अस्पतालमा शय्या अभाव

गाह्रो भयो भने अस्पताल जान सक्नुहुन्छ, बेड व्यवस्था हुन्छ : प्रवक्ता गौतम
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को बढ्दो संक्रमणसँगै देशभरका स्वास्थ्य संस्थामा शय्या अभाव हुन थालेको सरकारले जनाएको छ । संक्रमितले अस्पताल भरिन थालेपछि शय्या अभाव देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

संक्रमण भइसके पनि लक्षण देखा नपरेमा (एसिम्प्टोम्याटिक) घरमै बसेर अन्य व्यक्तिलाई रोग सर्न नदिने सावधानीका उपाय अपनाएमा समेत यो रोग नियन्त्रण र रोकथाम गर्न सकिने उनको भनाइ छ । ‘कोरोना संक्रमणको विस्तार हुन नदिन सावधानीका उपाय अवलम्बन गर्नु बाहेकको विकल्प छैन,’ उनले भने ।

हाल पीसीआर परीक्षण संख्याका आधारमा संक्रमण दर ५.२ प्रतिशत छ ।

होम आइसोलेसनमा २ सय २४ संक्रमित छन् । आईसीयूमा उपचार गराउनेहरूको संख्यासमेत बढ्दो छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार मंगलबार देशभर ८५ जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा छन् । सबैभन्दा बढी प्रदेश २ मा ४३ जना आईसीयूमा छन् । वाग्मतीमा ३५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन् । प्रदेश–५ मा ६ जना र प्रदेश १ मा १ जना आईसीयूमा उपचाररत छन् ।

देशभर १ हजार १ सय ३४ वटा आईसीयू र ५ सय ७६ वटा भेन्टिलेटर शय्या रहेको उनले जनाए ।

यसअन्तर्गत आईसीयू शय्या प्रदेश १ मा ४४, प्रदेश २ मा ४५, वाग्मतीमा ६ सय ३०, गण्डकीमा १ सय ३७, प्रदेश ५ मा २ सय २०, कर्णालीमा ४० र सुदूरपश्चिममा १८ वटा छन् । भेन्टिलेटर भने प्रदेश १ मा ६ वटा, प्रदेश २ मा १७, वाग्मतीमा ३ सय ६१, गण्डकीमा ५९, प्रदेश ५ मा १ सय ६, कर्णालीमा १७ र सुदूरपश्चिममा १० वटा छन् । हालसम्म २३ हजार ९ सय ४८ जनामा संक्रमण देखिएकामा १६ हजार ६ सय ६४ जना निको भइसकेका छन् । निको हुनेको संख्या कुल संक्रमितको ६९.६ प्रतिशत हुन आउँछ । ७ हजार २१ जना उपचाररत छन् ।

काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरी गरी चार जिल्लामा पाँच सय जनाभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । मंगलबारसम्म काठमाडौंमा ९ सय ३३ जना संक्रमित उपचाररत छन् । हालसम्म काठमाडौंमा १ हजार ५७ जनामा संक्रमण पुष्टि भएकामा १ सय १७ जना डिस्चार्ज भइसकेका छन् । ७ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश २ को पर्सा, रौतहट र महोत्तरीमा सक्रिय संक्रमितको संख्या क्रमशः ९ सय ६४, ७ सय ९६ र ५ सय ९१ तथा निको हुनेको संख्या क्रमशः २ सय २६, ७ सय ९५ र २ सय ६४ छ । पर्सामा १९ र रौतहटमा २ जनाको मृत्यु भएको छ ।

'गाह्रो भयो भने अस्पताल जान सक्नुहुन्छ, बेड व्यवस्था हुन्छ'

डा.जागेश्वर गौतम - प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

अस्पतालको आइसोलेसनको बेड लक्षण भएका र नभएका संक्रमितले भरिएका छन् । कोरोना संक्रमित बढ्ला भनेर सबै अस्पताललाई आइसोलेसन बनाएका थिएनौं । आइसोलेसन बनाइएका सीमित अस्पताल सबै भरिए । त्यसैले अहिले लक्षण भएकालाई पनि घरमै राख्नुपरेको छ । खासमा लक्षण भएकालाई मात्रै अस्पतालमा राख्नुपर्थ्यो । अब लक्षण नभएकालाई कीर्तिपुरको आयुर्वेद अस्पताल परिसरमा २ सय जनालाई राख्ने व्यवस्था गरेका छौं ।

यहाँ पनि घरमा आइसोलेसन बस्न नमिल्नेलाई मात्रै राख्छौं । घरमा आइसोलेसनमा बसेकालाई गाह्रो पर्दा जुनसुकै बेला आफैंले सवारीको व्यवस्थापन गरेर पाटन, एपीएफ, टिचिङमा जान सकिन्छ । त्यहाँ गएर आफू संक्रमित भएको र गाह्रो भएको चाहिँ जानकारी गराउनुपर्छ । बेडको व्यवस्थापन जसरी पनि हुन्छ ।

प्रकाशित : श्रावण २८, २०७७ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्

‘समयमै भेन्टिलेटर पाएको भए आमा बाँच्‍नुहुन्थ्यो कि !’

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमणबाट सोमबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएकी काभ्रेको पाँचखाल नगरपालिका–१ की एक महिलाको समयमा भेन्टिलेटर नपाएर मृत्यु भएको खुलेको छ । समयमा उचित उपचार पाउन नसकेकाले ज्यान गुमाउनुपरेको मृतकका परिवारका सदस्यले गुनासो गरेका छन् ।

५० वर्षीया ती महिलालाई साउन १८ मा पेट पोल्ने, ज्वरो आउने समस्या सुरु भएको थियो । साउन १९ मा जनैपूर्णिमाका दिन परिवारका साथ घरमै बंगुरको मासु र रक्सी खाएकी थिइन् ।

‘ज्वरो नघटेपछि स्थानीय मेडिकलबाट औषधि ल्याएर खुवायौं,’ मृतकका जेठा छोराले टेलिफोनमा भने, ‘आँखा पनि पहेंलो भएपछि जन्डिस भएको आशंका गरेका थियौं ।’

घरबाट स्थानीय बसमा पाँचखाल झरेका उनीहरूले सुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा देखाएका थिए । त्यहाँ उपचार हुन नसक्ने भन्दै धुलिखेल अस्पताल रेफर गरियो । ‘तर दिदीले भक्तपुर ल्याउनु भनेकोले त्यहाँबाट हिँड्यौं,’ उनले भने, ‘पाँचखालमा चढेको गाडीले धुलिखेलसम्म ल्यायो । साँगासम्म अर्को गाडीमा आएर साझा बस चढेर भक्तपुर दिदीकोमा गएर बस्यौं ।’

साउन २४ मा उनलाई भक्तपुर अस्पताल पुर्‍याइयो । अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि उनीहरू केएमसी अस्पताल सिनामंगल पुगेका थिए । ‘केमएसीको इमर्जेन्सीमा एक घण्टा जति रह्यौं, त्यहाँ महँगो भएकोले कुनै अरू अस्पताल जान सुझाव पाएपछि हामी पाटन अस्पताल गयौं,’ मृतकका छोराले भने, ‘पाटन अस्पतालले करिब ४ घण्टा प्रयास गर्दा पनि भेन्टिलेटर खाली नभएपछि किस्ट अस्पतालमा सम्पर्क गरेर त्यहाँ भर्ना गर्‍यौं ।’

अस्पतालले बिरामीको अवस्था अत्यन्तै नाजुक भइसकेको भन्दै जोखिम मोल्न चाहे मात्रै उपचार गर्ने बताएको थियो । मृतकका अर्का छोराले भने, ‘सास रहुन्जेल आस हुन्छ भनेर उपचार थाल्न भन्यौं तर सोमबार बिहान आमाको मृत्यु भयो ।’

उपचार सुरु गर्नुअघि अस्पतालले गरेको स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि सेनाले शव बुझेर अन्त्येष्टि गरेको थियो । मृतकका जेठा छोराले सुरुमा नै भेन्टिलेटरमा उपचार पाएको भए आमालाई बचाउन सकिन्थ्यो भन्ने आशा भएको बताउँछन् ।

‘समयमा नै भेन्टिलेटर पाएको भए आमा बाँच्नुहुन्थ्यो कि भन्ने थियो,’ उनले भने, ‘धेरै अस्पताल चहार्दाचहार्दै आमालाई कोरोना सर्‍यो कि भन्ने पनि लाग्छ ।’ मृतक महिलालाई निमोनिया र फोक्सोमा पानी भरिएको पाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७७ ०६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×