सत्ताको अतृप्त भोकले ओलीले संसद् समाप्त पारे : नेता पाण्डे

‘समुद्र नभएको देशमा पानी जहाज ल्याउँछु भनेर हावा गफ गरेर समय बिताए’

माघ १०, २०७७

पर्वत पोर्तेल

काँकडभिट्टा — नेकपाका दाहाल-नेपाल समूहका स्थायी कमिटी  सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको अतृप्त भोकले संसद्लाई समाप्त पारेको आरोप लगाएका छन् ।

संसद् विघटन र प्रतिगमनविरुद्ध शनिबार दाहाल-नेपाल पक्षको मेचीनगरस्तरीय कार्यकर्ता भेलालाई झापाको धुलाबारीमा सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले संविधान भंग गरेर ओलीले मुलुकलाई अध्यारो सुरुङतिर धकेलेको दाबी गरे । 

‘घेराबन्दीमा परें, काम गर्न दिइएन अनि संसद् भंग गर्न बाध्य भएँ’ भन्ने ओलीको दाबीमा कुनै सत्यता नरहेको पाण्डेको भनाइ थियो । ‘ओलीले बाध्यतामा यो कदम चालेका हैनन्,’ पाण्डेले भने,‘यो नियोजित कदम हो । ओली पहिला देखि पार्टी भत्काउन र क्षति विक्षत गर्न चाहन्थे र संसद्लाई समाप्त गर्न चाहन्थे भन्ने कुरा पछिल्लो कदमले प्रमाणित हुन्छ ।’ पाण्डेले ओलीको कदम सही भन्नेहरु ज्यादै कम रहेको जनाए । 

ओलीले उडन्ते कुरा गरेर तीन वर्ष बिताएकाले ‘काम गर्न पाइनँ’ भन्ने कुराको कुनै दम नभएको उनको भनाइ छ  । ‘समुद्र नभएको देशमा पानी जहाज ल्याउछु भनेर हावा गफ गरेर समय बिताए’, पाण्डेको थपे,‘उनका हावा कुरामा मख्ख पर्दै जनता बसें, तर पानी जहाज आएन ।’ 

नेकपाका नेता राम कार्कीले ७०  वर्ष लामो उपलब्धीमाथि धावा बोलेको बताए । ओलीलाई एक दिन जनताको अदालतमा उभ्याइने दाबी गरे । नेकपा केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालाले ओलीको प्रतिगमनविरुद्ध झापा जुर्मुराउन थालेको जनाए । ‘ओली विरुद्ध झापा एकताबद्ध बन्न  थालेको छ’, कोइरालाले भने ।

संसद् विघटननेकपा विवाद

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully