त्रिभुवन राजपथको पहिरो पन्छाइयो

आश्विन ९, २०७७

सुवास विडारी

मकवानपुर — पहिरो कारण अवरुद्ध रहेको त्रिभुवन राजपथमा शुक्रबार बिहानदेखि यातायात सञ्चालन भएको छ ।

अविरल वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत् भीमफेदी गाउँपालिका–३, झिरघारीमा पहिरो जाँदा बिहीबार दिउँसो २ बजेदेखि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले बाटोमा रहेको ढुङ्गा तथा लेदो पन्छाएपछि विहान १० बजेबाट बाटो सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार त्रिभुवन राजपथ भएर सवारी हेटौंडा–काठमाडौं ओहोरदोहोर भइरहेका छन् ।

मकवानपुरमा भएर काठमाडौं प्रवेश गर्ने भीमफेदी–कुलेखानी तथा कान्तिराजपथमा पहिरो कारण अझै अवरुद्ध हुँदा सडकमा यातायात आउजाउ बन्द अवस्थामा रहेको छ । हाल भीमफेदी–कुलेखानी सडकखण्डको अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । 

बाढी-पहिरो

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully