७ दिनभित्र उखु किसानको भुक्तानी दिन उद्योग समितिको निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७ दिनभित्र उखु किसानको भुक्तानी दिन उद्योग समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी सो को विवरण समितिमा उलब्ध गराउन निर्देशन दिएको बताए । उनले भने,‘उखु कृषकहरुको भुक्तानी ७ दिन भित्र उद्योग मन्त्रालयले उखु कृषकहरुलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरण सहित अर्को हप्ता समितिलाई जानकारी गराउने ।’

यस्तै, समितिको बैठकले देशभरका श्रमिकहरुले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

सभापति श्रीवास्तवले भने, ‘मन्त्रालयले श्रमिकहरुका विषयमा स्थलगत अध्ययन गरी श्रमिकहरुले पाउनुपर्ने सुविधाहरु, तलब, पारिश्रमिक के कति पाए, के कति पाएनन सोको आवश्यक छानविन गरी आवश्यक कारबाही समेत गरी १५ दिन भित्र यो समितिमा प्रतिवेदन पेश गर्ने ।’

प्रकाशित : पुस २, २०७७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री ओलीले बोलाए ५ बजेका लागि संवैधानिक परिषद् बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — संवैधानिक परिषद् बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् । बैठक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशको व्यवस्था अनुसार बस्‍न लागेको हो ।

संवैधानिक परिषद् बैठकका लागि एजेन्डासहित सदस्यहरुलाई पत्र पठाउनु पर्नेमा त्यो गरिएको छैन । ५ बजे बस्ने संवैधानिक परिषद् बैठकमा उपस्थित हुनका लागि खबर आएको प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ । तर सभामुख अग्निप्रसाद सापकोटालाई भने परिषद् बैठकबारे जानकारी पुगेको छैन । सभामुखको सचिवालयले पत्र प्राप्त नभएको बताएको छ ।

यस्तै बिहीबार नै ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

संवैधानिक परिषद् सम्बन्धीको अध्यादेश जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा तानिएका थिए । उक्त कदमविरुद्ध नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको समूहले विरोध गरेपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो ।

प्रकाशित : पुस २, २०७७ १५:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×