३० वर्षदेखि एकै स्थानमा पहिरो

जोगीमाराको तेक्राङमा तीन दशकदेखि पहिरो आउने र राजमार्ग अवरूद्ध गर्ने समस्या समाधानका लागि सडक विभागबाट ठोस काम हुन सकेको छैन ।
हरिहरसिंह राठौर

धादिङ — सिद्धलेक गाउँपालिका–६ खर्कका ५३ वर्षीय दयानिधि सिलवाल हातमा बेल्चा लिएर दिनभर गजुरीको राजमार्गमै हुन्छन् । २५ वर्षदेखि उनले राजमार्गको तीन किलोमिटर खण्ड सरसफाइ गर्दै आएका छन् । नाली वरपरका झारपात उखेल्ने, नालीमा माटो थुप्रिन नदिने र सडकको बीचमा खाल्डाखुल्डी परे तत्काल माटोले भए पनि पुर्नु उनको मुख्य जिम्मेवारी हो  ।

३० वर्षदेखि एकै स्थानमा पहिरो

पृथ्वी राजमार्गको यस्तै सामान्य मर्मतसम्भारका लागि सडक डिभिजन चितवनले १ सय ५२ जना लेन्थवर्कर र २० जना सुपरभाइजर नियुक्त गरेकै दशकौं भयो ।

एक दशकदेखि राजमार्गमा क्षति बढ्दै गएको सिलवालको अनुभव छ । त्यति बेला वर्षात्मै पनि हिलो र लेदो नआउने राजमार्गका विभिन्न स्थानमा अहिले बालुवा र रातो माटोको लेदोले यातायात नै ठप्प हुने गरेको उनी बताउँछन् । पहिले दुई जना लेन्थवर्करले हिलो पन्छाए पुग्थ्यो, अहिले ठूला उपकरण नै प्रयोग गर्नुपर्छ । राजमार्गसँग जोड्न जथाभावी निर्माण गरिएका शाखा रोड, अवैध र मापदण्डविपरीतका बालुवा तथा ढुंगाखानीहरूले पहिरो बढाएको सिलवालको बुझाइ छ ।

हेटौंडा सिमेन्ट उद्योगले ०३० देखि सञ्चालनमा ल्याएको बेनीघाटको जोगीमारा नजिकैको तेक्राङस्थित चुनढुंगा खानीकै कारण ०४६ मंसिरमा गएको पहिरोले एउटा रात्रिबस त्रिशूलीमा खसेर पत्तो लागेन । बंगलादेशबाट गोताखोरहरू ल्याएर एक महिनासम्म खोज्दा पनि फेला परेन । पहिरो गएको स्थानमा पर्खाल लगाई रोकथाम त गरियो तर उक्त समस्या नजिकैको तेक्राङमा सर्‍यो । हाल बन्द भए पनि खानीबाट पहिरो र ग्रेगानले हरेक वर्षात्मा सडक अवरुद्ध गर्ने क्रम रोकिएको छैन । ‘जोगीमाराको तेक्राङस्थित पहिरोले ३ दशकमा १० वटा जति सवारीसाधन त्रिशूलीमा पुर्‍याएको, २० भन्दा बढी सवारी पुरेको र ६ जनाको मृत्यु भएको रेकर्ड छ,’ ट्राफिक प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले भने ।

सडक विभागको गजुरीस्थित साइट क्याम्पमा कार्यरत सुपरभाइजर कुमार थपलियाले दुई दशकदेखि त्यही पहिरोका लागि वर्षात्मा जोगीमारामै उपकरण राख्ने गरेको बताए । तीन दशकदेखि एकै स्थानमा पहिरो आउने र राजमार्ग अवरुद्ध गर्ने समस्यालाई निराकरण गर्न सडक विभागबाट ठोस काम हुन सकेको छैन । ‘हामीले हरेक वर्ष आम्दानी हुने १० लाख राजस्व माया मारेर गत वर्षदेखि उक्त खानीबाट चुनढुंगा निकाल्न र निकासीमा रोक लगाएका छौं,’ बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले भने, ‘पहिरो रोकथाम गर्ने स्थायी उपाय सरकारले नै सोच्नुपर्‍यो ।’

यसो त वर्षात् हुनासाथ पृथ्वी राजमार्ग अवरुद्ध हुने सबैभन्दा जोखिम चितवनको कुरिनटारदेखि बेनीघाटको चरौंदी कृष्णभीरसम्म थियो । तर अब पहिरो खस्ने बेनीघाट मात्रै रहेन, घडेरी सम्याउने बहानामा सञ्चालित दर्जनौं अवैध बालुवाखानी, त्यहाँसम्म लगिएका मापदण्डविपरीतका शाखा रोडहरू र राजमार्ग अतिक्रमण गरेर सञ्चालित पसलहरूले पनि पहिरोको समस्या बढाएका छन्, जसले गजुरी जहरेदेखि गल्छी–बैरेनी हुँदै महादेवबेंसीसम्मका विभिन्न स्थानमा पटकपटक राजमार्ग जाम हुने गरेको छ ।

बर्सेनि यस्तै समस्या आउने गरे पनि जथाभावी ग्रामीण सडक निर्माणको अनुमति दिने स्थानीय तह, सडक विभाग र अन्य जिम्मेवार निकायले दीर्घकालीन रूपमा समस्या समाधानका लागि चासो नदिएको स्थानीयको आरोप छ । सडक किनारबाट पैदल यात्रा गर्न नसकिने गरी लेदो माटो जम्ने भएका कारण स्थानीयलाई बजारसम्म आउजाउ गर्नसमेत समस्या हुने गरेको छ ।

प्रकाशित : आश्विन ९, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?