१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनामुक्त भएका ७४ वर्षीय क्यान्सर रोगीले भने : मनोबल नै औषधि रहेछ

रमेशकुमार पौडेल

चितवन — फोक्सोको क्यान्सर भएर केमोथेरापी गराएका ७४ वर्षीय वृद्ध कोरोनामुक्त भएका छन् ।  जेठ नौ गते कोरोना संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–६ केशरबागका ७४ वर्षीय वृद्ध पीसीआर परीक्षण नेगेटिभ आएपछि शुक्रबार भरतपुर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कोरोनामुक्त भएका ७४ वर्षीय क्यान्सर रोगीले भने : मनोबल नै औषधि रहेछ

कुनै जटिल खाले लक्षणबिना कोरोनामुक्त भएका उनले दृढ मनोबलले रोग परास्त हुने अनुभव गरेको बताए ।

क्यान्सरको उपचार गराउन दिल्ली गएका उनलाई भरतपुर आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनीसँगै दिल्लीबाट फर्केकी ७३ वर्षीया श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको थियो । यी दम्पतीलाई संक्रमण देखिएको भोलिपल्ट उनका ५२ वर्षीय छोरामा पनि संक्रमण भएको थियो । छोरा केही दिनअघि निको भएर घर फर्किएका छन् ।

‘क्यान्सर रोगी र उनको श्रीमतीको बिहीबार आरटी पीसीआर परीक्षण गर्दा संक्रमण देखिएन । आज शुक्रबार डिस्चार्ज गर्‍यौं’ भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भने । फोक्सोमा समस्या देखिएपछि उनी उपचारका लागि दिल्ली गएका थिए । ‘फेब्रुअरी १८ (फागुन ६) मा फोक्सोको देब्रे भागमा क्यान्सर भएको पत्ता लाग्यो । फेब्रुअरी २५ देखि अस्पतालमा नै भर्ना भएँ’ वृद्धले सुनाए ।

उपचारकै क्रममा कोरोना संक्रमण बढ्दै गयो । उनको केमोथेरापी सुरु भइरसको थियो । पाँच पटक केमोथेरापी लिएपछि उनले घर फर्कने निधो गरे । दिल्ली हुँदै उनी जेठ ३ गते घर आए । ‘त्यहाँ बसे भवसागरमै परिन्छ कि भन्ने भयो । एम्बुलेन्स खोजेर घर आइयो । घर आएर होम क्वारेन्टाइनमा बसेका थियौं । पछि चेक गराउँदा संक्रमण देखियो । आज महिना दिन नहुँदै कोरोना जितेर घर फर्कें’ वृद्धले भने ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी ७५ वर्ष पुगेका, फोक्सोको क्यान्सर भएको र केमोथेरापी लिएका व्यक्तिलाई संक्रमण देखिनु ठूलो जोखिम भएको बताउँछन् । तर उनले सहजै संक्रमणलाई परास्त गरेको देख्दा औधि खुसी लागेको डा.अधिकारीले बताए । ‘बढी उमेरका व्यक्तिलाई संक्रमण हुनु खतरा हो । त्यसमाथि फोक्सोको क्यान्सर भएको व्यक्ति, किनकि कोरोनाले पनि फोक्सोमा नै असर गर्दछ,’ डा.अधिकारीले भने ।

केमोथेरापी लिएको व्यक्तिको शरिरमा रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । ‘तर यस्तो व्यक्तिले पनि कुनै स्वास्थ्य जटिल्ता बिना कोरोना जित्नु भनेको आश्चर्यजनक हो,’ डा.अधिकारीले भने । उनी भरतपुर अस्पतालको क्याबिनमै बसे । सामान्य समस्या बाहेक जटिलखाले कुनै लक्षण देखिएन । त्यसैले उनले अस्पतालको आईसीयू वा भेन्टिलेटरमा राख्नु परेन । औषधि पनि धेरै खानु परेन । सामान्य अवस्थामा नै उनी संक्रमणमुक्त भए ।

‘म त क्यान्सरसँग युद्ध गर्दै गरेको मान्छे, कोरोना पनि थपियो । यस्तो रोगी र बुढो मान्छेले लौ के हो कसो हो भनेर चिन्ता मानेको भए जे पनि हुन सक्थ्यो । तर मैले यो कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा प्रण गरेँ,’ वृद्धले भने । उनले कोरोनाको अरु औषधि होला नहोला तर दृढ मनोबल नै मुख्य औषधि भएको बताए । ‘मैले यही अनुभव गरेँ, तीन करोड नेपालीलाई पनि म यही अनुरोध गर्दछु कि मनोबल उच्च राख्नुस्,’ उनले भने ।

प्रकाशित : असार ५, २०७७ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?