सुस्ताका सय घर डुबानमा

आश्विन ९, २०७७

नारायण शर्मा

नवलपरासी पूर्व — नवलपरासी पूर्वको सुस्तामा एक सय घर डुबानमा परेका छन् । तीन दिनदेखि परेको पानीले निकास नपाउँदा सुस्ताको थारु टोलाका एक सय घर डुबानमा परेका हुन् ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले दिएको जानकारीअनुसार थारु टोलामा नारायणी नदीको बाढी पसेको हो ।

बाढीले सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र सुस्ता प्रहरी चौकीको केही भाग पनि डुबेको जयसवालले जानकारी दिए । 

थारु टोलाका अधिकांश घरमा ३ फिटसम्म पानी जमेको छ भने घरमा राखिएको अन्नपात भिजेको छ । शुक्रबार बिहानदेखि वर्षा रोकिएकाले पानीको सतह भने केही घट्दै गएको छ ।

नेपाली भूभाग हुँदै सुस्तामा पुग्न नारायणी नदीमा डुंगा तरेर जानपर्ने बाध्यता छ । नारायणीमा पानीको बहाव ४ लाख क्यूसेक प्रतिसेकेन्डभन्दा बढी भएकाले डुंगामा यात्रा गर्नु जोखिमपूर्ण छ । त्रिवेणीस्थित गण्डक (ब्यारेज) पुल हुँदै जान भारतीय सुरक्षाकर्मीले अवरोध गर्ने र लामो बाटो पनि पर्दछ । 

बाढी-पहिरो

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully