वेलिङ्टन — न्युजिल्यान्डमा २४ दिनपछि कोरोना संक्रमण देखिको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दुई जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु दुवै जना केही दिनअघि मात्रै बेलायतबाट फर्किएका हुन् । स्थानीय सञ्चार माध्यमका अनुसार उनीहरुलाई आफन्तको अन्त्येष्टिमा सहभागी हुन बाहिरबाट आउने अनुमति दिइएको थियो ।
न्युजिल्यान्डले गत हप्ता मात्रै मुलुक कोरोना भाइरसकमुक्त भएको घोषणा गर्दै लकडाउन हटाएको थियो । तर अन्तर्राष्ट्रिय यात्रामा भने प्रतिबन्ध कायमै छ । विदेशमा रहेका नागरिक कर्मचारीलाई मात्रै स्वदेश फर्कने अनुमति दिइने प्रधानमन्त्री जसिन्डा आर्डनले बताएकी थिइन् ।
प्रधानमन्त्री आर्डनले मुलुक कोरोना भाइरसमुक्त हुनु खुसीको कुरा भए पनि पुन: संक्रमण देखिने चुनौती भने कायमै रहेको बताएकी थिइन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि न्युजिल्यान्डले चालेका कदमको विश्वभर प्रशंसा भइरहेको छ । न्युजिल्यान्डले कोरोना महामारीको सुरुवातमै अन्तर्राष्ट्रिय सीमा बन्द गर्नुका साथै देशभित्र लकडाउन गरेको थियो ।
थपिएका २ संक्रमितसँगै न्युजिल्यान्डमा एक हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्युजिल्यान्डमा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ । त्यसैगरी मंगलबार संक्रमण पुष्टि भएका बाहेक न्युजिल्यान्डमा कोरोना संक्रमित उपचाररत छैनन् । सबै निको भएर घर फर्किसकेका छन् ।
