लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्‍न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्‍न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?’

खोक्दै ओछ्यानमा छटपटिँदै 
मकर श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला पाँच दिनमा २ सय ७ जनालाई घरमै आइसोलेसनमा राखिएको छ । ईडीसीडीका अनुसार उपत्यकामा साउन २२ मा ८१ जना संक्रमित देखिएकामा १४ जना घरमै आइसोलेसनमा छन् ।

यसरी घरमै बसेकामध्ये एक युवाले स्वास्थ्य मन्त्रालय र विभागका भेट्टाएजति सबै नम्बरमा फोन गरेर अस्पतालको आइसोलेसनका लागि हारगुहार गरिरहेका छन् । सिनामंगलमा भाडामा कोठा लिएर बसेका ती २७ वर्षीय युवामा संक्रमणको लक्षणसमेत छ । उनले आफ्नो अवस्था यसरी सुनाए :

***

‘मलाई कोरोना लागेको शनिबार राति ११ बजे थाहा पाएँ । अफिसले शुक्रबार मसहित अरु साथीहरुको निजी प्रयोगशालालाई पैसा तिरेर कोरोना परीक्षण गराएको थियो । मेरो मात्रै पोजिटिभ रिपोर्ट आयो । संक्रमण तीव्र भएसँगै यताउता जाँदा पनि निकै सावधानी अपनाउँथें । कहाँबाट सर्‍यो थाहै छैन ।

संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले फोन गर्छन् र सरकारी एम्बुलेन्समा राखेर आइसोलेसन लैजान्छन् भन्ने सुनेको थिएँ ।

फोन आउला कि भनेर रातभरि कुरिरहें । न फोन आयो न त एम्बुलेन्स नै । कतैबाट फोन नआएपछि मन्त्रालयको टोल फ्रि ११३० नम्बरमा फोन गरें । आइतबार डाक्टर आएपछि फोन गर्ने जवाफ उताबाट आयो । अरू रोग भए पो

ट्याक्सी चढेर वा साथीको मोटरसाइकलमा नजिकैको क्लिनिक र अस्पताल जानु ! आफूलाई कोरोना पोजिटिभ छ भन्ने थाहा हुँदाहुँदै लुखुरलुखुर कहाँ जानु ? कोरोना लागेको थाहा पाएको रात त सुत्नै सकिएन 

आइतबार पनि स्वास्थ्य मन्त्रालयबाट फोन आउला भनेर कुरिरहें । दिउँसो भइसक्दा पनि कसैले फोन गरेन । फेरि मन्त्रालयको ११३० र १११५ नम्बरमा फोन गरें । एउटा नम्बर पाएपछि कल गरेर कुरा गरें । मलाई कोरोनाको लक्षण भएको सुनाएँ ।

उहाँले अस्पतालमा बेड खाली छैन, केही दिन पर्खनुस्, बेड खाली भएपछि खबर गरौंला भन्नुभयो । तीन दिन भयो । कतैबाट खबर आएको छैन ।

सुरुमा मैले जोसँग कुरा गरेको थिएँ उहाँले पनि अर्को मान्छेको नम्बर दिनुभयो । उहाँलाई पनि मलाई सुक्खा खोकी भएको, सास फेर्न गाह्रो भएको, स्वाद थाहा नपाउने जस्ता समस्या रहेको सुनाएँ । तर अस्पतालमा बेड खाली नभएकाले भर्ना गर्न नसकिने जानकारी दिनुभयो । सोमबारसम्म पनि उहाँले फोन गरेर स्वास्थ्य अवस्था सोध्नुभयो । मलाई थप समस्या भयो भने जतिबेला पनि फोन गर्नुस् भन्नुभएको छ । तर उहाँले मेरा लागि बेड खोज्न सक्नुभएन ।

सरकारले कोरोना लक्षण भएकालाई अस्पतालको आइसोलेसनमा पठाउने गरेको समाचार हेर्छु, सुन्छु । मैले स्वास्थ्य मन्त्रालय, विभाग सबैतिर हारगुहार गरें तर मेरो समस्या कसैले सुनेनन् । यतिसम्म कि मन्त्रालयमा बारम्बार फोन गरेपछि एक जना कर्मचारीले त हिँडेर केएमसी अस्पताल जानुस्, आफ्नो समस्या सुनाउनुस् समेत भने । मलाई थाहा छ, कोरोना पोजिटिभ भएपछि जहाँ पायो त्यहाँ भर्ना लिइँदैन । उनको कुरा सुनेर रिस उठ्यो । मान्छे मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ भनेर रिसाएँ । मैले जति मान्छेलाई फोन गरें, सबैले अस्पतालमा बेड खाली छैन भन्छन् । त्यसैले आज (मंगलबार) त कसैलाई फोन पनि गरिनँ ।

मलाई सास फेर्न एकदम गाह्रो भइरहेको छ । सुक्खा खोकी रोकिएको छैन । थुक निल्न पनि अप्ठ्यारो हुन्छ । सुत्न त झन् गाह्रो हुन्छ । रुघा पनि छ । कोठामा एक्लै छु । कोठामा आवश्यक सामान साथीहरूलाई ल्याइदिन भन्छु । म संक्रमित भएको घरबेटीलाई थाहा छैन । घरबेटीले थाहा पाए भने निकालेर पठाउँछन् । अनि कहाँ जानु ? घरबेटीले थाहा नपाउन् भनेर साथीहरूलाई सामान ल्याएर ढोका बाहिर छाडेर सुटुक्क जानू भन्ने गरेको छु । साथीहरू बाहिर गएपछि अनि हतारहतार सामान भित्र ल्याउँछु । सास फेर्न गाह्रो भएपछि तातोपानीको बाफ लिन्छु । बिहान उठेर सुरुमा तातोपानीमा बेसार, नुन, अदुवा र मरिच राखेर एक ग्लास खान्छु । त्यसपछि उसिनेको अण्डा र फलफूल खान्छु । दिउँसो पनि तातोपानी तुलसी खान्छु । बिहानबेलुका खाना खान्छु । बेलुका पनि बेसार, अदुवा पानी खान्छु । सुत्ने बेला दूधमा बेसार राखेर खान्छु ।

कोठामा कोही नभएकाले सकिनसकी आफैं पकाएर खान्छु । म अस्पतालको आइसोलेसनमा हुन्थें भने के खाने के नखाने, डाक्टरसँग सोध्न सकिन्थ्यो । अरू संक्रमितसँग कुरा गर्दा तनाव कम हुन्थ्यो । घरमा चिन्ता हुन्छ भनेर आमाबुबालाई पनि म संक्रमित भएको खबर सुनाएको छैन । पैसा चाहिन सक्छ भनेर दाइभाउजूलाई चाहिँ खबर गरें । अफिसमा साथीहरूलाई थाहा छ । आवश्यक सामान अफिसले नै पठाइदिने गरेको छ ।

मलाई सरकारले आइसोलेसनमा लगेको भए मैले अरूलाई सामान ल्याइदेऊ भनेर हारगुहार गर्नुपर्दैनथ्यो ।

लक्षण भएका म जस्तालाई चाहिँ अस्पतालमै लगेर उपचार होस् भन्ने मेरो अनुरोध छ । अस्पतालमा हुँदा चिकित्सक, नर्ससँग कुरा गर्न सकिन्थ्यो । उनीहरूलाई आफ्नो समस्या सुनाउन पाइन्थ्यो । कोठामा बसेर कसलाई सोध्नु ? मैले चिनेको एक जना डाक्टरलाई सोधेर भिटामिन सी र सुक्खा खोकी हटाउन एलेग्रा १८० खाइरहेको छु । बिहान शारीरिक व्यायाम गर्छु । तीनतले घरको भुइँ तलामा खोक्दै कहिले ओछ्यानमा छटपटिन्छु, कहिले बाथरुममा छिर्छु । अलि समस्या भएजस्तो हुँदा सुत्छु । कुनै बेला गाह्रो भयो भने कहाँ जानु, कसलाई भन्नु भन्ने चिन्ता लाग्छ ।

सास फेर्न गाह्रो भएको व्यक्तिलाई अक्सिजन चाहिन्छ भन्ने सुनेको छु । त्यसैले मलाई अस्पतालमा आइसोलेसनको व्यवस्था गरिदिन अनुरोध गर्छॅ । कोरोना संक्रमितको संख्या बढ्छ भन्ने अनुमान हुँदाहुँदै पनि आइसोलेसनको व्यवस्था छैन भन्दा दिक्क लाग्छ । अहिले दिनमा सय हाराहारी संक्रमित देखिँदा त सरकारको तयारी यस्तो छ भने अरू देशमा जस्तो हजारौं देखिए भने संक्रमितको व्यवस्थापन कसरी होला ? भोलि–पर्सिको स्थितिलाई कसरी व्यवस्थित गर्ने योजना बनाउन पनि ढिलाइ नहोस् । मजस्ता संक्रमितले आइसोलेसनको अभावमा कोठामा छटपटाउन नपरोस् ।’

प्रकाशित : श्रावण २८, २०७७ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्

गोंगबु घटना : यौन र रक्सीको नसाले निम्त्याएको अपराध

पक्राउपछि कल्पनाले भनिन्, ‘छोरीलाई समेत समात्न गएपछि सहनै सकिनँ, हथौडाले हानेर मारिदिएँ’
मातृका दाहाल, जनकराज सापकोटा

काठमाडौँ — ‘म आज त्यतै बस्न आउँदै छु है,’ शनिबार दिउँसो ३ बजेतिर कृष्णबहादुर बोहराले टोखा नगरपालिका–१० नवज्योति मार्गस्थित घरमा भाडामा बस्दै आएकी कल्पना मुडभरी (पौडेल) लाई फोन गरे । त्यसपछि गोंगबुकै नरसिंहधाम गेस्ट हाउसका सञ्चालकलाई ‘म केही दिन आउदिनँ’ भन्दै निस्किए ।

उनी मंसिरदेखि सो गेस्टहाउसको कोठा नम्बर ४०१ मा बस्थे । नजिकै मदिरा सेवन गरेर उनी बा७२प ५६४४ नम्बरको स्कुटरमा पौडेलको कोठामा पुगे । त्यसअघि नै पौडेलले ‘दही पनि ल्याउनु है’ भनेकी रहिछन् । दही र ७ सय ५० एमएलको रुस्लान भोड्का पनि उनले साथमै लिएर गए ।

झोला पौडेलको कोठामा बिसाएर बोहरा केहीबेर बिस्तरामा पल्टिए । उनी आउनुअघि नै मासु पाकिसकेको थियो । पौडेलका छोराछोरीले आफ्नै कोठामा गएर मासुचिउरा खाए । अर्को कोठामा बसेर बोहरा र पौडेलले भोड्का पिए । मदिराको नसामा बोहरा लठ्ठिँदै गए । नसा चढ्दै गएपछि बोहरा छोरीमाथि जाइलाग्न थाले । ‘ममी’ भनेर चिच्याए पनि उनले समाउन छोडेनन् । त्यहाँबाट छोरी कोठातिर गइन् । दुव्र्यवहार सहन नसकेपछि पौडेलले आफूले सेवन गर्ने ५ चक्की औषधि दहीमा घोलेर बोहरालाई खान दिइन् । प्रहरीलाई दिएको बयानमा उनले डिप्रेसनको बिरामी भएकाले दैनिक निद्रा लाग्ने औषधि खाने गरेको बताएकी छन् । केहीबेरमै बोहरा बसेकै ठाउँमा बेहोस भएर शौचालयतर्फ पल्टिए । त्यसपछि पौडेलमा क्रूर अपराधको योजना बन्यो । किला ठोक्ने हथौडा र खुकुरी (दाउ) ल्याइन् । लठ्ठिएर सुतेका बोहराको अण्डकोषमा पटक–पटक प्रहार गरिन् । हथौडाले हानेपछि उनले एकपटक ‘ऐया’ भनेर मसिनो आवाजमा कराएको पौडेलले बयानमा भनेकी छन् । निद्रा लाग्ने औषधि र मदिरा सेवनका कारण उनी प्रतिकार गर्ने अवस्थामा थिएनन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार बोहराको अण्डकोष फुटेर छालामै मिसिने अवस्थामा पुग्यो । चिकित्सकको पोस्टमार्टम रिपोर्टमा यसलाई ‘ब्लन्ट फोर्स स्क्रोटम’ भनिएको छ ।

शव व्यवस्थापनमा छोरीको सहयोग

घटना शनिबार राति ११ बजेतिर भएको प्रहरीले अनुमान गरेको छ । हत्यापछि शौचालयको ढोकाको डिलमा लगेर पौडेलले घाँटी काटिन् । घुँडामुनि दुवै खुट्टा छिनाइन् । त्यसलाई प्लास्टिकमा हालेर नजिकै लगेर मिल्काएर आइन् । तर, टाउको र खुट्टाबाहेक बाँकी रहेको शरीर सुटकेसमा हालेर लैजान खोज्दा एक्लै सकिनन् । घटनाबारे सबै कुरा जानकारी गराएपछि छोरीकै सहयोगमा व्यवस्थापन गरिन् । बाँकी शरीर कालो सुटकेसमा हालिन् । नाम्लोले बाँधेर छोरीसँगै फेरि निस्किइन् । त्यसबेला बिहानको ३ बजिसकेको अनुसन्धानबाट खुलेको छ । कोठामा फर्किएर उनले दशीप्रमाण लुकाइसकेकी थिइन् । घटनापछि चितवनस्थित माइत भाग्ने योजना बनाइन् । राति नै चितवन टाँडीनजिकै माधवपुरमा रहेकी आमालाई फोन गरेर आफू आउन लागेको जानकारी गराइन् । चितवनमै भिनाजु नाता लगाउँदै एक व्यक्तिलाई आफूलाई लिन काठमाडौं आउन आग्रह गरिन् । एम्बुलेन्स चालक ती व्यक्ति आइतबार दिउँसो ४ बजे काठमाडौं आइपुगे । ६ हजार भाडा लिएर उनले पौडेल र उनका छोराछारीलाई माधवपुर पुर्‍याए ।

चितवन हिँड्नुअघि प्रहरीले पौडेल बसेको घरवरिपरि घेरा हालिसकेको थियो । तर घर खानतलासी भने गरिएन । अग्लो घर भएकाले घटना त्यहीँ भएको भन्ने शंका प्रहरीले गरेन । तल कुकुर र सुरक्षाकर्मी घुमिरहँदा माथि झ्यालमा पर्दा लगाएर पौडेल सानो प्वालबाट बाहिरको गतिविधि नियालिरहेकी थिइन् । ४ बजेपछि एम्बुलेन्समा छोराछोरीसहित उनी चितवन लागिन् । उनी निस्केको केही समयपछि घरभित्र पसेर प्रहरीले खानतलासी गरेको थियो । नजिकै बेवारिस स्कुटर देखेपछि खोज्दै जाँदा प्रहरी उनी बसेको कोठासम्म पुग्यो । तर कोठामा ताल्चा लागेपछि प्रहरीमा शंका उब्जियो । कोठाभित्र स्कुटरको चाबी फेला परेपछि घटनामा पौडेल नै संलग्न भएको निष्कर्षनजिक प्रहरी पुगेको थियो ।

पौडेल १५ वर्षकी छोरी र १३ वर्षका छोरासहित केही वर्षदेखि नवज्योति मार्गको एक घरमा मासिक ११ हजार भाडा तिरेर बस्दै आएकी थिइन् । उनकी जेठी छोरीको गतवर्ष विवाह भएको थियो । श्रीमान्बाट अलग्गिएर बस्न थालेकी उनी र बोहराबीच ३/४ वर्ष पहिलेदेखि नै चिनजान थियो । उनको नियमित आम्दानीको स्रोत केही छैन । सुन्धारामा १० लाखमा काँक्रेबिहार थकाली रेस्टुराँ चलाउँदै आएका बोहरा व्यापारमा घाटा खाएपछि भागेर लुकीछिपी बस्दै आएका थिए । उनले साहूलाई ६ लाख रुपैयाँ पैसा दिन बाँकी रहेको खुलेको छ । प्रहरीका अनुसार वैदेशिक रोजगारीका क्रममा दुबई, टर्की, अफगानिस्तानलगायत मुलुकमा बसेर साढे ३ वर्षअघि नेपाल आएका थिए, बोहरा । रोल्पा स्थायी घर भई पछि दाङ सरेका उनी वैदेशिक रोजगारीबाट फर्केपछि काठमाडौंमै बस्थे । विदेशमै रहँदा उनको पौडेलसँग फेसबुकमार्फत चिनजान भएको थियो । फेसबुकबाटै दुवैको सम्बन्ध गहिरिँदै गएपछि भेटघाट बाक्लिन थाल्यो । ‘पहिले पनि जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउँथ्यो, मेरो टाउको अरूको नग्न तस्बिरमा राखेर फेसबुकमा हाल्थ्यो, त्यहीँबाट ब्ल्याकमेलिङ गर्दै शारीरिक सम्पर्क राख्थ्यो,’ पौडेलले प्रहरीसँग भनेकी छन् ।

जब लतपतिएको सुटकेस भेटियो

नवज्योति मार्गमा आइतबार बिहान ७ बजेतिर पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा रगत लतपतिएको सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । सुटकेसमा टाउको र घँुडामुनि दुवै खुट्टा नभएको पुरुषको शव फेला पारेको थियो । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थल पुग्यो । केहीबेरमै महाशाखा प्रमुख एसएसपी दीपक थापा र परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली पनि अनुसन्धान अधिकृतहरुसहित घटनास्थल पुगे । प्रहरीले डग स्कुलबाट जोजो नामक कुकुर झिकाएर अनुसन्धान अघि बढायो । कुकुरले नै सुँघेर सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटर उत्तर पूर्वतर्फ स्वर्गद्वारी मार्गमा प्लास्टिकमा बेरिएको अवस्थामा टाउको र दुवै खुट्टा फेला पार्‍यो ।

टाउको भेटिएको स्थानबाट कुकुर एक किमि पर चौबाटोमा सिद्धेश्वर मन्दिरसम्म पुग्यो । त्यसबीच महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा परिसर र महाशाखाको संयुक्त टोली हत्यारा पत्ता लगाउन खटिइसकेको थियो । मृतकको टाउको र खुट्टा फेला पार्ने कुकुरकै नाममा ‘अप्रेसन जोजो’ अघि बढाइयो । केही समययपछि महाशाखा र परिसरका प्रहरी सम्मिलित ५ वटा टोली खटियो । सोमबारसम्म पनि आफन्त सम्पर्कमा नआएपछि प्रहरीले मृतकको अनुहारसहितको हुलिया सार्वजनिक गरेपछि मात्रै उनी रोल्पा स्थायी घर भई काठमाडौं बस्ने कृष्णबहादुर बोहरा भन्ने थाहा भयो । नयाँबजारका स्थानीयले उनी त्यहाँको एक गार्मेन्टमा काम गर्ने व्यक्ति भएको जानकारी दिए । रोल्पाबाट आफन्तले सम्पर्क गरेपछि शवको सनाखत भयो । त्यसबेलासम्म त्रिवि शिक्षण अस्पतालले हत्याअघि उनले मादक पदार्थ सेवन गरेको तथ्य प्रहरीलाई दिइसकेको थियो ।

४८ घन्टासम्म प्रहरी घेरामा गोंगबु

बोहराको शव भेटिएपछि ४८ घण्टासम्म पनि घटनामा कसको संलग्नता भन्ने सुइँको प्रहरीले पाउन सकेन । काठमाडौंका नाका र शव भेटिएको स्थलवरपर करिब डेढ सय प्रहरी खटाएर महाशाखा र काठमाडौं परिसरले अनुसन्धान गरेको थियो । महाशाखा एसएसपी दीपक थापाका अनुसार परिसर र महाशाखाका प्रमुखसहितको ‘इन्सिडेन्ट म्यानेजमेन्ट टिम’ पनि गठन गरिएको थियो । घटनामा महाशाखा र परिसरको संयुक्त प्रयासमा यति छिट्टै अपराधी पत्ता लागेको सम्वभत: पहिलो भएको एसएसपी थापा बताउँछन् ।

महाशाखामै प्राविधिक अनुसन्धान टोलीलाई पनि सक्रिय पारिएको थियो । स्रोतका अनुसार प्रहरीले गोंगबु क्षेत्रमा पछिल्लो एक सातायता भएका मोबाइल सम्पर्कको प्राविधिक अनुसन्धान पनि थालिसकेको थियो । ‘हामी अनुसन्धानका सबै उपायलाई खुला राखेर अघि बढेका थियौं,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, ‘त्यसकै नतिजा पक्राउ गर्न सफल भयौं ।’

अनुसन्धानकै क्रममा प्रहरीले गोंगबु/सामाखुसी क्षेत्रमा १ हजार ५ सयभन्दा बढी घर र खानतलासी गरेको थियो । त्यहीबीच अनुसन्धान साँघुरो बनाउँदै लैजाने क्रममा दुइटा मोबाइललाई निगरानीमा राख्यो । एउटा फोन चितवनका दुई जनालाई गरेको भेटियो । त्यसपछि महाशाखाले प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली मोबाइल ट्रयाकिङ गर्दै पुग्यो । मारिएका व्यक्तिले शनिबार दिउँसो ३ बजेतिर चितवनमा सम्पर्क गर्ने मानिसलाई फोन गरेको देखियो । चितवनमा फोन गर्ने मानिस र फोन उठाउनेलाई पनि निगरानी राखेर प्रहरीले सम्पर्क गर्‍यो । शंका गरिएका व्यक्तिले चितवनकै एम्बुलेन्स चालकलाई फोन गरेको पत्ता लाग्यो । चालकसँग प्रहरीले सोधपुछ गर्दा काठमाडौंबाट अकस्मात् लिन आउन भन्दै फोन आएको स्वीकार गरे । ६ हजार भाडा लिएर ती महिलालाई लिन गोंगबु आएको बताए ।

चितवनको कालिका नगरपालिका–७ घर भएकी पौडेल एम्बुलेन्समार्फत चितवनकै कालिका नगरपालिका–९ शक्तिखोरस्थित माइती पुगेकी थिइन् । त्यहीँबाट पक्राउ परिन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पौडेलले बोहराले छोरीसँग यौनसम्पर्क गर्ने मनसायले नजर लगाएको, आफ्नो नाममा नक्कली फेसबुक खोलेको, टाउको आफ्नो राखेर अरूकै नग्न तस्बिर जोडेर पटकपटक बेइज्जत गरेको, शारीरिक सम्पर्क गर्न नदिए ज्यान मार्ने धम्की दिएको लगायत कारणबाट आफू तनावमा रहेको बयान दिएकी छन् । आफैंले चलाउने गरी बोहराले कल्पना शाहीका नाममा फेसबुक अकाउन्ट खोलेका थिए । एसएसपी थापा राजधानीमा अस्वाभाविक सम्बन्ध र हिमचिमका प्रवृत्ति मौलाउँदै गएको र प्रतिशोध र रिसइबी बढ्दै जाँदा त्यसले हत्याको रूप लिने गरेको बताउँछन् ।


झस्काइरहने वीभत्स हत्या शृंखला

शनिबार राति गोंगबुमा भएको वीभत्स हत्याले करिब तीन महिनाअघि सिरहको लहानमा टाउको काटिएको अवस्थामा फेला पारेको शवको झल्को दिएको छ । गोंगबु र लहानका दुई वीभत्स हत्याको ‘मोडस अपरेन्डी’ भने १२ वर्षअघिको काठमाडौंमै भएको १९ वर्षीया ख्याति श्रेष्ठको क्रूर हत्यासँग मिल्दोजुल्दो छ । त्यतिमात्र होइन, रानीबारी हत्याकाण्ड, बडीखेल हत्याकाण्ड, गीता ढकालको हत्या, न्युरोडका पसले वा सीतापाइलाका स: मिल सञ्चालकको हत्यासँग मिल्दो देखिए पनि बोहराको हत्या संगठित अपराध नभएको प्रहरीले निष्कर्ष निकालेको छ ।

यसले फरक परिस्थिति तर हत्याको शैली उस्तै देखिने घटना नेपाली समाजमा कसरी दोहोरिँदै छ भने त बुझाउँछ नै, संगठित अपराधको पृष्ठभूमि नभएकाहरु पनि कसरी क्रूर हत्या गर्न अघि सर्दै छन् भनेर पनि देखाउँछ । गएको वैशाख ३० मा सिराहको लहान नगरपालिका–१७ का करिब ४० वर्षीय मोहम्मद सफिदको शव टाउको काटिएको अवस्थामा फेला पर्‍यो । प्रहरीले भोलिपल्ट शरीर फेला परेको स्थानबाट केही पर पोखरी छेउमा क्षतविक्षत टाउको भेट्टायो । १८ दिनपछि घटनास्थलबाट करिब ५ किलोमिटर पर बलान खोला छेउमा धारिलो हतियार फेला पर्‍यो । घटना व्यक्तिगत रिसइबीबाट भएको हुन सक्ने लहानका डीएसपी शरद थापा बताउँछन् ।

२०६६ जेठ २२ मा अनामनगर बस्ने १९ वर्षीया ख्याति श्रेष्ठ हराइन् । त्यसको दुई सातापछि ललितपुरको कार्यविनायकनजिकै टाउको र हातखुट्टा नभएको शरीरको भाग फेला पर्‍यो । हत्यापछि अपराधकर्म लुकाउन शव टुक्राटुक्रा पारेर फालिएको अनुसन्धानबाट पुष्टि भयो । क्रूर हत्याका मुख्य योजनाकार वीरेन श्रेष्ठ असार ७ गते सोह्रखुट्टेबाट पक्राउ परे । क्यासिनो खेल्दा लागेको ऋण तिर्न ख्यातिको अपहरण गरिएको र पछि हत्या गरी शव लुकाउन शरीर टुक्राटुक्रा पारिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । वीरेनले ख्यातिका परिवारबाट १० लाख फिरौती पनि लिएका थिए ।

२०७६ असार १५ मा भक्तपुरको चाँगुनारायण बस्ने ६० वर्षीया सावित्री भट्टराई आफ्नै घरभित्र घाँटी रेटी हत्या भएको अवस्थामा फेला परिन् । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट उनकी छोरी ईश्वरी भट्टराईले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुल्यो । ईश्वरीले प्रेमी मोहम्मद नौसादको सहयोगमा भारतबाट १२ लाख रुपैयाँ दिने सर्तमा भाडाका हत्यारा झिकाएर आमाको हत्या गरेको अनुसन्धानले देखाएको थियो । घटनाको ६ महिनापछि भक्तपुर जिल्ला अदालतले छोरी, उनका प्रेमीसहित घटनामा संग्लन अन्य दुईलाई जन्मकैदको फैसला सुनायो ।

भक्तपुरको जस्तै वीभत्स हत्या ४ भदौ २०७५ मा बबरमहल पनि भयो । फ्रान्सका लागि पूर्वनेपाली राजदूत ८० वर्षीय केशव झा ओछ्यानमै मृत फेला परे । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानाट थाहा लाग्यो, घरमै काम गर्ने मालीले पैसा नदिएको झोंकमा चक्कु प्रहार गरी हत्या गरेका रहेछन् ।

२८ माघ २०७६ मा ललितपुरको सानेपास्थित आफ्नै घरमा मुना कार्कीको रगताम्य अवस्थामा शव फेला पर्‍यो । शव छेवैमा घरेलु कामदार विजय चौधरी झुन्डिएको अवस्थामा फेला परे । व्यक्ति हत्याका क्रूर घटनाहरुको लामो शृंखलाले समाजमा व्याप्त अपराध मनोविज्ञान र प्रतिशोध साँध्न हत्यामै उत्रिने खतरनाक प्रवृत्ति देखाउँछ । २०६० असोज १६ गते ललितपुरको बडीखेलमा भानु नगरकोटीको परिवारका ५ सदस्यको वीभत्स हत्या भएको घटनाले पनि यही देखाउँछ । २०६८ पुस २७ गते रञ्जन कोइरालाले त श्रीमती गीताको हत्या गरी शवलाई आफ्नै गाडीमा राखेर मकवानपुरको टिस्टुङ पुर्‍याएर पेट्रोल छर्केर जलाएका थिए ।

नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदी हत्याको क्रूरताका पछाडि व्यक्तिमा पैदा हुने घृणाको स्तर वा शव व्यवस्थापन गर्ने शैलीमध्ये एउटा कारण प्रमुख हुने बताउँछन् । एआईजी सुवेदीले भनेजस्तै गोगंबु घटनामा पनि बोहराको अण्डकोषमा हानेर हत्या गरेपछि शव लुकाउन क्रूर शैली अपनाइएको छ । यस्तै शैली ख्याति हत्याकाण्डमा पनि देखिएको थियो । हत्यापछि शव लुकाउन यस्तै क्रूर शैली सशस्त्र प्रहरीका डीआईजी कोइरालाले श्रीमतीको हत्यापछि पनि देखाएका थिए । एआईजी सुवेदीले व्यक्ति हत्याको घटनामा हुने क्रूर शैलीले कस्ता घटनाले समाजको ठूलो तप्कामा असुरक्षाको भाव पैदा गर्ने बताए । उनले भने, ‘हत्याका घटना त भइरहेका हुन्छन् । तर क्रूर शैलीको हत्याको समाजको ध्यान छिटो खिच्छ अनि त्यस्तो शैलीमा समाज प्रशिक्षित हुँदै गएजस्तो अवस्था सिर्जना हुन्छ ।’

धारिलो हतियार प्रयोग गरी सामूहिक रूपमा वीभत्स हत्या गर्ने घटनाका अन्य धेरै उदाहरण छन् । गत वर्ष जेठ ७ मा पाँचथरको मिक्लाजुङमा ललितपुरको बडीखेलकै जस्तो वीभत्स घटना भयो । स्थानीय मानबहादुर माखिमले आफ्नी श्रीमतीसहित ७ जना आफन्तको धारिलो हतियार प्रयोग गरी हत्या गरे । घटनास्थलभन्दा करिब डेढ घण्टाको दूरीमा पुगेर पासो लगाई आत्महत्या गरे । आवेग प्रेरित सामूहिक हत्याको अर्को घटना गत जेठ २७ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्तिबजारस्थित एक भैंसी फार्ममा पनि भयो । फार्ममा कार्यरत झसेन्द्र सिञ्जालीले आफूलाई रिस उठाएकै कारण फरुवाले हानेर सबैको हत्या गरी भुसमा लुकेको बयान दिए ।

त्यसो त धारिलो हतियार प्रयोग गरी भएका क्रूर हत्याका घटनाको शृंखलामा २०५९ असार ३१ गते रानीबारीमा भएको इन्जिनियिर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको हत्याकाण्ड पनि आउँछ । घरबेटीलाई मार्न गएका हत्याराको टोलीले बेकसुर श्रेष्ठ दम्पतीको हत्या गरेको रहस्य घटनाको १२ वर्षपछि २०७१ फागुन २९ गते केन्द्रीय अनुसन्धान ब्युरोले मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेपछि खुल्यो ।

२०६३ पुस २० गते काठमाडौंको सीतापाइलामा स: मिल सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्षर्ीय नातिकाजी सुवेदी र उनकी पत्नी सानु सुवेदीको पनि खुकुरी प्रहारबाट घरभित्रै हत्या भयो । सुवेदीका १५ वर्षीय छोरा विलभ सुवेदीमाथि पनि खुकुरी प्रहार गरेका थिए । तर भाग्यले उनी लामो उपचारपछि बाँचे । घटनाको १४ वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले नातिकाजीकै स: मिलमा काम गर्ने सर्लाही घर भएका जेके भनिने जयकिशोर साहलाई पक्राउ गर्‍यो । अर्का अभियुक्त प्रताप राना अझै फरार छन् । असार २९ गते साह पक्राउपछि मात्रै घटनाको रहस्य खुल्यो । साहले नातिकाजीले गाली गरेको र त्यसैको बदला साँध्न हत्या गरेको बयान दिए ।

पूर्व एआईजी सुवेदी माओवादीको हिंसात्मक द्वन्द्व सुरु भएयताको २० वर्षमा भएका व्यक्ति हत्यासम्बन्धी घटना केलाउँदा नृसंश घटनाको प्रकृति दोहोरिरहेको बताउँछन् । ‘यसको सम्बन्ध समाज र राजनीतिक विकास क्रमसँग जोडेर हेर्नुपर्छ,’ उनले भने, ‘हत्याको कारण जे भए पनि वीभत्स शैलीको घटना दोहोरिँदा समाजका त्रासको मनोविज्ञान बढ्छ । त्यसको असर सामाजिक विकास क्रममै पर्ने खतरा रहन्छ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ यताको सात वर्षमा मात्रै ४ हजार ३ सय ४७ जनाको हत्या भएको छ । प्रहरीका अनुसार प्रत्येक वर्ष औसतमा ६ सय जनाको हत्या हुने गरेको छ । यस्तो घटनामा परिवारकै मान्छे, चिरपरिचत व्यक्तिदेखि योजनाबद्ध अपराध बनाइरहेकाहरुसमेत संग्लन भएका देखिन्छन् ।

प्रकाशित : श्रावण २७, २०७७ २३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×