कोरोना रोकथाममा सैनामैना नगरपालिकाको एक करोड ४६ लाख खर्च

असार ४, २०७७

अमृता अनमोल

बुटवल — कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा रुपन्देहीको सैनामैना नगरपालिकाले एक करोड ४६ लाख खर्च गरेको छ । नगरपालिकाले गरेका खर्चबारे दाता तथा सरोकारवालाले प्रश्न उठाउन थालेपछि नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी खर्च सार्वजनिक गरेको हो ।

नगरप्रमुख चित्रबहादुर कार्कीले विभिन्न दाताले दिएको, नागरिकले कर तिरेको र विकास बजेट काटेर खर्च गरेको रकमबारे नागरिकलाई जानकारी दिन खर्च सार्वजनक गरेको बताए । यसले खर्च फर्छ्यौट गर्न र विपद्का बेला थप सहयोग जुटाउन सहज हुने उनले जनाए ।

नगरपालिकाले सबैभन्दा धेरै राहत वितरणमा ५१ लाख ८० हजार खर्च गरेको छ । जसबाट ५ हजार ८ सय ७४ जना विपन्न घरपरिवारलाई राहत दिएको थियो । यसपछि नगरस्तरीय क्वारेन्टाइन व्यवस्थापन र औषधि एवं खानामा खर्च भएको जानकारी दिएको छ ।

यहाँको पदमपाणि योग तथा चिकित्सालयमा सञ्चालित क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरमा औषधि तथा खानामा २७ लाख ८१ हजार खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा आठ लाख ३७ हजार रुपैयाँ र सामान तथा शयन कक्ष निर्माणमा एक लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।  नगरपालिकामा ६ वटा क्वारेन्टाइन छन् । जहाँ बस्ने र खाजा तथा पानीको व्यवस्था नगरपालिकाले गर्छ । खाना खुवाउने काम घरपरिवार आफैले गर्छन् । त्यस्ता क्वारेन्टाइन व्यवस्थापनमा नगरपालिकाले ३४ लाख १६ हजार खर्च गरेको छ ।

नगरपालिकाको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा एक करोड ८२ लाख ९२ हजार रुपैयाँ जम्मा भएको छ । जसमा एक करोड १३ लाख ९१ हजार रुपैया रकमान्तर गरी कोषमा जम्मा गरिएको थियो व्यक्ति तथा संस्थाले ३९ लाख एक हजार रुपैयाँ दिएका थिए । ।  विपद् व्यवस्थापन कोषमा १५ लाख थियो भने प्रदेश सरकारले १५ लाख उपलब्ध गराएको थियो । 

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully