भारतमा स्वीकृत कोरोना खोप नेपाललाई सहज

अतुल मिश्र

काठमाडौँ — भारतले आपत्कालीन प्रयोगको मान्यता दिएको कोभिड–१९ विरुद्धका खोप कोभिसिल्ड र कोभ्याक्सिन नेपालका लागि समेत सहज हुने देखिएको छ । तिनलाई कोभाक्स सुविधाबाट सहुलियत दरमा प्राप्त हुने भनिएको खोपभन्दा छिटो ल्याउन पहल सुरु भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीले दाबी गरेका छन् ।

भारतमा स्वीकृत कोरोना खोप नेपाललाई सहज

‘छिमेकी भारतले दुइटा खोपलाई आपत्कालीन मान्यता दिएसँगै हामीकहाँ खोप ल्याउन सहज हुने वातावरण बनेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोपको सहज उपलब्धताका लागि भारत र नेपालबीच उच्चस्तरीय (मन्त्री/प्रधानमन्त्रीस्तरीय) संवाद जारी छ । कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले पनि खोप ल्याउन नेपाल सरकारले भारतसँग गम्भीर कुरा गरेको जानकारी दिए । ‘खोप छिटो ल्याउन सिरम इन्स्टिच्युट अफ इन्डिया, भारत बायोटेक र भारत सरकारसँग कुरा भएको छ,’ उनले भने । पूर्वाधारका दृष्टि नेपालका लागि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोप उपयुक्त देखिएको छ । कोभिसिल्ड र कोभ्याक्सिन दुवै नेपालको राष्ट्रिय खोप कार्यक्रमको कोल्ड चेन अनुकूल छन् ।

सिरम इन्स्टिच्युटले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित एजेडडी १२२२’ खोपलाई भारतमा कोभिसिल्डका नाममा उत्पादन गरिरहेको छ । भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेसनल इन्स्टिच्युट अफ भाइरोलजीसँग मिलेर स्वदेशी खोप ‘कोभ्याक्सिन’ बनाइएको हो । मन्त्रिपरिषद्ले कोभिडविरुद्धको खोपका लागि गुणस्तरीय (सुरक्षित र प्रभावकारी) हुनुपर्ने, यहाँका चिस्यान, भण्डारणलगायतका पूर्वाधारसँग अनुकूल हुनुपर्ने, उपलब्धता र कम लागत हुनुपर्ने मुख्य प्राथमिकता तोकेको छ । मन्त्रिपरिषद्ले तोकेको प्राथमिकताका आधारमा पनि कोभिसिल्ड र कोभ्याक्सिन उपयुक्त देखिएका छन् । सरकारले हाल १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने समूहमा राखेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोपका लागि भारतले सहयोग गर्ने प्रतिबद्घता जनाइरहेको बताए । सरकारले खोप उपलब्धताका लागि भारतलगायतका मुलुकहरूमा पहिल्यै कूटनीतिक नोटसमेत पठाइसकेको छ । ‘सरकारले औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत संशोधन गरेर जुनसुकै बेला सहज रूपमा खोप कार्यक्रम सञ्चालन गर्न सकिने बाटोसमेत खोलिसकेको छ,’ डा. अधिकारीले भने ।

नेपाली स्वास्थ्यकर्मी सामान्य तापक्रममा उपयोग गरिने खोप लगाउन अभ्यस्त भए पनि कोभिड–१९ विरुद्ध खोपका लागि सामान्य प्रशिक्षण अत्यावश्यक हुनेछ । हाल भारतमा उपयोग हुने भनिएको खोप ०.५ मिलिलिटर लगाइन्छ र दोस्रो मात्रा २८ दिनपछि लगाउनुपर्छ । हाल मुलुकका ७२ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप दिने योजना बनाइएको छ ।

नेपालमा ५५ वर्षभन्दा माथिको उमेर समूहमा कोभिड–१९ ले हुने मृत्युदर बढी देखिएको छ । मुलुकभरमा सोमबारसम्ममा २ लाख ६२ हजार २ सय ६२ जनालाई प्रयोगशाला प्रमाणित संक्रमण देखिएको छ । तीमध्ये ९७.३ प्रतिशत निको भइसकेका छन् । कोभिडले १ हजार ८ सय ८५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : पुस २१, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?