काठमाडौँ — नेपालका लागि रुसका राजदूत एलेक्से नोविकोभले नेपालले चाहेमा आफ्नो मुलुकले तयार पारेको कोभिड–१९ को भ्याक्सिन छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सिंहदरबारमा मंगलबार भएको शिष्टाचार भेटमा राजदूत नोविकोभले भने, ‘रुसले तयार पारेको भ्यासिक्लन नोभेम्बरमा विश्वबजारमा आउनेछ । नेपाललाई प्राथमकितामा राखेर उपलब्ध गराउन सकिन्छ ।’
राजदूत नोविकोभले रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
राजदूतले नोविकोभले रुसमा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरेका थिए ।
विज्ञप्ती अनुसार भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । ‘उहाँ (अध्यक्ष) ले कोरोना भाइरसले गर्दा विश्व आक्रान्त बनेका छ । विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजिमा लागिरहेका छन् । हालै रुसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको छ,’ विज्ञप्तीमा भनिएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रुसी सरकारलाई धन्यवाद दिएका थिए ।
