१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

पार्टीभित्रका हल्लिएका दाँत फुक्लिएर गए,अब हल्लिदैनन् : मुख्यमन्त्री पोखरेल 

माधव अर्याल

पाल्पा — नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हल्लिएका दाँतहरु फुक्लिएर गएको बताएका छन् । उनले पार्टी विभाजनबाट पुष्पकमल दाहाल, माधव कुमार नेपाल लगायतका नेताहरु फुक्लिएका दाँत जस्तै भएको संज्ञासमेत दिए ।

पार्टीभित्रका हल्लिएका दाँत फुक्लिएर गए,अब हल्लिदैनन् : मुख्यमन्त्री पोखरेल 

तानसेन नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्लास्तरीय युवा भेलालाई शनिबार तानसेनमा सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले भने, ‘अब बाँध फुटेको छ । परिवर्तनको बाढी आउँदै छ । हो यो परिवर्तनको बाढीले राष्ट्र निर्माण हुन्छ ।’

नेता पोखरेलले कहिलेकाहीँ नराम्रो घटनाले पनि राम्रो परिणाम ल्याउने बताउँदै अहिलेको घटना बच्चाको दाँत फुक्लेर बलियो दाँत आउन लागेको चित्रण गरे । ‘अहिले हाम्रो पार्टी एकता बच्चाको कच्चा दाँत जस्तै रहेछ,’ उनले भने, ‘जो फुक्लिएको छ, हल्लिएको छ । अब आउने बलियो दाँतहरु हल्लिने छैनन् ।’ उनले हल्लिएका जति सबैलाई निकालेर फाल्दिनु पर्ने बताउँदै उनले त्यसपछि बलियो दाँत निस्केजस्तै केपी ओली नेतृत्वको नेकपा पार्टी बलियो पार्टी निर्माण हुने बताए । ‘हिजोको पार्टी एकतालाई नेताहरुले आफ्नो स्वार्थका लागि प्रयोग गरेका थिए,’ उनले भने, ‘अब हामीले राष्ट्रको स्वार्थका लागि पार्टी एकताको निर्माण गर्दैछौं ।’

उनले केपी ओली नेतृत्वको नेकपाको उद्देश्य पार्टीको विभाजन नभएको बताउँदै एकताको उद्देश्य नै लिएको बताए । उनले जो बाहिर जान्छ त्यो फुक्लेको दाँत जस्तै बाहिर जाने बताउँदै उनले भने, ‘त्यस्ता ठाउँमा नयाँ दाँत उमार्ने छौं । बलियो पार्टी बनाउने छौं । त्यसको जगमा राष्ट्रको जग बलियो बनाउनेछौं ।’ उनले केपी ओलीले लिएको लक्ष्य हासिल गर्नका लागि पार्टी एकतालाई मजबुद बनाएर अघि बढ्नुको विकल्प नभएको बताए । नेता पोखरेलले ओली नेतृत्वको सरकारले जनताका लागि विकास निर्माण, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेको बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ इन्चार्ज महेश बस्नेतले सरकार सञ्चालन गर्दा धेरै अवरोध गरेको र कामै गर्न नदिएकाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनु परेको बताए । नेता बस्नेतले साविक एमालेका ९५ प्रतिशत बढी नेता तथा कार्यकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा रहेको बताउँदै साविक माओवादीका ८०/८५ प्रतिशत नेता तथा कार्यकर्ता पुष्पकमल दाहाल नेतृत्वको साथमा रहेको दाबी गरे ।

उनले साइबर सेना स्याल नभएको बताउँदै अब साइबर सेना सिंह बन्नुपर्ने अवस्था आएको बताए । उनले साइबर सेनाले प्रचण्ड र माधवलाई ठेगान लगाउने समेत बताए । नेकपा केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य, नगर संयोजक रामप्रसाद पोखरेल, युवा नेता तुल बहादुर अधिकारी लगायतले जनताहरु केपी ओली नेतृत्वको नेकपामै साथ रहेको बताए ।

प्रकाशित : माघ १०, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?