कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बेइजिङमा हजारौंलाई दिइयो खोप

एएफपी

बेइजिङ — चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ ।

बेइजिङमा हजारौंलाई दिइयो खोप

खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरूमा लामबद्ध देखिएका छन् । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरूमा सामुदायिक कार्यकर्ता र बस चालकहरू पनि छन् ।

स्वास्थ्य अधिकारीहरूले चिनियाँ फर्मास्युटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई ससर्त स्वीकृति प्रदान गरिसकेको छ । यस खोपको प्रभावकारिता झन्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ । बेइजिङमा ठूलो संख्यामा मानिस स्थानीय अस्पतालहरू र सामुदायिक स्वास्थ्य केन्द्रहरूमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सीसीटीभीले प्रसारण गरेको छ । स्वास्थ्य अधिकारीहरूले जिम र कारखानाका खाली भवनहरूलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।

चीनले गत वर्ष सन् २०२० मा आपत्कालीन प्रयोगअन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ, जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरू रहेका छन् । अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी सुरु गरेको छ । यसैबीच, बेलायतले पनि सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्युटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ । अस्ट्राजेनेकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो ।

निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एक जना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान सुरु गरिएको छ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट १८ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झन्डै ८ करोड ५० लाख मानिस संक्रमित भएका छन् । संक्रमण दर लगातार वृद्धि हुनुका साथै मानिसको मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ । ब

लायतले पहिलो चरणमा अस्ट्राजेनेकाको खोप ५ लाख ३० हजार डोज उपलब्ध गराउँदै छ । प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढ्दै गएकाले आगामी दिनहरू निकै कठिन रहेको बताउँदै खोप अभियान व्यापक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : पुस २१, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?