कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खर्च र आम्दानीबीचको असन्तुलनले अर्थतन्त्रमा संकट पर्छ : सांसदहरू 

भारतसँग सम्बन्ध बिग्रिँदै गएर निर्यात बन्द गरे नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्ने र समग्र 'आपूर्ति चेन' नै बिग्रने देखिन्छ : पूर्वअर्थमन्त्री कार्की

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) का कारण अर्थतन्त्रमा देखिएका संकेतहरूले कुनैपनि बेला गम्भिर संकट देखापर्ने खतरा रहेको सांसदहरूले बताएका छन् । खर्च र आम्दानीमा देखिएको अन्तरले अर्थतन्त्रलाई गम्भिर अवस्थामा धकेल्दै लगेको भन्दै सांसदहरूले चिन्ता जनाएका छन् । 

खर्च र आम्दानीबीचको असन्तुलनले अर्थतन्त्रमा संकट पर्छ : सांसदहरू 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले कुनैपनि समय भारतले निर्यात बन्द गरेमा देशभित्रको आपूर्तिको नियमितता बिग्रिन सक्ने र अर्थतन्त्रमा थप संकट पर्ने टिप्पणी गरेका छन् ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँग सम्बन्ध बिग्रिँदै जाने र भारतले निर्यात नगरेमा देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने र समग्र 'आपूर्ति चेन' नै बिग्रन सक्ने खतरा रहेको बताए । उनले देश भित्रै उत्पादन भएको खाद्य वस्तुको वितरणलाई सहजीकरण गर्नसमेत सरकार असफल बनेको टिप्पणी गरेका थिए । उनले कोरोना भाइरसका कारण परेको असरलाई कम गर्न रोजगारी र अर्थतन्त्रलाई जोगाउने विषयमा अर्थ समितिले गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए ।

नेकपा सांसद रामकुमारी झाँक्रीले सरकारले मन्त्रालयहरूको संख्या बढी राखेर खर्च बढाइराखेको बताइन् । उनले खानेपानीका कार्यक्रम सहरी विकास मन्त्रालयको एउटा अंग मात्रै भएको र स्थानीय तहको कार्यक्षेत्र पर्ने भएकाले उक्त मन्त्रालय काम नलाग्ने बताइन् । त्यस्तै बजेट विनियोजनमा पनि सरकारले सांसदहरूलाई 'ब्यल्याकमेलिङ' गरेको उनले बताइन् । उनले मन्त्रालयहरूले बजेटमा विरोध हुन नदिन सांसदहरूको मागअनुसार सानो सानो आयोजनालाई समावेश गरेर बजेट विनियोजन गरिएको तर्क गरिन् । सरकारले नै करदातालाई अदालतसम्म पुग्ने अवस्था सिर्जना गरेकाले कर उठ्ने वातावरणसमेत बिग्रिएको उनको भनाइ थियो । कर नउठ्ने भएपछि सरकारको खर्च र आम्दानीबीच असन्तुलन देखा परेको सांसद झाँक्रीले बताइन् ।

सांसद श्यामकुमार श्रेष्ठले देशभित्र रहेको सबै पुँजीलाई राजश्वको दायरामा ल्याएर सार्वजनिक गर्न दिनुपर्ने बताए । उनले काठमाडौंमा रहेका घरहरूको डाटा राख्ने र कर उठाउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।

सांसद जयकुमार राईले अहिलेसम्म अर्थसमितिले दिएका कुनैपनि निर्देशन सरकारले पालना नगरेकोले अबदेखि थप बलियो बन्दै सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए । उनले अर्थसमितिका छलफलका विषयवस्तुमा विस्तृत छलफल गरी सरकारलाई कार्यान्वयन गर्न दबाब दिनुपर्ने बताए ।

सांसदहरूले सरकारको खर्च उच्च हुने र आम्दानी कम हुने हुँदा अर्थतन्त्रमा दिर्घकालीन असर पर्नेतर्फ अहिले नै ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सांसदहरूले अर्थमन्त्री युवराज खतिवडाले सरकारको मासिक खर्च ४० अर्ब र आम्दानी १५ अर्ब रहेको बताइसकेकाले यहि अवस्था लामो समय रहे अर्थतन्त्रमा थप चुनौति देखापर्ने बताएका छन् ।


प्रकाशित : असार २, २०७७ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?