जहाँ विद्यालयलाई लकडाउनले छोएन

कोरोना संक्रमणको जोखिम नभएको र यार्चा टिप्न रोक लगाइएपछि साइपालका विद्यालय वैशाख २ देखि नियमित सञ्चालनमा छन् । गत वर्षभन्दा विद्यार्थी भर्ना दर १५ प्रतिशतले बढेको छ ।

भाद्र ३, २०७७

वसन्तप्रताप सिंह

बझाङ — कोरोना संक्रमणको त्रासले देशभरका अधिकांश शैक्षिक संस्था चैत पहिलो सातापछि ठप्पप्रायः छन् । बझाङको साइपाल गाउँपालिकाका विद्यालयमा भने नियमित कक्षा चलेको छ ।

अघिल्ला वर्ष यहाँका विद्यालय चैतदेखि साउनसम्म बन्द हुन्थे । विद्यार्थी–शिक्षक यार्चा संकलनका लागि लेकतिर जाने हुँदा विद्यालयमा साउन पहिलो साता मात्रै भर्ना सुरु हुन्थ्यो । यो वर्ष उल्टो भयो । लकडाउनले देशभर शैक्षिक गतिविधि ठप्प हुँदा दुर्गमको साइपालका विद्यालयलाई भने बन्दले छोएन ।

यहाँ गत वैशाख २ बाटै भर्ना सुरु भयो । लगत्तै पढाइ थालियो । सरकारले कोरोना महामारी नियन्त्रणका लागि विद्यालय बन्द गर्न निर्देशन दिए पनि साइपालमा जोखिम नरहेको भन्दै अभिभावकहरूले नै खोल्न दबाब दिएका गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको शिक्षा इकाईका प्रमुख नरबहादुर धामीले बाहिरबाट कोही पनि नआउने र स्थानीय पनि ठूलै काम पर्दा मात्रै बाहिर जाने भएकाले विद्यालय व्यवस्थापन समितिहरूले स्वस्फूर्त पठनपाठन सुरु गरेको बताए । ‘साइपालमा कोरोनाको जोखिम छैन । हामी स्कुल चलाउँछौं भन्न थाले,’ उनले भने, ‘सबै अभिभावकको जोड खोल्नु पर्छ भन्ने भयो ।’

साइपालमा हालसम्म कसैलाई पनि कोरोना संक्रमण नभएको र आवतजावत पनि नहुने भएकाले कक्षा सञ्चालनमा समस्या नभएको शिक्षकहरू बताउँछन् । ‘यहाँका विद्यालयहरूमा लकडाउनको कुनै असर परेन भन्दा हुन्छ,’ धुली माविका शिक्षक धनबहादुर विष्टले भने, ‘अरू बेला भए यार्चाका कारण विद्यालय बन्द गर्नुपर्थ्यो । यो वर्ष यार्चा टिप्न बन्द भयो, विद्यालयचाहिँ समयमै खुले ।’ प्रशासनको कडाइका कारण सीमित संख्यामा गाउँले यार्चा टिप्न गएको र विद्यार्थीहरू नगएकाले कक्षा नियमित रहेको उनले बताए ।

अन्तका विद्यालयहरू बन्द भएकाले गाउँपालिकाभन्दा बाहिर पढ्ने विद्यार्थी पनि यहीँकै विद्यालयहरूमा भर्ना भएका छन् । यसले विद्यार्थी भर्ना दर बढेको शिक्षा इकाई प्रमुख धामीले बताए । ‘बाहिर पढिरहेकाहरू पनि गाउँमै फर्किएका छन्,’ उनले भने, ‘पहिले भन्दा १५ प्रतिशत बढी विद्यार्थी यो वर्ष भर्ना भएका छन् ।’ उनले यस वर्ष विद्यार्थीहरूको नियमित हाजिर दर पनि बढेको बताए । साइपालमा ३ मावि, ५ प्रावि र २ निजी विद्यालय छन् । विद्यार्थी संख्या १ हजार ३ सय ४७ छ । गर्मीमा यार्चा संकलन र हिउँदमा भारी हिमपातले पढाइ बन्द हुने भएकाले कहिल्यै पूरा कोर्स पढ्न नपाएका विद्यार्थीहरू यसपटक खुसी छन् । ‘९ कक्षा पुग्दासम्म जहिल्यै पूरा कोर्स नपढेरै परीक्षा दियौं,’ धुलीकी छात्रा मुसुरी रोकायाले भनिन्, ‘यो वर्ष पूरा पढाइ हुन्छ होला ।’

कोरोनाको जोखिम न्यून रहेको र अभिभावकहरूले पनि दबाब दिएकाले पठनपाठन बन्द नगरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘यो गाउँपालिका उसै पनि आइसोलेसनमै छ । जडिबुटी संकलन गर्न बन्दपछि बाहिरबाट कोही आएको छैन,’ उनले भने । 

कोरोना भाइरस

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully