सरकारी आइसोलेसनमा स्वास्थ्यकर्मीले रेखदेख गरे पनि अन्य पूर्वाधारको अभाव रहेको संक्रमितको गुनासा
रुपन्देही, बाँके — प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कोभिड–१९ फोकल पर्सन डा. उमाशंकर चौधरीलाई संक्रमण देखियो । कोरोनाबारे मन्त्रालयबाटै नियमित जानकारी दिने गरेका उनमा कहाँबाट संक्रमण सर्यो, मंगलबारसम्म खुलेको छैन । उनी बिहीबारदेखि घरमै आइसोलेट भएर बसेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
सोमबार लुम्बिनी प्रादेशिक अस्पतालका पूर्वमेसु एवं शल्य चिकित्सक डा. कृष्ण खनाललाई संक्रमण देखियो । उनले पनि सामाजिक सञ्जालमा लेखे– ‘सेल्फ आइसोलेसनमा छु ।’
बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णा केसीमा पनि साउन १८ मा संक्रमण देखियो । होम आइसोलेसनमा बसेकी उनी उच्च ज्वरो, जिउ दुख्ने र घाँटीमा समस्या भएपछि साउन २३ देखि भेरी अस्पताल भर्ना भइन् । उक्त अस्पतालमा कोभिड–१९ संक्रमित उनी मात्र हुन् । अन्य खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा छन् ।
प्रदेश ५ का तीन जिल्लामा चारवटा कोरोना अस्पताल छन् । रुपन्देहीको धागो कारखाना र भैरहवास्थित भीम अस्पताल, दाङको बेलझुन्डी र बाँकेको खजुरा क्यान्सर अस्पताल । यी अस्पतालमा १ सय ९१ सामान्य बेड, २९ आईसीयू र १३ भेन्टिलेटर छन् । यी बाहेक १२ जिल्लामा थप ९९ सय आइसोलेसन सेन्टर छन् ।
स्थानीय सरकारले विद्यालय र संघसंस्थाका भवनलाई आइसोलेसन सेन्टरका रूपमा प्रयोग गरेका छन् । त्यस्ता सेन्टरमा पर्याप्त खानेपानी, शौचालयको अभावदेखि बिजुलीको पनि समस्या छ । टिनको छाना भएको भवनमा पंखा पनि नरहेको र झुलबिनाका बेड रहेको भन्दै संक्रमितले घरमै बस्न माग गर्ने गरेका छन् । सुविधाविहीन आइसोलेसनमा बस्नुपर्ने त्रासले संक्रमण देखिएकाको सम्पर्कमा रहेकाले समेत परीक्षण गर्न आनाकानी गर्ने गरेका छन् ।
बुटवल उपमहानगरपालिकाका ३ जना अधिकृतमा चार दिनअघि संक्रमण देखियो । उनीहरू पनि होम आइसोलेसनमै छन् । संक्रमितको सम्पर्कमा रहेका अर्का एक जना व्यवसायीलाई नगरपालिकाले पीसीआर परीक्षण गर्न आग्रह गर्यो । तर, उनी सम्पर्कविहीन भए । घरमै क्वारेन्टाइनमा छन् । चार दिनपछि आफ्नै खर्चमा परीक्षण गर्ने उनको तयारी छ । कालिकानगरका ती व्यवसायीका अनुसार आफू सम्पर्कबाहिर रहनुको मुख्य कारण सुविधाविहीन आइसोलेसन सेन्टरमा जानै पर्ने बाध्यात्मक अवस्था हो ।
‘सुविधा नै नभएको र धेरै संक्रमितले एउटै शौचालय प्रयोग गर्नुपर्छ भन्ने सुनेको छु, जुन झन् असुरक्षितजस्तै लागेको छ ।’ बुटवल उपमहानगरपालिकाले देवीनगरस्थित जिल्ला फुटवल संघको एन्फा एकेडेमीको भवनलाई आइसोलेसन सेन्टर बनाएको छ । त्यहाँ अहिले ३० जना संक्रमित छन् । त्यहीं रहेका बुटवल–१३, बेलबासका एक संक्रमितले आइसोलेसन केन्द्र संक्रमितको सुरक्षाका हिसाबले उपयुक्त नभएको बताए । ‘पहुँच हुनेहरू अहिले पनि घरमै बसेका छन् रे,’ उनले भने, ‘मैले पनि घरमै बस्छु भन्दा जनप्रतिनिधि र प्रहरीले जबर्जस्ती जानै पर्छ भनेर ल्याए ।’
सरकारी आइसोलेसनमा स्वास्थ्यकर्मीले रेखदेख गरे पनि अन्य पूर्वाधारका सुविधाको समस्या रहेको उनले बताए । बुटवलमै एक साताअघि आफ्नै खर्चमा होटलमा बसेका एक संक्रमितलाई स्थानीय तहले मापदण्ड नपुगेको भन्दै सरकारी आइसोलेसनमै लगे । त्यसले संक्रमितलाई थप चिन्तित बनायो । बुटवलका होटलमा मापदण्डअनुसारका आइसोलेसन बन्दैनन् भन्नु सरकारी लाचारीपन भएको होटल व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसीले बताए । ‘यहाँका होटल सरकारी आइसोलेसन सेन्टरभन्दा व्यवस्थित र मापदण्ड पुगेकै छन्,’ उनले भने, ‘हामी आइसोलेसन सेन्टर बनाउन पनि तयार छौं तर सरकारले सुविधाविहीन भवन नै प्रयोग गरेको छ ।’
रुपन्देहीमा दैनिक संक्रमितको ग्राफ उकालो लाग्दो छ । मंगलबारसम्ममा यहाँका १७ आइसोलेसन सेन्टरमा १ सय ४७ जना छन् । झन्डै ३० जना घरमै बसेका छन् । प्रदेश ५ मा हाल ८ सय ५३ जना संक्रमित छन् । आइसोलेसन सेन्टरमा बिरामीको चाप बढ्दै गएपछि अहिले लक्षण देखिएकाको मात्र उपचार गर्न निर्देशन छ । त्यसले पहुँचका आधारमा बेड उपलब्ध हुने गरेको र पहुँच नहुनेले उपचार नै नपाउने अवस्था भएको संक्रमितको गुनासो छ ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले मापदण्ड पुगेका होम आइसोलेसन सेन्टरमा बस्न चाहनेका लागि कुनै अवरोध नहुने बताए । ‘तर, मापदण्डबिनाका घरमा जबरजस्ती बस्छु भन्न मिल्दैन,’ उनले भने । छुट्टै कोठा, खाना खाने स्थान, धारा र बाथरुमलगायत मापदण्ड पूरा गरेको भए सरकारको आइसोलेसन सेन्टरमा आउनु नपर्ने उनले बताए ।
हराउँदै संवेदना
संक्रमित परिवारलाई समाजबाटै अपहेलना हुन थालेको छ । संक्रमितको घरमा कोही नजाने, बाहिर निस्कन नदिने र टोलछिमेकमा तिरस्कार गर्नेलगायत समस्या देखिन थालेका हुन् । अहिले देखिएका केही गतिविधिले सामाजिक सद्भाव पनि प्रभावित हुने भन्दै अधिकारकर्मी गोविन्द खनालले चिन्ता व्यक्त गरे । ‘सरकारको आइसोलेसनमा भन्दा होम क्वारेन्टाइनमा बस्नेका परिवार बढी तिरस्कारमा पर्ने गरेको देखिन्छ,’ उनले भने, ‘घरभित्र बिरामी छ भने बाहिर परिवार र उनका आफन्तलाई छिःछि र दूरदूरदेखि तिरस्कृत गरिएको देखिन्छ ।’ होम क्वारेन्टाइनमा सरकारको अनुगमनसमेत छैन ।
होटलमा आइसोलेसन
बाँकेमा सुविधायुक्त होटललाई आइसोलेसनमा परिणत गरिएको छ । संक्रमितले दुई साताभन्दा बढी समय आइसोलेट हुनुपर्ने भएकाले सहज बसोबासका लागि पैसा तिरेर होटलमा बस्ने व्यवस्था गरिएको हो । जिल्ला प्रशासनले स्थानीयको मागअनुसार होटललाई आइसोलेसन बनाउन अनुमति दिएको हो । होटल व्यवसायी संघ जिल्ला अध्यक्ष भीम कँडेलले सिटिप्यालेस, न्यु इन्द्रेणी, भेरी, कलपत्रु र ह्वाइट हाउसलगायत होटलमा आइसोलेसनको व्यवस्था गरिएको बताए ।
‘आवश्यक परे अरू पनि खोल्ने तयारीमा छौं,’ उनले भने, ‘सुविधाअनुसारको मूल्यांकन तोक्नु आवश्यक छ ।’ उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ संक्रमित भएपछि
