काठमाडौँ — इजरायलले अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले बनाएको कोरोना खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । कम्पनीले सोमबार एक वक्तव्यमार्फत इजरायलले कोरोना खोप प्रयोगका लागि अनुमति दिएको बताएको छ ।
‘आजको अनुमति हाम्रो कम्पनी र कोभिड–१९ विरुद्धको विश्वव्यापी लडाइँमा कोशेढुंगा हो,’ मोडर्नाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) स्टिफेन बान्सेलले भनेका छन्, ‘उत्तर अमेरिकाबाहिर मोडर्नाको कोरोना खोपले अनुमति पाएको यो पहिलो हो भने, समग्रमा तेस्रो । म इजरायलको स्वास्थ्य मन्त्रालयको निरन्तरको प्रयासलाई धन्यवाद दिन चाहन्छु ।’
इजरायलले पहिलो चरणमा ६० लाख डोज अर्डर गरेको छ । केही दिनमै इजरायलमा कोरोना खोप आपूर्ति सुरु हुने पनि कम्पनीले जनाएको छ । मोडर्नाको कोरोना खोपलाई पहिलो पटक डिसेम्बर १८ मा अमेरिकाले प्रयोगका लागि अनुमति दिएको थियो । त्यसपछि डिसेम्बर २३ मा क्यानडाले मोडर्नाको खोपलाई अनुमति दिएको थियो । युरोपेली युनियन, सिंगापुर, स्विजरल्यान्डका साथै बेलायतलमा पनि यसको प्रयोगका लागि समीक्षा भइरहेको छ ।
फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप भने डिसेम्बर १९ देखि नै इजरायलमा लगाउन सुरु गरिएको छ ।
इजरायलले द्रुत गतिमा कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने बताएको छ । सोमबार बैंक अफ इजरायलले कोरोना खोप कार्उक्रम सुरु भएपछि त्यहाँ अर्थव्यवस्था ट्रयाकमा आउने अपेक्षा गरेको छ ।
मोडर्नाले सन् २०२१ मा मात्रै ६० करोड डोज कोरोना खोप उत्पादन गर्ने बताएको छ । मोडर्नाले अमेरिकी सरकारलाई १ करोड ८० लाख डोज कोरोना खोप आपूर्ति गरिसकेको छ । अमेरिकाले मोडर्नासँग २० करोड डोज कोरोना खोप किन्ने सहमति गरिसकेको छ । त्यस्तै मोडर्नासँग क्यानडाले ४ करोड डोज कोरोना खोप किन्ने सहमति गरेको छ ।
करिब ३० हजार जनामा चिकित्सकीय परीक्षण गरिएको मोडर्नाको कारोना खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको थियो । यसको एक मात्राको २५ देखि ३७ अमेरिकी डलरसम्म पर्ने बताइएको छ । मोर्डनाको कोरोना खोप भण्डारण र ओसारपसार गर्नका लागि कम्तीमा माइनस २० डिग्री सेल्सियस तापक्रम चाहिने बताइएको छ । उक्त तापक्रममा ६ महिनासम्म कोरोना खोप सुरक्षित रहनेछ ।
