कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रातभरि छतमा, दिनभरि बगरमा

एक पटक संक्रमण पुष्टि भएर आइसोलेसनको बसाइपछि पीसीआर परीक्षणबिनै घर पठाइएकाहरु गाउँलेको नजरमा अझै सशंकित

बाँके — दैनिक मजदुरी गरेर पत्तै नपाई दिन बित्थ्यो । घरखर्च चलाउन सजिलो थियो । कोरोनाको त्रास बढेपछि गाउँ फिरेका २७ वर्षीय दिनेश धोवीलाई अहिले दिन काट्नै गाह्रो परेको छ । घर आए, भित्र निर्धक्क बस्न पाएनन् । राति छतमा सुत्छन् ।

रातभरि छतमा, दिनभरि बगरमा

दिनभरि नदी किनारमा टहलिन्छन् । घरमा छोराछोरी, आमाबुबा र पत्नीसँग सुखदु:ख साट्ने कुरा त परै जाओस्, छिमेकीले उनलाई नजिक पर्न दिँदैनन् । यसरी अलग्याउनुको कारण उनी कोरोना संक्रमित भएकाले हो । सरकारले एक साताअघि १४ दिन आइसोलेसनमा बिताएपछि लक्षण नदेखिए संक्रमितलाई घर पठाउने निर्देशिका लागू गरेको छ । निर्देशिकाबमोजिम आफूमा संक्रमण बाँकी रहे/नरहेको नखुल्दै उनी घर आएका हुन् ।

नरैनापुर गाउँपालिका–५, मटैयाका १९ संक्रमित गत जेठ २६ मा घर फर्किएका थिए । सुरुमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भयो । त्यसपछि आइसोलेसनमा राखियो । यसबीच उनको दोहोर्‍याएर परीक्षण गरिएन । घर पठाउँदा उनीहरूलाई डिस्चार्जको पत्र दिइएको छ । तर, त्यसमा उनीहरूको स्वास्थ्य अवस्थाबारे केही उल्लेख छैन ।

दाङको कोरोना अस्पतालबाट तीन र कोहलपुरको आइसोलेसनबाट १९ जना घर फर्किएका छन् । उनीहरू एउटै गाउँका हुन् । चिकित्सकले १० दिन घरमै आइसोलेसन बनाएर बस्नु होला भन्दै पठाएका थिए । २७ वर्षीय दिनेशलाई पर्चामा लेखिएका अक्षर पढ्न आउँदैन । ‘कोरोना छ’ भनेकाले घरकै छतमा रात बिताउने उनी दिनभरि बगरमा बस्न बाध्य छन् । बस्तीमा मजदुरी गर्न जाने पुरुष सबै संक्रमित भएकाले घरखर्च जुटाउन समस्या छ ।

स्थानीय बासिन्दा संक्रमित व्यक्तिका घरसम्म आएर पानी खान डराउँछन् । दिनेशले लकडाउन सुरु भएयता दुई महिना भारतमै बिताए । फर्किंदा पारिश्रमिक पाएनन् । बल्लतल्ल ५ हजार रुपैयाँ गाडीभाडा खोजेर दशगजासम्म आएको उनले बताए । नाकामै चार दिन यत्तिकै बिताए । त्यसपछि क्वारेन्टाइन र आइसोलेसनमा बसे । त्यसक्रममा एक रुपैयाँ देख्न नपाएको उनले बताए । घरमा वृद्ध आमाबुबा छन् । छोराछोरी र पत्नीको पेट पाल्ने आधार उनी मात्र हुन् । उनी संक्रमित भएपछि परिवारमा नुनतेलको समस्या परेको छ । ‘कमाइ फिटिक्कै छैन, नुनतेलकै अभाव हुन थाल्यो,’ उनले भने, ‘दिनभरि राप्ती नदीमा डुल्छु । साँझ परेपछि फर्केर घरको छतमा सुत्छु ।’

स्थानीय ओमकार यादवले आइसोलेसनबाट फर्किंदा सुरक्षा स्वरूप मुखमा मास्क लगाएर आएका थिए । अहिले पुरानो भएर च्यातिएको छ । लगाउन नमिल्ने भएको छ । मास्क नलगाई बसेको भन्दै गाउँलेले गाली गर्न थालेपछि उनी गम्छाले मुख बेरेर बस्छन् । गाउँमा खेती गर्ने सिजन छ । खनजोत गर्ने पाखुरा भए पनि उनलाई गाउँका कसैले काम दिएका छैनन् । ‘कोरोना सर्छ भन्दै काम गर्न दिँदैनन्,’ उनले भने, ‘घरखर्च जुटाउनै गाह्रो छ ।’ उनीहरूलाई भारतमा रोजगारी गुमेको पीडा एकातिर छ भने अर्कोतिर संक्रमित भएपछि गाउँमै प्रेमपूर्ण व्यवहार पाउन मुस्किल छ । अहिले यहाँका संक्रमित घरखर्च चलाउन आफूसँग भएको अन्न बेच्न तयार छन् । तर, संक्रमित भएकै कारण गाउँका कसैले उनीहरूको अन्न खरिद गर्न मान्दैनन् ।

स्थानीय रमजान बेहना ५ दिनअघि दाङको आइसोलेसनबाट घर फर्किएका हुन् । भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका ३३ वर्षे बेहनालाई अहिले नुन किन्ने पैसा जुटाउन सास्ती छ । घरमा पुरानो गहुँ र धान छ । त्यही बेचेर नुनतेल जुटाउने उनको सोच थियो । तर, संक्रमित भएकाले अन्नसमेत बिक्री नभएपछि उनी दु:खी छन् । ‘अन्न बेच्छु भन्दा कोरोना सर्छ भनेर कसैले किन्न मान्दैनन्,’ रमजानले भने, ‘बिरामी हँुदा सिटामोल किन्ने पैसासमेत छैन । रोगले रोजगार गुमायो ।’ उनीसँगै घर फर्किएका ओमप्रकाश बर्माको दु:ख पनि उस्तै छ । कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण नै अछूत भएको उनले बताए । खेतमा काम गर्ने बेला आउँदा उनी टुलुटुलु हेरेर बस्न बाध्य छन् । कोरोना रोग लागेर आइसोलेसनमा बसेको भन्ने गाउँलेलाई थाहा छ । माया र सद्भाव दिनुको सट्टा उल्टै हेलाँ गर्ने प्रवृत्तिले संक्रमितको मनोबल खस्कँदै गएको बर्माले बताए ।

मटैया गाउँका धेरैजसो पुरुष भारतमा मजदुरी गर्न जान्छन् । उनीहरू वर्षभरि कमाएर घर खर्च पठाउने गर्छन् । तर, कोरोना संक्रमणमा परेपछि यहाँका युवाले रोजगार र आत्मसम्मान दुवै गुमाउनु परेको नरैनापुर–५, मटैयाका वडाध्यक्ष युवराज मौर्यले बताए । ‘संक्रमितलाई सरकारले घर पठाएपछि सिंगो गाउँ नै तनावमा छ,’ उनले भने, ‘गाउँ डुल्छन्, रोजगार पाइन भन्दै गुनासो गर्छन् । निगरानी कसले गर्ने ?’ संक्रमितका परिवार के काम देऊ, के राहत देऊ भन्दै वडा कार्यालय धाइरहेको उनले सुनाए । उनका अनुसार गाउँपालिकाले संक्रमितलाई जोखिम न्यूनीकरण गराउन झुल, तन्ना, मास्क, साबुन र सेनिटाइजरको व्यवस्था गर्नु परेको छ । मास्कसमेत नहुँदा खुलेयाम गाउँ डुल्ने संक्रमित बढ्दै गएको उनले बताए । यता संक्रमित भने मास्कभन्दा पनि राहत पाउनुपर्ने गुनासो गर्छन् ।

२४ वर्षीय परमेश्वर गोडियाले आफू कहिलेसम्म संक्रमित रहेको भनेर हिँड्नुपर्ने प्रश्न गरे । कोरोना निको भएपछि नेगेटिभको कागज पाइन्छ कि पाइँदैन भन्नेमा उनलाई चिन्ता छ । यसरी परिवारसित अलग्गिएर १० दिन बिताए पनि गाउँलेको नजरमा सधैं कोरोना संक्रमित भइरहने डर उनलाई छ । यहाँका सारवीर खाँ निको भएर घर फर्किएका हुन् । गाउँमा उनलाई पहिलेको जस्तो व्यवहार गरिँदैन । दाल, नुन, तेल नभएपछि काँचो आँपसित रोटी खानु परेको उनले बताए । ‘साबुन र मास्कले पेट भरिँदैन,’ उनले भने, ‘रोजगार चाहियो ।’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बजेट नभएकाले तत्काल कुनै पनि सुविधा दिन नसकिने बताए । नरैनापुरमा १ सय १८ संक्रमित पुगेका छन् । तीमध्ये एक जनाको क्वारेन्टाइनमै मृत्यु भएको छ भने बाँकी आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

प्रकाशित : असार २, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?