काठमाडौँ — कोरोना भाइरस संक्रमित आमाले स्तनपान गराउँदा कोरोना संक्रमण हुनसक्छ वा सक्दैन भन्ने धेरै महिलाहरुलाई चासोको विषय हुनसक्छ । बच्चालाई प्रत्यक्ष रुपमा छोएर स्तनपान गराउँदा भाइरस सर्छ त ? हालसम्म भने विभिन्न अध्ययनका अनुसार स्तनपानले कोभिड–१९ को संक्रमण देखिएको तथ्य फेला परेको देखिँदैन । त्यसैगरी, स्वासप्रस्वासका भाइरसहरु पनि स्तनपानबाट संक्रमण भएका पुष्टि भएका देखिएका छैनन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित महिलाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउन नडराइ निरन्तर रुपमा गराउन आग्रह गरेको छ । संगठनका प्रमुख टेड्रोस एडहानम गीब्रिएसुस भन्छन्, ‘ठूलालाई भन्दा बच्चामा कोभिडको संक्रमणको जोखिम कम रहन्छ । तर, यो बाहेक अरु धेरै रोगहरु छन् जसलाई बच्चाहरुको लागि खतरा हुन्छ । स्तनपानले यस्ता रोगहरुको जोखिम रोक्न मद्धत गर्छ ।’
उनले बच्चाहरुलाई भाइरसको जोखिमबाट बचाउन स्तनपान गराउनु फाइदा जनक हुने र स्तनपान गराउन छोड्न नहुने बताउँछन् ।
संगठनकी रिप्रोडक्टिभ हेल्थ विषयकी सल्लाहकार डा. अंशु बनर्जीका अनुसार अहिलेसम्म आमाको दूधमा कुनै पनि जीवित भाइरस पत्ता लागेको छैन । डा. अंशु भन्छिन्,‘केही केसमा आमाको दूधमा भाइरसको आरएनए पाइएको छ । तर, अहिलेसम्म आमाको दूधमा कुनै पनि जीवित भाइरस पाइएको छैन । त्यसैल स्तनपानबाट बच्चामा कोरोना संक्रमणको जोखिमको निर्क्योल गर्न सकिएको छैन ।’
आमाको दूध नै सर्वोत्तम आहार
सेन्टर अफ डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार नवजात शिशुका लागि आमाको दूध सर्वोत्तम आहार हो । सीडीसीले हालसम्म आमाको दूधबाट बच्चामा भाइरसको संक्रमण नपाइएको बताउँदै बच्चालाई संक्रमण नहोस् भन्नको लागि आमाले पटक पटक साबुन पानीले हात धुने र आफ्नो मुख छोपिराख्नुपर्ने सल्लाह दिन्छ ।
त्यसैगरी ब्रिटेनको सरकारी स्वास्थ्य सेवा (एनएचएस) को सल्लाह पनि विश्व स्वास्थ्य संगठनसँग मिल्दोजुल्दो छ । यसका अनुसार हालसम्म आमाको दूधबाट भाइरसको संक्रमण फैलिएको कुनै पनि प्रमाण फेला परेका छैनन् । एनएचएस भन्छ, आमाले स्तनपान गराउने क्रममा बच्चा र आमा नजिक हुँदा खतरा तथा जोखिम भने हुनसक्ने हुनाले यसबारे चिकित्सकको राय र सल्लाह लिन जरुरी छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता र प्रसुतिरोग विशेषज्ञसमेत रहेका डा. जागेश्वर गौतमका अनुसार आमाको दूधमा पौष्टिक आहार पाइने हुनाले स्तनपानबाट संक्रमण हुन्छ भनेर नडराउन आग्रह गरेका छन् । तथापी संक्रमित आमाले केही सावधानी अपनाएर स्तनापन गराउने सक्ने बताउँदै भन्छन्, ‘व्यक्तिगत सरससफाइ जस्तै साबुनपानीले हात धुने, स्तन सफा गरेर दूध खुवाउने गर्नुपर्दछ ।’
नर्भिक अस्पतालकी पोषणविद् प्रणिती सिंहले कोरोना संक्रमण स्तनपान गराउँदा नदेखिएकाले आमाहरुले यस्तो अवस्थामा ढुक्क भइ नडराइ स्तनपान गराउनसक्ने बताउँछिन् । उनी भन्छिन् ,‘उनले आमाको दूध बच्चालाई खुवाउने उत्कृष्ट प्राकृतिक खानेकुरा हो । यसले बच्चाको शारीरिक विकासमा सघाउ पुर्याउँछ नै आमाको दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता प्रशस्त मात्रामा पाइन्छ ।’
एकाडेमी अफ ब्रेस्ट फिडिंग (एबिएफ) का अनुसार यदि आमालाई कोभिडको संक्रमण छ र शंकास्पद लक्षण देखिरहेको छ भने ताकी संक्रमणको जोखिम कम रहोस् भन्नका लागि आमा र बच्चालाई आइसोलेट गरेर राख्नुपर्ने हुन्छ । गर्नुपर्ने हुन्छ । यदि आमाको स्वास्थ्य एकदम सिकिस्त छ भने पम्पको सहाराले दूध खुवाउन सकिन्छ । पम्प पनि हरेक चोटी प्रयोग गर्दा सफा गरेर मात्र गर्नुपर्छ ।
कोभिडको संक्रमण भएका र शंकास्पद लक्षण देखिएका आमाले बच्चालाई स्तनपान गराउँदा कसरी सावधानी अपनाउने ?
