पर्वत — संक्रमितको उपचारमा खटिएका पर्वतका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान प्राप्त जानकारी अनुसार गुप्तेश्वर क्याम्पसको आइसोलेसनमा संक्रमितको उपचारमा खटिएका २ डाक्टर, १ स्टाफ नर्स, १ ल्याब असिस्टेन्ट र १ जना कार्यालय सहयोगीलाई संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत एवं कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड पोस्टका सूचना अधिकारी प्रविण भण्डारीका अनुसार उनीहरु सबैजना सदरमुकामकै एक होटलको क्वारेन्टाइनमा बसिरहेका थिए । ‘आलोपालो काम गर्नेगरी उहाँहरु एक हप्ता होटलको क्वारेन्टाइनमा बस्नुभएको थियो,’ उनले भने, ‘एक हप्ताको बसाइपछि कोरोना टेस्ट गरेर काममा फर्किने भनेपछि स्वाब पठाइएको थियो । बिहीबार राति पोजिटिभ रिपोर्ट आयो ।’ सात जना स्वास्थ्यकर्मीको नमुना पठाइएकोमा ५ जनाको पोजिटिभ र अरु दुई जनाको नेगेटिभ नतिजा आएको उनले बताए ।
सबै स्वास्थ्यकर्मीहरुलाई कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । पर्वतमा हालसम्म भारतबाट आएका व्यक्तिहरुमा मात्रै कोरोना भेटिएकोमा स्वास्थ्यकर्मीलाई भेटिएको यो पहिलो हो । सबैजना स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए । ‘सबैको नमुना ३ दिनअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका थियौं,’ उनले भने, ‘राति नतिजा आयो । हामी पनि अचम्मित छौं ।’
