पाँच महिना समय लगाएर तयार पारिएको यहाँको आईसीयू कक्ष कुनै सुविधासम्पन्न अस्पतालको भन्दा कम छैन । विशेषज्ञसहितको सेवा, गुणस्तरीय प्रयोगशाला, व्यवस्थित आइसोलेसन र अन्य कक्षहरू, वाटर प्लान्ट, वासिङ मेसिन, फोहोर संक्रमणमुक्त बनाउन अटोक्लेभ मेसिन अस्पतालका थप उपलब्धि हुन् ।
काठमाडौँ — देशको पहिलो कोरोना विशेष अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सुविधासम्पन्न भएको छ । नेपालमा कोभिड–१९ संक्रमण फैलिनुअघिदेखि नै विभिन्न अभाव खेप्दै आइरहेको यो अस्पतालमा पाँच महिनामा धेरै परिवर्तन आइसकेको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पुरुष उपचार कक्षलाई भत्काएर अहिले विशेष आईसीयू कक्ष तयार गरिएको छ । त्यहाँका पुराना शय्याहरू हटाएर ७ वटा भेन्टिलेटरसहित २० शय्याको आईसीयू कक्ष तयार गरिएको छ । ‘भेन्टिलेटर आवश्यक पर्ने कोरोना संक्रमित आए आजैबाट यो कक्षमा राखेर उपचार गर्न सकिन्छ,’ डा. राजभण्डारीले भने, ‘यस कक्षमा रहेको अक्सिजन प्लान्टबाट आफैंले अक्सिजनसमेत उत्पादन गरिरहेका छौं ।’ पाँच महिना समय लगाएर तयार पारिएको यहाँको आईसीयू कक्ष कुनै सुविधासम्पन्न अस्पतालको भन्दा कम छैन । संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा दृष्टिकोणले पनि यो कक्ष उत्तिकै सुरक्षित देखिन्छ ।
बिरामी राख्ने छुट्टै ठाउँ छ, चिकित्सकले पीपीई लगाउने र फुकाल्ने ठाउँ पनि अलग । बिरामी जाँचेर निस्कँदा नुहाउने बाथरुमभित्रै । कक्षमा छिर्ने र निस्कने बाटो अलग । ‘यत्तिको सावधानी अपनाउँदा संक्रमित हेर्ने चिकित्सकलाई संक्रमण सर्ने जोखिम न्यून हुन्छ,’ उनले भने, ‘यो कक्षबाट बाहिर जाने हावासमेत फिल्टर भएर मात्रै बाहिरी वातावरणमा मिसिन्छ ।’ आईसीयूमा खटिने चिकित्सक र नर्स गरी १८ जना अहिले तालिमरत रहेको उनले बताए ।
नेपालमा कोरोनाका गम्भीरखाले बिरामी देखिन थालेका छन् । आगामी दिनमा धेरैभन्दा धेरै संक्रमितलाई भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्ने स्थिति आउने विज्ञहरूले बताइरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमितको पाँच प्रतिशतलाई यस्तो सेवा आवश्यक छ । त्यसैको तयारीका लागि यो अस्पतालको आईसीयू कक्ष विस्तार गरिएको डा. राजभण्डारी बताउँछन् ।
भौतिक पूर्वाधारका हिसाबले वर्षौंदेखि छायामा परेको यो अस्पताल सिगार्न कोभिड–१९ संक्रमण महामारी मात्रै नभएर अवसर बनेर आएको राजभण्डारीले बताए । पाँच बेडको आईसीयू, थन्किएको पीसीआर उपकरण, पुरानो एम्बुलेन्स, पूर्वाधार नपुगेको आइसोलेसन कक्ष यस्तै धेरै अभावका बीच अस्पतालले सरुवा रोगका बिरामीको उपचार गर्दै आइरहेको थियो ।
एचआईभी एड्स, क्षयरोग, चिकनगुनिया, डेंगुलगायत धेरै सरुवा रोगका बिरामी निको पार्ने देशको एक मात्र अस्पतालका रूपमा स्थापित छ यो केन्द्र । संक्रमणका सुरुवाती दिनमा बिरामी उपचार गर्ने मात्रै जिम्मा लिएको यो अस्पतालमा अब स्वाब संकलन गर्नेदेखि परीक्षण गरेर रिपोर्टसमेत आउने व्यवस्था छ । यहाँ हाल दैनिक तीन सय वटासम्म नमुनाको परीक्षण गर्न सकिने डा. राजभण्डारी बताउँछन् । ‘आइसोलेसन कक्ष पनि विस्तार भएको छ,’ उनले भने, ‘पहिले १० जनाभन्दा बढी संक्रमित राख्ने क्षमता थिएन, अब ३० जनालाई राख्न सकिन्छ ।’ अस्पतालको ‘ग्यास्ट्रो वार्ड’ भत्काएर आइसोलेसन कक्ष बनाइएको हो ।
अस्पतालका पुराना सबै कक्ष पनि पहिलेभन्दा व्यवस्थित भइसकेका छन् । वाईफाई र सीसीटीभी जडान, सबै कक्षमा फोनको व्यवस्था छ । उपचारका क्रममा बिरामीलाई मन आत्तिने, भोकनिद्रा नलाग्ने जस्ता मनोसामाजिक समस्या देखापरे विशेषज्ञसहितको परामर्श सेवासमेत उपलब्ध छ । धाराबाट धमिलो पानी आउने समस्या समाधानका लागि ‘वाटर प्लान्ट’, संक्रमतिका लुगा धुन ‘वासिङ मेसिन’ र फोहोर संक्रमणमुक्त बनाउन ‘अटोक्लेभ मेसिन’ अस्पतालका थप उपलब्धि हुन् । अस्पतालमा अहिले कोरोना संक्रमित ३ जना बिरामी भर्ना छन् । हालसम्म यो अस्पतालमा २० जना संक्रमित भर्ना भई निको भएर घर फर्किएका छन् ।
