१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हलो र जुवासहित उखु किसानहरुको प्रदर्शन (तस्बिरहरु)

तस्बिर : केशव थापा

काठमाडौँ — उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार पनि किसानहरुको आन्दोलन जारी रहेको छ । आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् । किसानको आन्दोलनमा थिएटर कलाकारहरुले साथ दिँदै सडक नाटक प्रस्तुत गरेका थिए ।

गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका छन् । मन्त्रालयले गत वर्ष पुष १८ गते माघ ७ गते भित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तरपनि उद्योगीहरुले एकवर्ष सम्म पैसा नदिएपछि काठमाडौं आएर फेरी आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् ।

उनीहरुको भुक्तानीको विश्वसनीय पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । किसानहरुले प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्यकोषबाट भएपनि बाँकी बक्यौता भूक्तानी गरी सरकारले नै उद्योगीहरुबाट ब्याजसहित असुलउपर गर्नुपर्ने बताएका छन् । परिणाममुखी वार्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।

सरकारले वार्तामा बोलाई पठाएको पत्रको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई जवाफ लेखी किसानहरुले भुक्तानी नपाएसम्म वार्तामा नजाने भन्दै पत्रको जवाफ आन्दोलन स्थलमै पढेर सुनाएका थिए ।


प्रकाशित : पुस २, २०७७ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्