कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु

अजित तिवारी

जनकपुर — जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ । उनी ७३ वर्षका थिए ।

कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु

१५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । ‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो,’ पूर्वमेयर गिरीका भतिज अनुराग गिरीले इकान्तिपुरसँग भने, ‘उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’

नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्‍ट्रेलियाको सिड्नीमा बस्छन् ।

प्रकाशित : श्रावण २८, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?