काठमाडौँ — जनसंख्याका हिसाबले प्रदेश २ सबैभन्दा दोस्रो ठूलो प्रदेश हो । कोभिड–१९ का संक्रमितको संख्या पनि धेरै रहेको प्रदेश २ मा लकडाउनको असरसमेत उस्तै छ । हामी रिपोर्टिङका क्रममा प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्लामा गएका थियाैं । यी क्षेत्रको रिपोर्टिङका क्रममा धेरै मान्छेमा निराशा भेटियो । फोटोपत्रकारका नाताले यी सबै दृश्य मैले क्यमेरामा आँसु पुछ्दै भएपनि कैद गर्नुपर्ने थियो । किनभने यथार्थ देखाउनु नै मेरो पेसाको दायित्व हो । अरु बेलाजस्तो सहज अवस्था थिएन, कोरोनाको कहरकै बीचमा काम गरिरहेका थियाैं। त्यहाँका मानिसमा कतै आक्रोश, कतै भोक त कतै शोक भएको तस्बिर त मैले खिचेकै थिएँ । साथसाथै मानिसहरु आफ्नो लयमा फर्किरहेको दृश्य पनि यात्राका क्रममा भेटिए । प्रदेश २ मा ८ दिन बस्दा मैले देखेका केही सम्भावना र केही आशाका तस्बिरहरु ।
सप्तरीको कंचनरुप -५ पथरीका स्थानीय महिला मास्क नभएपछि साडीको सप्कोलाई मास्क बनाएर साँझपख कल्भर्टमा आफ्नी छोरीसँग सुस्ताउँदै । दैनिक ज्याला मजदुरीमा आश्रित यहाँका मानिसहरुलाई लकडनउनले गर्दा छाक टार्न धौधौ परेको छ ।
धनुषा जिल्लाको जनकपुर रेल स्टेसन हुँदै खाली खुट्टा तरकारी टाउकोमा राखेर बिक्रीको लागि लिए जाँदै स्थानीय महिला ।


