नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि समस्या भएपछि भारतको दिल्ली सरकारले रेलका डिब्बालाई कोरोना वार्ड बनाउन सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रेलका पाँच सय डिब्बामा ८ हजारवटा बेड जडान गर्न लागिएको हो । कोभिड–१९ बाट प्रभावित राज्यहरूको सूचीमा दिल्ली तेस्रो स्थानमा छ ।
पछिल्लो समय दिल्लीमा भाइरस संक्रमितको संख्या उल्लेख्य वृद्धि देखिएपछि भारतीय गृहमन्त्री अमित शाहले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसँगको छलफलपछि उक्त योजना सुरु गरिएको हो ।
यसका साथै दिल्ली सरकारले ४० वटा ठूला होटल र ७७ वटा पार्टी प्यालेसलाई पनि अस्पतालका रूपमा प्रयोग गर्ने जनाइएको छ । गत अप्रिलमा संक्रमितको संख्या बढ्न थालेपछि दिल्ली सरकारले केही रेललाई क्वारेन्टाइन र आइसोलेसनका रूपमा प्रयोग गरेको थियो ।
दिल्लीका सरकारी तथा निजी अस्पतालमा हाल ९ हजार ६ सय ९८ बेड कोभिड–१९ संक्रमितका लागि छुट्याइएको छ । तीमध्ये हाल ४ हजार २ सय ४८ बेड खाली रहेका दिल्ली सरकारको भनाइ छ । तर जनस्वास्थ्यविद्हरूले जुन महिनाको अन्त्यसम्मका कम्तीमा १५ हजार बेड आवश्यक पर्ने बताएका छन् ।
दिल्ली कोभिड–१९ बाट बढी प्रभावित हुने राज्यमध्येमा पर्छ । संक्रमित संख्याका आधारमा दिल्लीमा महाराष्ट्र र तमिलनाडुभन्दा पछि रहेको छ । सोमबार साँझसम्म दिल्लीमा संक्रमितको संख्या ४१ हजार १ सय ८२ पुगेको छ भने १ हजार ३ सय २७ जनाको मृत्यु भइसकेको छ ।
महाराष्ट्रमा १ लाख ७ हजार ९ सय ५८ र तमिलनाडुमा ४४ हजार ६ सय ६१ संक्रमित छन् । महाराष्ट्रमा ३ हजार ९ सय ५० र तमिलनाडुमा ४ सय ३५ जनाले ज्यान गुमाएका भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्याका आधारमा भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा छ । भारतमा केही दिनयता दैनिक ११ हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो समय लकडाउन खुकुलो पारिएसँगै संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ३ लाख ३२ हजार ४ सय २४ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा हालसम्म ९ हजार ५ सय २० जनाले भाइरसका कारण ज्यान गइसकेका छन् ।
