अर्घाखाँचीकाे शीतगंगा पहिरोमा सबै परिवार सुरक्षित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँचीकाे शीतगंगा पहिरोमा सबै परिवार सुरक्षित

वीरेन्द्र केसी

अर्घाखाँची — शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका पहिरोले बगाएका १७ घरका सबै परिवार सकुशल रहेका छन् । पहिरो क्षेत्रमा खोजी गर्दा १७ घरका ९९ जना सम्पर्कमा आएपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

पहिरो जाँदाजाँदै हो–हल्ला गरेर सबै दौडिएर जोगिन सफल भएका छन् । ‘पहिरो जाँदा भागेर तितरवितर भएका कारण सबै सम्पर्कमा थिएनन्, हामीले खोजी गर्दा सबै सुरक्षित रहेछन्’, उनले भने ।

१७ घर–गोठ क्षति भएर नष्ट भएका छन् । केही घर पुरिएका र केही ढलेका छन् । गोठमा पालिएका सबै चौपाया मरेको उनले बताए । दिउँसो तीन बजेतिर पहिरो जाँदा घाम लागेपनि अहिले अबिरल पानी परिरहेकाले चौपाया र घरमा रहेका अन्नपात, नगद लगायतका सामाग्रीको खोजी गर्न समस्या रहेको पहिरोस्थलबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

गाईभैंसी, बाख्रा, खसीबोका, कुखुरा लगायत घरपालुवा जनावर मरेका छन् । पहिरो आसपास क्षेत्रमा बसोबास गर्ने १८ घर अति उच्च जोखिममा रहेकाले १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । पानी परिरहेकाले पहिरो बग्ने क्रम जारी रहेको बस्नेतले बताए ।

पहिरो स्थलमा अहिले सुरक्षाकर्मी, जनप्रतिनिधि, दलका नेता र स्थानीय गएका छन् । पहिरोबाट विस्थापित भएका घरपरिवारलाई शीतगंगा नगरपालिका भित्रका स्कुल, सार्वजनिक भवन र व्यक्तिगत घरमा राख्नेबारे छलफल भइरहेको एवं उनीहरुलाई खाने–बस्ने व्यवस्था नगरपालिकाले मिलाउने नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण पहिरो गएको उनले बताए ।

प्रकाशित : आश्विन ९, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङमा एकैदिन ३० कोरोना संक्रमित निको

आश गुरुङ

लमजुङ — लमजुङमा शुक्रबार एकैदिन ३० जनाले कोरोना जितेका छन् । यो सँगै कारोना संक्रमित निको हुनेको संख्या २ सय ६२ पुगेको छ । कोरोना निको हुनेमा महिला ४४ र पुरुष २ सय १८ छन् । शुक्रबार कोरोना निको भएकामा सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यवसायीक तालिम केन्द्रका ८ जना पुरुष छन् । उनीहरु नेपाली सेनाको आइसोलेसनमा थिए । 

यस्तै, लमजुङ कृषि क्याम्पस आइसोलेसनमा रहेका १७ जना पुरुष छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा रहेका १ जना पुरुष र ३ जना महिला गरी ४ जना साथै सहरी विकास कार्यालयको भवन आइसोलेसन सहजीमा रहेका १ जना पुरुष कोरोना निको भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

लमजुङका आइसोलेशनमा अब ३२ जना महिला र ५९ जना पुरुष गरी ९१ जना संक्रमित छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । लमजुङमा हालसम्म कोरोना संक्रमित ३ सय ५३ पुगेको छ ।

प्रकाशित : आश्विन ९, २०७७ १८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×