एक व्यक्तिलाई कम्तीमा दुई साता क्वारेन्टाइनमा राखिन्छ । पीसीआर चेकमा भएको ढिलाइले अहिले तीन सातासम्म राख्न थालिएको छ ।
बुटवल, तानसेन — रूपन्देहीको गैडहवा गाउँपालिकामा ६ वटा क्वारेन्टाइन छन् । अहिलेसम्म १ हजार ५ सय व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । २२ जना संक्रमित छन् । सुविधा नभएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु बेलाबेलामा आन्दोलित भइरहन्छन् । गाउँपालिकालाई भने उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ ।
‘बलबुताले भ्याएसम्म गरेका छौं,’ गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले भने, ‘माथिल्ला सरकारले केही गर्दैनन् । स्थानीय तहलाई गर कि मर छ ।’ क्वारेन्टाइनमा बेलाबेलामा मासु/अण्डा र रोग प्रतिरोधात्मक शक्ति बढाउन भन्दै अश्वगन्धालगायत खुवाएको उनले बताए । भौतिक व्यवस्थापन मात्र होइन, गाउँपालिकालाई स्रोत व्यवस्थापनमा पनि समस्या छ । प्रदेश सरकारले दिएको १० लाख, प्राकृतिक प्रकोप व्यवस्थापनको ५ लाख रकम सकिएपछि अहिले गाउँपालिकाले लक्षित बजेट र समपूरक बजेटबाट खर्च गरिरहेको छ । ‘अहिलेसम्म झन्डै ८१ लाख खर्च भयो,’ अध्यक्ष केवटले भने, ‘अब त्यसको हिसाब मिलाउन हम्मे पर्छ ।’
एक व्यक्तिलाई कम्तीमा दुई साता क्वारेन्टाइनमा राखिन्छ । पीसीआर चेकमा भएको ढिलाइले अहिले तीन सातासम्म राख्न थालिएको छ । स्वास्थ्यकर्मीका अनुसार सरकारी मापदण्डअनुसारको क्वारेन्टाइन सञ्चालन गर्ने हो भने हरेक व्यक्तिका लागि दैनिक १ हजार खर्च लाग्छ । सामान्य व्यवस्थापनमा पनि दैनिक ५ देखि ७ सय खर्च आइरहेको छ । यति धेरै क्वारेन्टाइन खर्च धान्न सबल स्थानीय तहलाई समेत हम्मेहम्मे छ । यस्तोमा धेरैले स्थानीय स्रोतसाधन र वातावरण अनुसारका क्वारेन्टाइन बनाएका छन् ।
‘स्थानीय तहमा पाइने खाना, खाजा, सागसब्जी खुवाएका छौं,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले भने, ‘सार्वजनिक भवन नयाँ बनाउन सकिएन । जस्तो छ, त्यसैमा राख्दा विरोध आउनु विडम्बना हो ।’ मापदण्डअनुसारका क्वारेन्टाइन बनाउन नसके पनि भारतबाट फर्किनेलाई छुट्टै राखेर समुदायलाई जोगाउनु अहिलेका लागि ठूलो कुरा भएको उनले सुनाए ।
क्वारेन्टाइनको मापदण्डमा सयभन्दा धेरै व्यक्ति राखिएको ठाउँमा चिकित्सकको टोली हुनुपर्ने उल्लेख छ । तर, स्थानीय तहका क्वारेन्टाइनले अहेब र अनमिको सेवा पाउनसमेत मुस्किल भएको छ । ‘गाउँपालिकाभित्र जस्ता र जति स्वास्थ्यकर्मी छन्, उनैबाट काम चलाएका छौं,’ जिल्लामा सबैभन्दा पहिले संक्रमित देखिएको कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवले भने, ‘समस्या पर्दा हेर्छन् । सधैं एकै ठाउँ बसेर स्वास्थ्य सेवा दिन सकेका छैनन् ।’ प्रदेश र संघीय सरकार दुवैले क्वारेन्टाइन सञ्चालन कार्यविधि बनाएका छन् । ती कार्यविधि अनुसार क्वारेन्टाइन व्यवस्थापन गर्न निर्देशन दिएका छन् । प्रदेशका मुख्यमन्त्रीले पटक–पटक भर्चुअल बैठक गरेका छन् । संघीय सरकारका प्रतिनिधिले पनि बेलाबेलामा सम्झन्छन् ।
‘तर, क्वारेन्टाइनमा चाप भएका स्थानीय तहलाई आवश्यक आर्थिक र प्राविधिक सहयोग गरेका छैनन्,’ नगरपालिका एसोसिएसनका प्रदेश संयोजक शिवराज सुवेदीले भने, ‘स्थानीय तहको आन्तरिक आम्दानी स्वात्तै घटेको छ । कोरोना नियन्त्रणजस्तो बजेट नै नछुट्याएको क्षेत्रको खर्च थेग्न हामीलाई हम्मेहम्मे परिरहेको छ ।’ यस्तोमा कर्मचारीलाई समेत सार्वजनिक बिदा दिएर संघले जनप्रतिनिधिहरूलाई भार थोपरेको उनले बताए । ‘लकडाउन खुलेसँगै भारत र तेस्रो मुलकुबाट आउने र क्वारेन्टाइनमा बस्ने नागरिक अझ बढ्ने छन्,’ उनले भने, ‘त्यसबेला कसरी धान्ने हो ? अन्योलमा छौं ।’
यसैबीच पाल्पाका १० वटै स्थानीय तहले भीटीएम किट खरिद गरेर स्वाब परीक्षणलाई तीव्रता दिएका छन् । भारतबाट आएर क्वारेन्टाइनमा बसेका सबैको पीसीआर परीक्षण गरेर मात्रै घर पठाउने निर्णय गरेकाले किट खरिद गरेरै भए पनि परीक्षणलाई तीव्रता दिएका हुन् । निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर मगरले २ सय ५० भीटीएम किट खरिद गरेको बताए । उनका अनुसार गाउँपालिकाको क्वारेन्टाइनमा २ सय ५० भन्दा बढी छन् । सहलकोटमा दुई जनामा कोरोना पोजिटिभ देखिएपछि केहीको स्वास्थ्य कार्यालयको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब लगे पनि बाँकीका लागि कुनै पहल नभएको उनले बताए । ‘पीसीआर नगरीकन घर पठाउन डर लाग्यो,’ उनले भने, ‘त्यसैले आफैंले किट खरिद गरेर भए पनि स्वाब परीक्षण गरेर मात्रै घर पठाउने निर्णयमा पुगेका हौं ।’
बगनासकाली गाउँपालिकाले क्वारेन्टाइनमा रहेका १ सय १५ जनाको स्वाब संकलन गरेको छ । रम्भा गाउँपालिकाले २ सय भीटीएम किट खरिद गरेको र ल्याब असिस्टेन्टबाट क्वारेन्टाइनमा बसेका १ सय ५० जनाको स्वाब संकलन हुने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । भारतबाट आउने क्रम जारी रहेकाले थप ४ सय किट किन्ने तयारी गरेको उनले बताए । ‘खरिद गर्न धेरै खोजिएको थियो,’ उनले भने, ‘तर, बजारमा एकैपटक धेरै नपाइएकाले पहिलो चरणमा थोरै ल्याएका हौं ।’
तानसेन नगरपालिका र रामपुर नगरपालिकाले ५/५ सय भीटीएम किट खरिद गरेका छन् । पूर्वखोला गाउँपालिकाले स्वास्थ्य कार्यालयबाट पर्याप्त भीटीएम नपाएको गुनासो गरेको थियो । त्यसपछि आफैं ५ सय भीटीएम खरिद गरेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । गाउँपालिकाले क्वारेन्टाइमा रहेका सबैको स्वाब संकलन सुरु गरेको उनले बताए ।
माथागढी गाउँपालिकाले २ सय भीटीएम किट खरिद गरेको छ । आठ वडामा क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन गरिने अध्यक्ष सन्तोष थापा मगरले बताए । ‘संघ र प्रदेश सरकारको भर परेर बस्दा जनता कराउन थाले,’ उनले भने, ‘त्यसरी परीक्षण गरेर मात्र घर पठाउनुपर्ने अवस्था आएको हो ।’ तिनाउ गाउँपालिकाले ५ सय भीटीएम किट खरिद गरेको छ । रिब्दीकोट गाउँपालिकाले पनि भीटीएम किट खरिद प्रक्रिया अगाडि बढाइसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराज अर्यालले बताए ।
