मिनेटमा प्यूठानको स्वर्गद्वारी–८ का ४८ वर्षीय पुरुष, सोमबार बिहान २ बजेर २७ मिनेटमा प्यूठानको झिमरुक–४ का ५८ वर्षीय पुरुष र ३ बजेर ५० मिनेटमा रूपन्देहीको बुटवल–१९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरूमध्ये २ जना भेन्टिलेटरमा उपचाररत थिए भने २ जनालाई हाइफ्लो अक्सिजनमा राखिएको थियो । गुरुङका अनुसार यूसीएमएस कोभिड युनिटमा ७ जना भेन्टिलेटरमा, ९ जना आईसीयूमा, १२ जना एचडीयूमा र १९ जना इमर्जेन्सी आइसोलेसन बेडमा उपचाररत छन् । त्यस्तै, बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल–८ की ६५ वर्षीया महिला र बुटवल–१३ की ७९ वर्षीया महिलाको मृत्यु भएको हो । दुवैलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

यस्तै, बर्दिया राजापुर नगरपालिका–१ मा सोमबार एकै परिवारका ६ जनामा कोरोना संक्रमण भएको छ । सोही परिवारका ७३ वर्षीय पुरुषको भेरी अस्पतालमा शनिबार मृत्यु भइसकेको राजापुरका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए । ५ जना घरमै उपचार गराइरहेका छन् । उक्त परिवारका सदस्य भारतको मुम्बईबाट आएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । पालिकामा भारतबाट आएकाहरूको तथ्यांक लिन शिक्षकहरूलाई खटाइएको उनको भनाइ छ ।

उता, दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत २० वर्षीया नर्स अनिशा वलीको पनि कोरोना संक्रमणबाट सोमबार मृत्यु भएको छ । उनी ३ महिनाकी सुत्केरी थिइन् । उदयपुरकी ३५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

भारतबाट आएकी संक्रमितको मृत्यु

भारतबाट फर्किएकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो आएर जिल्ला अस्पताल भर्ना भएकी रुकुम पश्चिम मुसीकोट नगरपालिका–७ की ४० वर्षीया ती महिलामा सोमबार नै संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था शंकास्पद देखिएपछि उनको एन्टिजेन प्रविधिमार्फत स्वाब परीक्षण गरिएको अस्पतालले जनाएको छ । उनी एक साताअघि मात्रै भारतबाट फर्किएको खुलेको अस्पतालका कोरोना फोकल पर्सन ईश्वर रावलले बताए । उनका अनुसार सोमबार अस्पतालमा ५ जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी कोरोना पुष्टिपछि होम आइसोलेसनमा बसेका गोरखाको भीमसेन थापा गाउँपालिका–१ का ७९ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि एक साताअघि उपचारका लागि चितवन मेडिकल कलेज पुगेका उनमा कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । ‘उपचारका क्रममा संक्रमण पुष्टि भएछ, शनिबार परिवारले घर ल्याएर होम आइसोलेसनमा राखेका रहेछन्,’ उनले भने, ‘आइतबार साँझ घरमै मृत्यु भएको छ ।’ मृतकको सोमबार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अन्तिम संस्कार भएको खनालले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १ पीसीआर परीक्षणबाट सोमबार १ हजार २ सय २७ जना संक्रमित फेला परेका छन् । त्यस्तै, ५ सय ४७ एन्टिजेन परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टि भएको छ । दुवै परीक्षणबाट संक्रमितको संख्या १ हजार २ सय ८१ पुगेको छ । हालसम्म नेपालमा २ लाख ८५ हजार ९ सय संक्रमित भइसकेका छन् मृतकको संख्या ३ हजार ९१ पुगेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?