खाने पेट थपिए, अन्‍नको गेडो छैन

कालीकोट, वीरेन्द्रनगर — कालीकोटको रास्कोट नगरपालिका–२ सिप्खानाका ४२ वर्षीय धनरूप कुमाल एक वर्षअघि पत्नी मन्नासहित मजदुरीका लागि भारतको उत्तरकाशी पुगेका थिए । कोरोना संक्रमण बढेपछि उनी गत जेठमा गाउँका अन्य २१ जनासँगै घर फर्किए ।

खाने पेट थपिए, अन्‍नको गेडो छैन

उनको घरमा अहिले खाने अन्न पनि छैन ।खेतबारी अर्कैको माते (पछि साँवा रकम फिर्ता गरेपछि पाउने गरी बेचेको जग्गा) भएकाले यस वर्ष गहुँ–जौ केही नभएको उनको गुनासो छ । त्यसमाथि भारतबाट आउँदै गर्दा भएको ट्र्याक्टर दुर्घटनामा श्रीमतीको मृत्यु भयो । ‘कोरोनाले त मेरो सर्वस्व लग्यो,’ उनी भन्छन्, ‘न जीउ रह्यो, न धन, घरमा पनि खानलाई अन्नको गेडा छैन ।’ दुर्घटनामा १ लाख ३० हजार नगदसहित सबै लत्ताकपडा बगेको उनले बताए ।

कर्णाली प्रदेश सरकारको तथ्यांक हेर्ने हो भने कोरोना कहरले चैतयता मात्र भारतमा विभिन्न रोजगारीमा रहेका धनरूपजस्तै करिब ५० हजार व्यक्ति घर फर्किएका छन् । तर, उनीहरूको घरमा न खानलाई पर्याप्त अन्न छ, न त आम्दानीको उपाय नै छ । उनीहरूले छरछिमेकीसँग सरसापट गरेको अन्नले गुजारा चलाइरहेका छन् ।

दुई वर्षदेखि भारतको मुम्बईमा ‘वाचमेन’ को नोकरीमा रहेका खाँडाचक्र–१० का दुर्ग मल्ल कोरोनाले जागिर छाडेर घर फर्किनुपर्दा दुःखी छन् । मासिक ३० हजार भारतीय रुपैयाँ कमाइ गर्ने उनलाई अब परिवार पाल्ने चिन्ताले सताएको छ । ‘यहाँ के काम गर्ने भन्ने कुनै निश्चित छैन,’ उनले भने, ‘परिवारको गाँस जुटाउनै धौ–धौ भयो ।’ उनले भारतमा डकर्मी, सिकर्मी, प्लम्बिङ लगायतको काम गरेकाले गाउँमा काम पाउन समस्या रहेको बताए । चार महिनाअघि भारतबाट फर्किएका कालीकोट, महावै गाउँपालिकाका जितबहादुर सार्कीलाई पनि अब कसरी ९ जनाको परिवार पाल्ने भन्ने चिन्ताले सताएको छ ।

‘टाउको लुकाउने एउटा घर छ, जग्गाको नाममा दुई पाटा बारी छ,’ गुजरातबाट फर्किएका उनी भन्छन्, ‘यसबाट उब्जिएको अन्नले ३ महिना पनि खान पुग्दैन ।’ भारत र खाडी मुलुकबाट रोजगारी गुमाएर फर्किर्एका कर्णालीका अधिकांश बासिन्दा गाउँ फर्किएपछि लामो समयदेखि बेरोजगार बनेका छन् । दैलेखको गुराँस गाउँपालिकाकी खगिसरा विकले छोरा र पतिले भारतमा कमाएको रकम लकडाउनमै सकिएको गुनासो गरिन् । ‘काम गरौँ काम पाइँदैन,’ उनले भनिन्, ‘खेती किसानी गरौँ भने जग्गा छैन ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार लकडाउन अवधिभर भारतलगायत अन्य मुलुकबाट ४९ हजार ३२ जना कर्णाली भित्रिएका छन् । सबैभन्दा धेरै दैलेखमा १५ हजार ७० जना भित्रिएका छन् । सुर्खेतमा १३ हजार ६ सय ७ जना भित्रिएको तथ्यांक छ । डोल्पामा देशबाहिरबाट भित्रिने संख्या शून्य छ । सल्यानमा ३ हजार ६ सय ९२ जना भित्रिएका छन् ।

त्यस्तै रुकुमपश्चिममा २ हजार १ सय ७६ जना, जाजरकोटमा ४ हजार ९ सय ३०, जुम्लामा १ हजार ७ सय १८, कालीकोटमा ५ हजार ८ सय २९, मुगुमा १ हजार ७ सय ३५ र हुम्लामा २ सय ७५ जना भारत तथा अन्य तेस्रो मुलुकबाट फर्किएका छन् । रोजगार गुमाएर फर्किएकाहरूले स्वदेशमै आम्दानीको स्रोत व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।

रोजगारीका योजना

बेरोजगार युवालाई समेट्न भन्दै प्रदेश तथा स्थानीय सरकारले विभिन्न कार्यक्रमहरू अगाडि सारेका छन् । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षदेखि सुरु गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम चालु आवदेखि कार्यान्वयन गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशव उपाध्यायले कर्णालीका बेरोजगार युवालाई समेट्ने भएकाले भारत तथा अन्य मुलुकबाट पनि घर फर्किएर कामविहीन भएका युवा प्रभावित हुने जनाए । ‘कम्तीमा पनि सय दिन रोजगारी दिने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको बजेटमा पनि प्रत्येक मन्त्रालयले रोजगारका कुनै न कुनै कार्यक्रम अगाडि सारेका छन् ।’ प्रदेश सरकारले चालु आवको बजेटमा रोजगारी र उद्यमशीलता विकासतर्फ २ अर्ब बजेट विनियोजन गरेको छ ।

स्थानीय सरकारले पनि चालु आवको बजेटमा बेरोजगार युवालाई लक्षित गर्दै विभिन्न रोजगारमूलक कार्यक्रम अगाडि सारेका छन् ।

प्रकाशित : श्रावण २८, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?