सवारी साधन नपाउँदा संक्रमितलाई आइसोलेसन लैजानै समस्या

असार २, २०७७

माधव अर्याल

पाल्पा — संक्रमित बोक्न सवारी साधन नपाउँदा पाल्पाका स्थानीय तहका जनप्रतिनिधिले हैरानी खेपेका छन् । जिल्लाका एम्बुलेन्स, बस, जिप लगायतले संक्रमित बोक्न नमान्दा जनप्रतिनिधिलाई समस्या परेको हो ।

तीन दिनअघि रम्भा गाउँपालिका–१, हुँगीको जनकल्याण मावि क्वारेन्टाइनमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तर उनीहरुलाई रम्भा मावि ताँहु लैजान सोमबार प्रयास गरे पनि सफल हुन नसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । ‘सवारी साधन व्यवस्थापनका लागि धेरै प्रयास गरियो तर सम्भव नै भएन,’ उनले भने, ‘पहिला क्वारेन्टाइनका व्यक्ति बोकेकाहरुलाई पनि भनियो । धेरै कुराकानी भयो । तर बोक्न मान्दैनन् ।’ रम्भामा मात्र होइन, पूर्वखोला गाउँपालिकाको जल्पा, बीरकोटलगायतका स्थानमा सोमबार संक्रमण पुष्टि भएकाहरुलाई पनि सवारी साधनको व्यवस्थापन गर्न नसक्दा क्वारेन्टाइनमै बस्न बाध्य छन् ।

क्वारेन्टाइनबाट आइसोलेसनसम्म लैजान पनि बस, जीप चालकले नमान्दा हैरानी खेप्नु परेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । ‘क्वारेन्टाइनमा बस्नेहरु लिन जान सजिलै मानेकाहरु पनि अहिले पोजिटिभ देखियो भनेपछि मानेका छैनन्,’ उनले भने, ‘धेरै पटक कुराकानी गरियो तर नमान्दा हैरान खेप्नु परेको छ ।’ 

त्यस्तै माथागढी, बगनासकाली, निस्दी, रामपुरका संक्रमितहरुलाई सम्बन्धित स्थानको आइसोलेसनमै लैजान समस्या परेको छ । माथागढीको बहादुरपुरबाट संक्रमितलाई तानसेन ल्याउन ठूलो सास्ती खेप्नु परेको गुनासो गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरको छ । ‘यति धेरे सवारी साधनलाई कुरा गर्नु पऱ्यो कि भनेर साध्य लाग्देन,’ उनले भने, ‘सवारी साधन पाउन निकै मुस्किल नै भएको छ ।’

रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले रामपुरमा ५० बेडको आइसोलेसन निर्माण गरेका छन् । रम्भा र पूर्वखोलाले ताँहुमा २० बेड आइसोलेुन निर्माण गरेका छन् । तर जल्पा, बीरकोटबाट ताँहुको आइसोलेसनसम्म सवारी साधनबाट लैजान नसकिने अवस्था आएको छ । पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार के गर्ने भन्ने नै अन्योलको अवस्था आएको छ । अब सम्बन्धित क्वारेन्टाइनमै सुधार गरेर आइसोलेसन बनाउनुपर्ने बाध्यता आइपर्न सक्ने उनले बताए । 

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वराज न्यौपानेले सवारी साधन व्यवस्थापन चुनौती भएको बताए । पाल्पा अस्पतालको एम्बुलेन्सले रैनादेवी छहरा र रेडक्रस सोसाइटीको एम्बुलेन्सले माथागढी बहादुरपुर पुगेर संक्रमित ल्याएका थिए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रामपुर नगरपालिकामा दुई, निस्दीमा दुई, माथागढीमा १४, रैनादेवी छहरामा दुई, पूर्वखोलामा १२, रम्भामा १६, बगनासकालीमा एक जनामा कोरोना संक्रमण देखिएको छ । 

बगनासकालीका एक पुरुषको स्वास्थ्य स्थिति गम्भीर भएपछि कोरोना अस्थायी अस्पताल बुटवल रिफर गरिएको छ । जिल्लामा १ हजार बढी पीसीआर प्रविधिबाट स्वाब परीक्षणका लागि पठाइएको छ भने ६ सय बढीको रिपोर्ट आइसकेको छैन । भारतबाट फर्केका नागरिक २ हजार ५ सय बढी छन् । 

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully